काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आठौँ संस्करण पावर समिट आगामी ०८० साल वैशाख ५ र ६ गते काठमाडौंमा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उक्त समिट कार्यक्रममा भारत, बंगलादेश, भुटान र श्रीलंकाका प्रतिनिधिहरूको सहभागिता रहने इपानले जनाएको छ ।
पावर समिटमा दक्षिण एशियामा लगानी जुटाउनका लागि साउथ एशियन फोरम अन इनर्जी इन्भेष्टमेन्टले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबिच प्रत्यक्ष विद्युत खरिद बिक्री संझौताका लागि एमओयूमा हस्ताक्षर हुने इपान स्रोतले जनाएको छ ।
उक्त समिट कार्यक्रममा ३० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेने बताइएको छ । कार्यक्रममा थिङ्क ट्याङ्क, विद्युत उत्पादक, वित्तीय संस्थाहरू र परामर्शदाता कम्पनीकोसमेत सहभागिता रहने बताइएको छ । कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल सरकारका उच्च पदाधिकारीलगायतको सहभागिता रहने इपानस्रोतले जानकारी दिएको छ ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा आइएफसी, विश्व बैंक र युएसएआइडी रहेका छन् । विश्व बैंक समूहका आइएफसी रणनीति साझेदार, इन्डियन इनर्जी एक्सचेन्ज, मणिकरण पावर लिमिटेड पार्टनरको रूपमा रहेका छन् । कार्यक्रममा १५ वटा सत्र रहने र पाँच हजार मेगावाट परियोजनाको प्रदर्शनी रहने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जनाएका छन् । यो समिटपछि निजी क्षेत्रको विद्युत सहभागिता ६५ प्रतिशतबाट बढेर ८० प्रतिशत पुग्ने बताइएको छ । सन् २०४५ सम्ममा पेट्रोलियम पदार्थको आयातलाई शून्यमा झार्ने सरकारको महत्त्वाकाङ्क्षी योजनामा सहयोग पु¥याउन पनि यो समिट सहयोगी हुने इपान स्रोतले बताएको छ ।



