काठमाडौं । २०७४ को स्थानीय तह र संघीय र प्रदेश सभाको निर्वाचनमा पराजित आधा दर्जनले राष्ट्रियसभा सदस्य बन्ने अवसर पाएका छन् । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा जनाताबाट पराजित विभिन्न अनुहार राष्ट्रियसभाको सांसद् बनेका हुन् । वामदेव गौतमलाई मनोनित गर्ने बाचा प्रधानमन्त्रीले पूरा गरेपछि निर्वाचनमा पराजित भएर राष्ट्रियसभामा पुग्नेको संख्या ६ पुग्नेछ ।
गत निर्वाचनमा पराजित भएर पनि पुनः संघीय सांसद् बन्न सफलमध्ये नारायणकाजी श्रेष्ठ हाइप्रोफाइल नेता हुन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
प्रतिनिधिसभामा निर्वाचित श्रेष्ठले संघीय संसदको यो कार्यकालमा सांसद् नबन्ने प्रतिबद्धता जनाएका थिए । तर त्यसविपरीत उनी राष्ट्रियसभाको २ वर्षे कार्यकाल सकिएपछि भएको निर्वाचनको मौका छोप्दै उनी सांसद बने ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा पराजित व्यक्ति हुन् । दाङ २ (क) बाट उम्मेदवार बनेका उनी पराजित भए पनि उनलाई नेकपाले राष्ट्रियसभा सदस्य बनायो र निर्वाचित भए । उनी अहिले संघीय सांसदको हैसियतमा राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पराजित अनुहारलाई पनि क्रेन लगाएर राष्ट्रियसभामा पु¥याइएको छ । जनमतको उपेक्षा गर्दै त्यसरी राष्ट्रियसभा सदस्य बनेकाहरूमा भगवती न्यौपाने, विमला घिमिरे र सिंहबहादुर बिक छन् । न्यौपाने तनहुँको भानु नगरपालिका मेयर, घिमिरे तनहुँको वाणगंगा नगरपालिका मेयर सिंहबहादुर सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका सदस्यमा पराजित व्यक्ति हुन् ।
यो सूचीमा अब नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि थपिँदै छन् । उनलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसके पनि यो सामग्री तयार पार्दासम्म राष्ट्रपतिकोमा भने पुगिसकेको छैन । गौतम त राष्ट्रियसभा सदस्य बनेर महत्त्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री नै बन्ने ध्याउन्नमा छन् । यद्यपि, मन्त्री बन्न भने उनलाई संविधान बाधक बन्ने कतिपयले बताएका छन् । (२०७७ भदौ २२ गतेको साँघु साप्ताहिक)



