काठमाडौं । माओवादी केन्द्रका बैठक र भेलाहरूमा अध्यक्ष पुष्पकमल दाहालपछि बरियतामा नेता नारायणकाजी श्रेष्ठ देखिन्छन् । तर, वास्तविक रुपमा माओवादीमा अध्यक्ष दाहालपछिका उनी होइनन्, माओवादी अध्यक्ष दाहालपछि पार्टीमा अर्का प्रभावशाली नेता हुन् बर्षमान पुन अनन्त । अध्यक्ष दाहाल बर्षमान पुनकै सल्लाहमा चल्ने गरेका छन् । उच्च अदालतका ८० न्यायाधीशलगायतका राजदूत र राजनीतिक नियुक्तिदेखि पार्टीको मन्त्रिपरिषद चयनमा पनि बर्षमान पुन हावी हु“दै गएका छन् ।
बरियतामा नारायणकाजी, कृष्णबहादुर महराहरू देखिए पनि पार्टीका हरेक निर्णयमा अध्यक्ष दाहालले बर्षमान पुनको साथ र सहयोग लिने गरेका छन् । जनयुद्ध नलडेका नारायणकाजीको कुराले माओवादीमा कुनै महत्व नपाउनु स्वभाविकै मानिए पनि युद्ध लडेका कृष्णबहादुर महरा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, हरिबोलप्रसाद गजुरेलहरूलाई भन्दा बढी विश्वास प्रचण्डले बर्षमान पुनलाई गर्दैआएका छन् । पार्टी विभाजन गरी पुनः फर्किएका रामबहादुर थापा बादल, देव गुरुङ र पम्फा भूसालहरूस“ग त बर्षमान पुनस“ग टक्कर गर्ने धरातल नै सकिसकेको चर्चा वर्षमान निकटहरू गर्दछन् ।
डा. बाबुराम भट्टराई प्रचण्डपछिको नेताका रुपमा जनतामा चिनिए पनि माओवादीमा उनको कुनै कुरा लागू नहुने गरेको तीतो यथार्थतापछि उनी पार्टी नै छाडेर हिंडे । पार्टीमा कुनै कुरा सुनुवाइ नहुने र भावी नेतृत्वमा समेत उनलाई जान नदिने डिजाइन प्रचण्डहरूले बनाएपछि उनी बाहिरिएका हुन् । माओवादीको बैठकमा नेताहरूले कुरा राख्न पाउने तर निर्णय नै नभई टुंगिने गरेको छ । त्यस बखत, डा. भट्टराई, नारायणकाजी लगायतका नेताहरूले बोलिसकेपछि बर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनालहरूले सबै निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने भन्दै माओवादीको बैठक टुंगिने गरेको इतिहास छ । स्रँेत भन्छ, डा. बाबुरामको बहिर्गमनपछि पनि पनि माओवादीको बैठक बस्छ तर निर्णय गर्ने बेलामा सबै अध्यक्षलाई जिम्मा दिने भनेर टुंगिने गरेको छ । मा.के. मा नारायणकाजीहरूको बोली बर्षाका भ्यागुताको ट्यारट्यारमै सीमित हुने गरेको छ । त्यसलाई प्रचण्ड र उनका तीन जर्नेल बर्षमान, जनार्दन र चक्रपाणिहरूले हावामा उडाउने गरेका छन् ।
माओवादीभित्र बर्षमानको पकड यति बलियो भइसकेको छ कि प्रचण्डपछि पार्टीको नेता बन्नबाट उनलाई चुनौती दिने हिम्मत महरा र जनार्दनसंग छैन, माओवादी केन्द्रका एक नेताले भने, माओवादीको नेतृत्व प्रचण्डपछि बर्षमानको हातमा जानबाट अब कसैले रोक्न सक्दैन । त्यही देखेर बाबुराम हिंडे, महरा, जनार्दन, रायमाझी, सापकोटाहरू बर्षमानलाई नेता मानेर जाने कि मोहन बैद्य वा सीपी गजुरेलको बाटो समाउने विकल्पमात्र देखिएको छ । महराले त चुनाव लड्ने जमिन पनि अब नपाउने भएका छन् । रोल्पा एउटा क्षेत्रमात्र हुनेछ । २०७० मा ओनसरी घर्ती र महराले जितेको रोल्पामा अब एक क्षेत्रमा सीमित भएपछि बर्षमान पुन उम्मेदवार हुनेछन् । बर्षमानले ओनसरीलाई समानुपातिकमा राखेर आफू प्रत्यक्ष लड्नेछन् । त्यसपछि महरा दाङतिर झर्नुपर्ने स्थिति छ, माओवादीका एक नेताले भने ।
माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि पहिलो संविधानसभा निर्वाचनसम्म सेना ब्यारेकमै राख्यो । त्यही सेनाको बलमा माओवादी २०६४ को निर्वाचनमा ठूलो पार्टी बन्यो । प्रचण्ड प्रधानमन्त्री भए । बाबुराम पनि प्रधानमन्त्री भए । त्यसपछि सेना समायोजन भयो । माओवादीलाई यत्रो सफलता दिलाउने जनयुद्धका चार कमाण्डर नन्दबहादुर पुन, बर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनालले केही पाएनन् । सेना समायोजनपछि चारै कमाण्डरले प्रचण्डलाई भेटेर थर्काए । जनयुद्ध सफल पार्ने र माओवादीलाई पहिलो पार्टी बनाउने सबै काम हामीहरूले नै गरेको भन्दै अध्यक्ष प्रचण्डलाई चारै जनाले आफ्नो भूमिका माग गरेका थिए । प्रचण्डले चारै जनालाई राखेर जनयुद्ध सफल पार्ने सबै भूमिका तपाईहरूकै हो भन्दै सबैलाई उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार नन्दबहादुर पुनलाई मन्त्री बनाउने भनियो, तर चुनाव हारेकालाई मन्त्री बनाउन नमिल्ने प्रावधान संविधानमा राखिएकाले उनलाई उपराष्ट्रपति बनाइयो । बर्षमान पुनको श्रीमती ओनसरी घर्तीलाई सभामुख बनाइयो । जनार्दन शर्मालाई ऊर्जापछि गृहमन्त्री बनाएका छन् । चक्रपाणि खनाललाई राज्यमन्त्री सरहको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्ति गरे । खनाललाई प्रचण्डले राजदूतको प्रस्ताव गरेका थिए । तर एग्रिमो नआउने आशंकामा उनले नमानेपछि सल्लाहकार बनाएका हुन् । चारजनामध्ये खनाललाई अर्को महत्वपूर्ण जिम्मेवारी दिने योजनामा प्रचण्ड छन् ।




