काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(मसाल)का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक प्रधानसम्पादक गोविन्द(बहादुर) सिंह थापा सो पार्टीबाट निष्काशनमा परेका छन्। २०७६ भदौ १० गते मसालद्वारा जारी विज्ञप्ति अनुसार, नेता थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको छ।
'मामा' उप नामले मसालभित्र र बाहिर समेत चर्चित ७२ वर्षीय वरिष्ठ वाम नेता थापालाई पार्टीबाट निष्काशन गर्नुका साथै मसाल पार्टीको मुख पत्र हाँक साप्ताहिक समेत मसालबाट आउट भएको छ। पचास वर्ष मसालको संगठन निर्माणमा जीवन नै समर्पण गरेका वरिष्ठ नेता थापालाई मोहन विक्रम सिंह(एमबी)ले सानोतिनो विषयमा निहुँ खोजेर आफ्नै मामालाई पार्टीबाट बर्खास्त गरेर वाम राजनीतिमा कमजोर संगठन भएको मसाललाई अरु बढी कमजोर बनाएका छन् ।
प्रधानसम्पादक गोविन्द बहादुर थापा प्रकाशक रहेकाे हाँक साप्ताहिकलाइ प्रालिमा लैजाने मसालकाे निर्णय अस्वीकार गरेकाे आराेपमा थापालाइ पार्टीबाटै लखेटिएकाे छ । पार्टीकाे वरिष्ठ नेतालाइ यसरी बर्खास्त गर्नु मसाल जस्ताे कमजाेर संगठन भएकाे पार्टीका लागि दुर्भाग्यपूर्ण मानिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी(मसाल)को पानी खाएर निल्ने घाँटी मानिएको प्रवास संगठन निर्माण गरेर पार्टीको आर्थिक व्यवस्थापनमा लामोसमयदेखि योगदान पुर्याउँदै आएका गोविन्द सिंह थापाले पार्टी निर्माणमा मात्रै पचास वर्ष बिताएको मसालले नै स्वीकारेको छ। हाँक साप्ताहिकको सट्टा आगामी बुधवारदेखि मसलाको मुख पत्रको रुपमा 'युगदर्शन' साप्ताहिक प्रकाशित हुने भएको छ।



