काठमाडौँ १० असोज (रासस) : गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिएका छन् । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै गृहमन्त्री थापाले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई असोज १० गते निर्देशन दिएका हुन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई असोज १० गते मन्त्रालयमा बोलाएर गृहमन्त्री रामबहादुर थापाले यातायात आवागमन सहज बनाउने निर्देशन दिएका छन् ।
उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि भनेका छन् ।
जाममा परेका बिरामीको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन आग्रह गर्दै चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत उहाँले ध्यानाकर्षण गराए ।
उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए । बैठकमा सरकारी अधिकारीले असोज ९ गते बिहीबारको जामको तुलनामा असोज १० गते केही सहज रहेको जानकारी गराएका थिए ।
गृह मन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न आजै निर्देशन दिएको छ ।



