स्याङ्जा । २०७६ भदौ १७ गते जिल्ला स्याङ्जा हरिनास गा.पा. ३ ललहीका ३३ बर्षको गोरे भन्ने चित्र बहादुर खड्का र निजको छोरा बर्ष ४ को रिजन खड्का आफ्नै घर कोठामा सुतेको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर मारी फरार रहेको घटनाका अभियुक्त पक्राउ परेका छन् ।
स्यांग्जा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीको कमाण्डमा अनुसन्धान टोली गठन भई अनुसन्धान गरिएकोमा हरिनास गा.पा. ३ ललहीमा बस्ने बर्ष ३४ को दीपक भन्ने दान बहादुर मल्लले “ मृतक चित्र ब. खड्का मेरो श्रीमती र अन्य महिलाहरूसँग बढी बोल्ने र हिचमिच गर्ने, म सँग नबोल्ने, घमण्ड गर्ने भएकोले असह्य भई रीस उठि उक्त मिति र समयमा घरमा रहेको खुकुरी लगी प्रहार गरी निज बाबु र छोराको हत्या गरेको हुँ ” भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष बयान समेत दिएको छ ।
सो घटनासँग सम्बन्धीत सवुद प्रमाण समेत वरामद गरी सम्पूर्ण अनुसन्धान कार्य पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोग साथ प्रतिवादी दीपक भन्ने दान बहादुर मल्ललाई स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। स्याङ्जा जिल्ला अदालतको २०७६ असोज १० गतेको आदेशले पूर्पक्षको लागि कारागार चलान भएको स्याङ्जा जिल्ला प्रहरीले बताएको छ ।



