काठमाडौं । नेपाली सेनाका लागि आवश्यक हातहतियार र पाटपुर्जा आपूर्ति गर्ने ठेक्कामा विगतदेखि नै चलखेलमा रमाउँदै आएका रैथाने ठेकेदारका रुपमा चर्चित लोकेन्द्र कार्कीले यो पटक पनि राजनीतिक शक्तिको आड र सेटिङमा अर्बौंको हतियारको ठेक्का हात पार्ने भएका छन् । यसअघि पनि कमिशनको बलमा राजनीतिक शक्ति र सेनाका निर्णय तहमा रहेका ब्यक्तिहरूलाई प्रभावमा पारेर कार्कीले नेपाली सेनाका अर्बौंका ठेक्का हात पार्दै आएका थिए । यसअघि उनले गोलीगठ्ठा उत्पादन गर्ने, प्लान्ट सुन्दरीजलको निर्माणको दुई अर्बको ठेक्कासमेत प्राप्त गरी नेपाली सेनाको उच्चपदस्थ अधिकारीहरूलाई राम्रै कमिसनको व्यवस्था गरेकाले यसपालिसमेत झन्डै डेढ अर्बको हतियार खरिदको ठेक्का पार्ने स्थिति आएको स्रोत बताउँछ ।
कमिसन र सेटिङमा भएको चलखेल, रक्षा मन्त्रालय, राजनीतिक शक्ति केन्द्र, नेपाली सेनाका जर्नेलहरू, कूटनीतिक क्षेत्र समेतलाई प्रभावमा पारेर ठेक्का हात पार्न सफल भएको तथ्य फेला परेको छ । यसमा काठमाडौंस्थित दक्षिण कोरियाली राजदूत पार्क योङलाई समेत प्रभाव पारेर ठेकेदार लोकेन्द्रले सैन्य सामग्री उत्पादनमा कम प्राथमिकतामा पर्ने दक्षिण कोरियास्थित S&T Motiv Co. Ltd लाई छनौट गरेर ठूलै सेटिङ गरेर कमिसन कुम्ल्याउने दाउ रहेको नेपाली सेना स्रोत बताउँछ ।
स्रोतका अनुसार, ठेक्का प्रक्रियालाई छिटो प्रक्रियाबाट स्वीकृतिको प्रक्रियामा लाने निर्णय हतारहतारमा भएको तथ्यबाट पनि यसमा ठूलै चलखेलको आशंका सिर्जना भएको छ । नेपाली सेनाको प.सं. ४००९। प्रसेपका। मन्त्रालय ।४३।०७५।७६ मिति २०७६।०३।१६, प.सं. ४००९। प्रसेपका। मन्त्रालय। ४५।०७५।७६ मिति २०७६।०३।१८ र प.सं. ४००९। प्रसेपका । मन्त्रालय । ४६।०७५।७६ मिति २०७६।०३।१९ का पत्रबाट यो प्रक्रिया अघि बढेको तथ्य फेला परेको छ ।
नेपाली सेनाको समाचार स्रोतका अनुसार, K2CI राइफल र K2C कार्बाइनको एसेसोरिज M7 Bayonet-५७०० थान र Magazine (NATO STANAG Comatible) सहित K2CI, K2C र K12 हतियार स्पेयर पार्टस्हरू (झन्डै चार करोड मूल्य बराबरका) खरिदको प्रक्रिया अघि बढाइएको छ । स्रँेतका अनुसार, डेढ अर्ब मूल्य बराबरका दक्षिण कोरियाली राजदूतावासमार्फत चलखेल गरेर दक्षिण कोरियाली प्रतिरक्षा सामग्री आपूर्ति गर्ने निर्णय रक्षा मन्त्रालयले हतारमा गरेको छ । यसका लागि प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ को दफा १७ को उपदफा (१) ले गरेको व्यवस्था बमोजिम खरिद गर्न स्वीकृतिका लागि अनुरोध भई आएको भनेर कार्यविधिको सहारा लिएर रक्षा सचिव रेश्मीराज पाण्डेले हस्ताक्षर गरेर नेपाली सेनाको जंगी अड्डामा पत्र पठाएको सेनाको स्रोतले बताएको छ ।
नेपाली सेनाको प.सं. ४००९। प्रसेपका। मन्त्रालय ।४२।०७५।०७६ मिति २०७६।०३।१५ को पत्रसाथ काठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासको ४ जुलाई २०१९ (तदनुसार वि.सं. २०७६।०२।१२) को पत्रमाथि उल्लेखित हतियारहरू को उत्पादक S&T Motiv Co.Ltd. ‘कोरियन सरकारको नियन्त्रणको कम्पनी’ रहेको भन्ने आधारमा गरिएको तथ्य छ भने अर्कोतिर यी हतियार तथा पार्टस्पुर्जा खरिद गर्नुपूर्व हतियार उत्पादनका लागि विश्वमै प्रख्यात अमेरिकी कम्पनीबाट खरिद गर्ने हल्ला चलाएर नियतवश यस कम्पनीबाट खरिद गर्ने भित्री योजनालाई वैधानिकता दिन गरिएको प्रचारबाजी मात्रै हो भन्ने पुष्टि भएको छ । जबकि हतियार खरिद गर्ने निर्णय भएको कोरियन कम्पनी S&T Motiv Co.Ltd. मोटर इन्जिन, प्रसारण उपकरण, इलेक्ट्रिक/इलेक्ट्रोनिक्स, चेसिस, एयरब्याग र अन्तिम प्राथमिकतामा सैन्य प्रतिरक्षा सामग्री उत्पादन गर्ने कम्पनीका रूपमा रहेको कम्पनीको वेबसाइट हेर्दा स्पष्ट देखिन्छ ।
यस सम्बन्धमा थप कारबाहीको प्रक्रिया उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट २०७६ असार २२ गतेको निर्णयबाट अघि बढेको सैनिक स्रोतको भनाइ छ । स्रोतका अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट २०७६ असार २२ मा स्वीकृति प्राप्त भई नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को विषय संख्या ४१ बमोजिम यो प्रस्ताव अघि बढेको स्रोतको दाबी रहेको छ ।
मन्त्रालयले M7 Bayonet-५७०० थान Magazine (NATO STANAG Comatible) सहित K2CI, K2C र K12 हतियारका स्पेयर पार्टस्हरू सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि, २०६४ को दफा १७ उपदफा (१) बमोजिमको प्रक्रिया अवलम्बन गरी खरिद गर्नसमेत नेपाली सेनालाई पूर्व स्वीकृति दिने निर्णय गरेको छ ।
सैन्य सामग्री उत्पादनमा कम प्राथमिकता भएको कम्पनी छनौट हुनु, ठेकेदार कार्की राजदूताबास र राजनीतिक शक्तिकेन्द्रमा गई निर्णय गराउन लागिपर्नु, सेना तथा मन्त्रालयस्तरबाट समेत छिटो र छोटो प्रक्रियाबाट निर्णय गरिनुले यसमा सेटिङमा ठूलै कमिसन खाने दाउ रहेको सेनाको स्रोतले उल्लेख गरेको छ । सेटिङका आधारमा अपारदर्शी रूपमा खरिद गरी कमिसन हात पार्न सैनिक नेतृत्व मात्र होइन, मन्त्रालय, मन्त्रीसहितको मिलेमतोमा अघि बढेको हुन सक्ने सेना स्रोतको दाबी छ ।
सैनिक स्रँेतका अनुसार, रक्षा सचिव रेश्मीराज पाण्डेले नेपाली सेनालाई पठाएको पत्रमा भनिएको छ–‘‘अनुसूची–१ बमोजिमको स्पेसिफिकेशन र अनुसूची–२ बमोजिमको प्रति इकाई लागत अनुमान भएका M7 Bayonet थान र रु.४ करोड मूल्य बराबरका K2C1, K2C र K12 हतियारका स्पेयर पार्टसहरू (NATO STANAG compatiable Magazine सहित) सुरक्षा, सामरिक वा प्रतिरक्षा सामाग्री आपूर्ति गर्ने कार्यविधि, २०६४ को दफा १७ को उपदफा (१) बमोजिमको प्रक्रिया अवलम्बन गरी खरिद गर्न उक्त कार्यविधिको दफा ४ को उपदफा (१) बमोजिम नेपाली सेनालाई पूर्व स्वीकृति प्रदान गर्ने ।’’
दक्षिण कोरियाली यो कम्पनीको मुख्य उत्पादन र ब्यापार मोटर रहेको उसको वेबसाइट http://www.sntmotiv.com/eng/about/overview.html मा स्पष्ट उल्लेख गरेको छ ।



