काठमाडौं । नेपाल क्रिकेट संघ क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निलम्बनमा परेको लामो समय बितिसकेको छ । निलम्बन फुकुवाका लागि आइसीसीले नेपालका सम्बन्धित पदाधिकारीलाई ‘होमवक’ दिएको थियो । तर, त्यो होमवर्क गर्न असफल भएपछि आइसीसीले नेपालको सदस्यता नै खारेज किन नगर्ने भनी धम्की दिन थालेको खबर छ । जतिसुकै धम्की दिए पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका पदाधिकारीहरू टसको मस भएका छैनन् ।
उनीहरू कि आफूहरूलाई नै आइसीसीले नेपालको लाइसेन्स दिनुपर्ने होइन भने सदस्यता नै खारेज गरे पनि केही फरक नपर्ने मनस्थितिमा पुगेको खेलाडी स्रोत बताउछ । त्यसैले गर्दा पनि उनीहरू समाधानभन्दा पनि नेपालका लागि समस्या बनेको गुनासो खेलाडीहरूको रहेको छ ।
यही समयमा क्यानलाई आफूले चलाउन सक्ने भनी चर्चामा आएका युवा क्रिकेटर आमिर अख्तर भने राजधानीमा टीभीएस एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट गराएर चर्चित भइरहेका छन् । युवा भए पनि उनले विनयकुमार पाण्डे क्यानको अध्यक्ष रहेका बेलामा आफ्नो भिजन प्रस्तुत गर्दै उनीहरूलाई नै ‘डेट एक्सपाइर्ड’ को संज्ञा दिएका थिए ।
क्यानमा खेलाडी अख्तरलाई कसैले पनि अगाडि बढ्न दिएनन् । अख्तर सिनियरको सम्मान गर्न नजानेकैले पनि नरुचाइएका व्यक्तिमध्ये पर्ने चर्चा गरिन्छ । तर, तिनै अख्तर प्रवन्ध निर्देशक रहेको टीभीएस इपीएलले इतिहास खडा गर्दै शिखर चुमेको छ । अख्तरहरू नेपालको इतिहासमा क्रिकेटको राम्रो प्रभाव छाड्न सफल भएका छन् । त्यो पनि खेलाडीहरूलाई व्यवसायिक गराउने उद्देश्यले ।
तिनै आमिरले संचालन गरिरहेको इपीएललाई आइसीसीले नै मान्यता दिएको छ ।
आइसीसीले पहिलो पटक नेपालमा भएका कुनै पनि व्यवसायिक क्रिकेटका लागि आधिकारिक मान्यता दिएको हो । आइसीसीको स्वीकृति अनुमति मापदण्ड पूरा गरे अनुरुप इपीएलले २० हजार अमेरिकी डलर तिरेको छ । आइसीसीले त्यो रकम नेपालको क्रिकेट विकासमा खर्च गर्नेसमेत जनाइसकेको छ । इपीएल प्रालिको आयोजनामा ६ टोलीले २०७४ पुस ३ गते सोमबारदेखि नै सहभागिता जनाइरहेका छन् ।
आमिरले पहिलो पटक इन्डियन प्रिमियर लिग क्रिकेटकै शैलीमा खेलाइ वाहवाही बटुलिरहेका छन् । जब आइसीसीले मान्यता दियो तब राष्ट्रिय टिमका संगसंगै विदेशी खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाउने मौका पाएका छन् । गत वर्षको वैशाखमा क्यान निलम्बन गरेपछि आइसीसीले नेपालमा प्रत्यक्षरुपले खेल व्यवस्थापन गर्दै आइरहेको छ । आइसीसीले स्वीकृति नदिएको भए कुनै पनि हालतमा विदेशी खेलाडीले खेल्न पाउने थिएनन् । त्यसैले पनि अख्तरको सफलता चुलिएको चर्चा खेलाडीहरूबीच हुने गरेको छ ।
अझ अख्तरले बोलाएपछि नेपालका धेरै जसो देशका महामहिम राजदूतहरू उपस्थिति हुनुले पनि अख्तरको पहुँचमा वृद्धि भइरहेको स्पष्ट हुन्छ । यो झलक देख्ने क्रिकेट भाँड्नेहरूलाई नराम्रो झड्का लागिरहेको होला । नेपाली क्रिकेटलाई अधोगतिमा लैजान माहिरहरू अख्तरदेखि टाढा हुन्छन् । तर यतिठूलो प्रतियोगितालाई बेवास्ता गरेर हिंड्न नसकेरै उनीहरू पनि प्रत्यक्ष परोक्ष सहभागी हुन बाध्य भइरहेका छन् ।
इपीएलको हाइफाइले केहीलाई तनाव दिएको चर्चा पनि नेपाली क्रिकेट बजारमा सुरु भएको छ । क्रिकेटको विकास चाहनेहरू यस किसिमको प्रतियोगिताले निकै खुशी हुनुपर्ने भए पनि आमिर अख्तरले चलाएको प्रतियोगिता भनेपछि मुख खुम्च्याउनेहरू पनि छन् । मावनका खराब स्वभाव मध्ये एउटा खराब स्वभाव बोकेका आमिर आफैमा अनुशासित खेलाडी हैनन् ।
उनले नेपाली टिमको तर्फबाट खेल्दा राम्रो प्रदर्शन गर्न पनि सकेनन् । क्यानका पदाधिकारीलाई च्यालेन्ज दिन पनि छोडेनन् । तर उनले नेपाली क्रिकेटलाई उकास्नका लागि प्रायोजक खोज्नु भने कम चुनौतीपूर्ण विषय थिएन । जहाँबाट पनि रकम संकलन गर्न सक्ने क्षमता राख्नुलाई आमिरको खुबी भनेर सकारात्मक पक्षको चर्चा गर्न थालिएको छ ।
क्रिकेटका खेलाडीहरू सुस्ताउने भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि पाएका छन् । क्रिकेट खेलाडीहरूले व्यवसायिक बन्ने अवसर पनि पाएका छन् । यसका साथै केही आम्दानी गर्ने अवसर पनि पाएका छन् । तर यसलाई फाइदाका रुपमा लिएर क्यानलाई जगाउन इमानदारपूर्वक काम नगर्ने हो भने आइसीसी रिसाउन बेर लाग्दैन । क्रिकेटका सम्बन्धितहरूलाई चेतना भयो ।



