अर्घाखाँची । राष्ट्रिय मान्यता प्राप्त नगरेका आठसहित अर्घाखाँचीमा आगामी स्थानीय निर्वाचनका लागि १२ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र आठ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि अर्यालले जानकारी दिए । आयोगले दिएको समयसीमाभित्र सबैभन्दा पहिला नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालय पुगेर दल दर्ता गरेका हुन् ।
दोस्रो नम्बरमा विवेकशील साझा पार्टी दर्ता भएकोे छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चासहितका सात दल निर्वाचन आयोगले सूचना जारी गरेकै दिन ४ गते दर्ता भएका हुन् । अन्तिम दिन आइतबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा दर्ता भएको छ । अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित चार राष्ट्रिय मान्यता प्राप्त दल सक्रिय छन् ।



