काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल विद्यार्थी संघको विधानका बारेमा झुट बोलेको पाइएको छ । नेविसंघमा उमेर हदको व्यवस्था आगामी महाधिवेशनपछि मात्रै लागु हुने उनको भनाई झुट भएको काँग्रेसकै नेताहरुले दावी गरेका छन् ।
विभिन्न संचार माध्यमसँगको कुराकानीका क्रममा प्रवक्ता शर्माले नेविसंघमा ३२ बर्ष ननाघेकाले मात्रै सदस्यता पाउने व्यवस्था आगामी महाधिवेशनपछि मात्रै लागु हुने बताएका छन् ।
तर काँग्रेसका धेरै नेताहरुले भने विधान लागु भइसकेको दावी गरेका छन् । पार्टीका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोईरालालगायतले उमेर हदको व्यवस्था अहिले लागु हुदैन र आगामी महाधिवेशनपछि मात्रै लागु हुन्छ भन्नु झुट भएको टिप्पणी गरेका छन् ।
उनीहरुले उमेर हदको व्यवस्था लागु गरेरै २० भन्दा बढी जिल्लामा नेविसंघको अधिवेशन भइसकेकाले त्यो व्यवस्था लागु भएको छैन भन्ने कुरा झुट मात्रै भएको दावी गरेका हुन् । जिल्लाको अधिवेशनमा उमेर हद लागु हुने तर केन्द्रको समिति बनाउदा लागु नहुने कुरा गर्न नमिल्ने उनीहरुको भनाई छ ।
नेविसंघको अहिलेको विधान अनुसार केन्द्रीय समिति बनाउदा उमेर हद लागु हुनै पर्ने दावी गर्दै उनीहरुले ३२ बर्षभन्दा बढी उमेरका नेतालाई नेविसंघमा राख्नु विधान विपरित भएको जिकिर गरे । उनीहरुले उमेर हद लागु नगर्ने नै हो भने विधानमा रहेको उमेर हद सम्वन्धी व्यवस्था निलम्वन गर्न सकिने, तर निलम्वन नगरेमा उमेर हद लागु हुनै पर्ने तर्क गरेका छन् ।
उमेर हद लागु नगरी समिति गठन गर्नु विधिसम्मत छ भन्नु हास्यास्पद भएको काँग्रेसका धेरै नेताहरुको भनाई छ । उनीहरुले सभापति शेरबहादुर देउवाका हरेक निर्णयको बचाउन गर्ने नाममा प्रवक्त शर्माले झुट बोल्ने र कुतर्क गर्ने गरेको पनि टिप्पणी गरेका छन् ।
एक नेताले भने “नेविसंघको पूर्व अध्यक्ष भइसकेको र पार्टीको प्रवक्ता भएको व्यक्तिले उमेर हदको व्यवस्था लागु भएर जिल्ला जिल्लामा अधिवेशन भएको तथ्य भुल्नु वा भुले झै गर्नु अति अस्वभाविक देखिएको छ ।”
“थाहा नपाएको वा थाहा नपाउने विषय भएको भए झुक्किनु भयो होला भन्ने हुन्थ्यो, थाहा भएको विषयमा पनि उहाँले यति झुट बोल्दा विश्वप्रकाशजी प्रतिको विश्वास र भरोसा टुटेको छ,” ती नेताले थपे ।
सभापति देउवाका हरेक कुरालाई जसरी पनि सही स्थापित गराउने नाममा जे पनि बोल्ने गरेको भन्दै प्रवक्ता शर्माको पछिल्लो समय आलोचना बढ्दै गएको छ ।



