काठमाडौं । २०७६ बैशाख २३ गते बाबुराम भट्टराईले नेतृत्व गरेको नया“ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमका बीचमा एकीकरण भएर समाजवादी पार्टी नेपाल गठन भएको छ ।
उक्त एकीकरण तथा समाजवादी पार्टी स्थापनाको घोषणा अवसरमा अध्यक्षद्वय भट्टराई र यादवले आफूहरुले संयुक्तरुपमा नेतृत्व गरेको समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति हुने दाबी गरेका छन् ।
संघीय समाजवादी पार्टी नया“शक्ति नेपालसंग एकीकरण भएर समाजवादी पार्टी गठन भएको भएपनि अहिले पनि समाजवादी पार्टी वर्तमान सरकारकै एउटा घटक दल रहेको छ । किनभने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यो सरकारमा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री रहेका छन् ।
यही समाजवादी पार्टीका सहमहासचिव मोहम्मद इश्तियाक राई शहरी विकास मन्त्री रहेका छन् । सरकारमै रहेको अवस्थामा अध्यक्षले नै आफ्नो पार्टी सरकारको वैकल्पिक राजनीतिक शक्ति हुने दाबी गर्नुलाई विचित्रको राजनीति मानिएको छ भने अहिले समाजवादी पार्टी सरकारमा छ कि प्रतिपक्षमा छ भन्ने पनि यो पार्टीका नेतृत्वले स्पष्ट पार्न जरुरी भएको छ ।
समाचार सूत्रका अनृुसार, साविक नयाँ शक्तिका संयोजक डा.भट्टराई अध्यक्ष यादव र सहमहामन्त्री राई यो सरकारबाट तत्काल हटेर प्रतिपक्षमा आउनुपर्छ भन्ने अडानमा रहेका छन् । तर, उपेन्द्र यादव भने संविधान संशोधनका निम्ति सरकारलाई समयसीमा तोकेर ज्ञापनपत्र बुझाउने र त्यो समयसीमामा पनि संविधान संशोधन गर्ने क्रम अगाडि नबढे सरकारबाट हट्ने प्रस्ताव राखेर सकेसम्म सरकारमा लामो समयसम्म टिक्ने रणनीतिमा लागेका छन् ।
संघीय समाजवादी पार्टी र नया“शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी गठन भएदेखि नै अध्यक्षद्वय भट्टराई र यादवका बीचमा यो विवाद सुरु भएको छ ।



