काठमाडौं । निजामती कर्मचारीदेखि संस्थान, सरकारी वित्तीय संस्था, प्रतिष्ठान र समितिमा राजनीतिक दल निकट ट्रेड युनियन खारेज गर्नुपर्ने बहस हुन थालेको छ । विशेष गरी निजामती प्रशासनमा दलपिच्छेका ट्रेड युनियन खारेज गर्ने बिषय गम्भीर रुपमा उठेको छ । र, तयार भइरहेको संघीय निजामती ऐनमा दल निकट ट्रेड युनियन खारेज गर्न सरकारमाथि दबाब परिरहेको छ ।
दल निकट ट्रेड युनियनका नेताहरूकै कारण खारेज गर्नुपर्ने बहस हुन थालेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (साविक एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा लेखाअधिकृतमा बढुवा भएको महिनौं बितिसकेको छ । उनीसँगै बढुवा भएका सबै पदस्थपन भए । तर उनी दरबन्दी विना नै महालेखा नियन्त्रकको कार्यालयमै छन् ।
ट्रेड युनियनका नेताहरू रोलमोडेल बन्नुपर्नेमा अरु कर्मचारी भन्दा राजसी प्रवृत्तिको देखाउने प्रवृत्तिको द्योतक बनेका छन्, केदार देवकोटा । प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल पनि राजस्व समूहबाट अधिकृतमा बढुवा भएको महिनौं भइसकेको छ ।
उनीसँगै बढुवा भएका अधिकृतहरू प्रदेश सरकारको अर्थमन्त्रालयमा पदस्थापन भए तर उनको पदस्थापन भएको छैन । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलसँगै अधिकृतमा बढुवा भएका ८३ मध्ये ८२ जना पदस्थापन भए । तर पोखरेलको पदस्थापन भएन ।
३ बर्षअघि निजामती सेवा ऐनको दफा २४(घ१)अनुसार अधिकृत बढुवा भएका आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालको पनि पदस्थापन भएन । उनी गृह मन्त्रालयमै बसी विपत् ब्यवस्थापन महाशाखबाट देश विदेश घुम्दै भत्ता लिंदैआएका छन् ।
निजामती सेवा ऐनमा ट्रेड युनियनको नेतृत्व तहमा रहेकाहरू कार्यालय प्रमुख हुन नपाउने ब्यवस्था छ । तर यो ब्यवस्थाको बर्खिलाप आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा गल्छी–स्याफ्रुबेसी सडक आयोजनाको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दैआएका छन् । निजामती कर्मचारी युनियनमा समेत ३ महिनाआघिसम्म अध्यक्ष रहेका देवकोटा यसअघि शहीदमार्ग आयोजना रोल्पाका प्रमुख थिए ।
उनी निजामती सेवा ऐन विपरीत कार्यालय प्रमुख भएका छन् । रोल्पापछि उनले आरजु देउवाको भिटो प्रयोग गरी अरबौं बजेट भएको गल्छी–स्याफ्रुबेसी सडकको प्रमुखमा सरुवा भएका हुन् । भौतिक पर्वाधार मन्त्रालयअन्तर्गत हुने सडकका सरुवामा विगतमा उनी आरजु देउवाका भाइ भूषण राणासँग मिलेर सेटिङ गर्ने भनेर चिनिएका पात्र हुन् ।
यी केही उदाहरण हुन्, ट्रेड युनियन नेताहरूले देशको नियम कानुन भन्दा माथि आफूलाई प्रस्तुत गरी फाइदा लिएका । नेताहरूका यस्तै ब्यवहारले टे«ड युनियन भनेको नेताहरू र तिनका आफन्त र निकटस्थहरूको फाइदाका लागि मात्र हो भन्ने सन्देश प्रवाह भएको छ । जसका कारण ट्रेड युनियनलाई हेर्ने दृष्टि नै नकारात्मक बन्न पुगेको छ ।
ट्रेड युनियन नेताहरूकै कारण ट्रेड युनियनप्रति नकारात्मक धारणा फैलन पुगेको छ । सँगै बढुवा भएका प्रदेशमा जाने, तर ट्रेड युनियन नेता भने कामै नगरी खाने जुन प्रवृत्ति मौलाएको छ । एवं रितले टे«ेड युनियनमा यसखालको विकृतिका कारण टे«ड युनिनप्रति धारणा फैलिएको छ । र, दल निकट ट्रेड युनियन खारेज गर्न दबाब परेको छ ।



