काठमाडौं, २२ चैत । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले यही चैत्र २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सल्यान सरोकार समाजले उक्त ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले उक्त साँझको सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारे । उनकाअनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तिले विश्वास दिलाए ।
सगरमाथा टेलिभिजनबाट ३ घण्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’
आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् ।



