काठमाडौँ, १६ पुस: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभासदस्य निर्वाचित भएकामा आज एमाले, सञ्चार इलाका कमिटीले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भनेतापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए ।
“कुन दलले कति पाएको छ भन्ने सबै प्रष्ट छ । आयोगले हामीसँगको भेटमा एक-दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ”, उनले भने, “तर कसैको दवावमा परेर आयोगले अहिलेसम्म परिमाण सार्वजनिक नगरेर बसेको छ ।” नेता भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नै स्वविवेकले काम गर्न आग्रह गरे ।
उनले राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दलले पुनः दर्ता गर्न आवश्यक नभएको विचार पनि राखे ।
वाम पार्टीएकतालाई कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने धारणा राखे । “अब एकतापछि नेतृत्व कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन”, उनले थपे, “जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन । वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन् ।”



