(मुलुक अहिले अस्थिर बनिरहेको छ । राजनीतिक उल्झनका कारणले गर्दा नेताहरू बिच आरोप प्रत्यारोप चलिरहेको छ । के यसले निकास देला ? हामीले नेपाली कांग्रेसको महाधिवेशन, संसद विघटन, चुनाव र सरकारको तीन वर्षको उपलब्धि लगायतलाई आधार बनाएर कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीसँग कुराकानी गरेका छौं –सम्पादक)
० नेपालको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले महाधिवेशन नगरेर अलोकतान्त्रिक बन्न खोजेको हो कि?
–नेपाली कांग्रेसको महाधिवेशन अहिलेको परिस्थिति र अवस्थाले गर्दा २०७७फागुनमा नहुने भयो र २०७८ भदौभित्र महाधिवेशन गर्नुपर्ने अवस्था छ संवैधानिक रुपले पनि । त्यसकारण २०७८ भदौभित्र महाधिवेशन गर्छौं ।
० १४ औं महाधिवेशनअघिका प्रक्रिया कहाँ पुगे त ?
–हाम्रो सबैभन्दा ठूलो समस्या सक्रिय सदस्यताको हो । अब केन्द्रलाई बुझाउनका निम्ति केन्द्रीय समितिले परिपत्र गरिसकेको छ । हाम्रो सक्रिय सदस्यता सिद्धिइसकेपछि वार्ड अधिवेशन हुन्छ, गाउँ अधिवेशन हुन्छ, प्रदेश अधिवेशन हुन्छ अनि संघको अधिवेशन हुने वैधानिक व्यवस्था छ । त्यसकारण सक्रिय सदस्यता सिद्धिएपछि हाम्रो अधिवेशन लगभग धेरै कुरा भइसकेको भन्ने हुन्छ ।
० २०७६ को फागुनमा हुनुपर्ने महाधिवेशन अहिलेसम्म भएको छैन । २०७८ भदौमा पनि नभए के हुन्छ ?
–२०७८ भदौसम्म नभए कांग्रेसलाई संवैधानिक संकट पर्छ । र, कांग्रेसलाई जसले पनि दर्ता गर्न पाउने अवस्था हुन्छ ।
० यस्तो अवस्थासम्म पुग्दा नेतृत्वले किन सक्रियता नदेखाएको होला ?
–नेपालको नेतृत्व जुन अहिले छ सबै पार्टीहरूमा त्यो नेतृत्व समयमा काम गरौं, समयमा काम सिध्याऔं र म अरुभन्दा फरक तरिकाले जान्छु पार्टी संचालन गर्दा पनि, देश संचालन गर्न पनि वा अरुभन्दा फरक व्यवहार गरौं भनेर लागौं भनेर नेतृत्व नलागेको कारणले गर्दा हरेक कुरा अल्छी गर्ने प्रवृत्तिले गर्दा हाम्रो पार्टीमा, पार्टीका नेताहरू बन्न सकेनन् । गुट, उपगुट, पारिवारिक स्वार्थले गर्दा खेरी हाम्रो पार्टी पनि त्यसमा फस्यो, देश पनि त्यसमा फस्यो ।
० संसद विघटनको मुद्दामा कहिले कांग्रेस सडकमा जाने भन्छ कहिले चुनावमा जाने भन्छ, ठोस निर्णय किन लिन नसकेको होला ?
–हाम्रो पहिलेजस्तो अवस्था अहिले होइन । देशमा पहिले धेरै समस्याहरू थिए । जसले गर्दा सशस्त्र द्वन्द्व भयो । धेरै मान्छे मारिए । हामीले संविधानसभाबाट विगतका अनुभवहरूलाई लिँदै संविधान निर्माण ग¥यौं । त्यो संविधानमा एउटै व्यक्ति सर्वेसर्वा हैन । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसदीय व्यवस्थामा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बनायौं । व्यवस्थापिकाले गल्ती ग¥यो भने न्यायपालिकाले चेक गर्छ, कार्यपालिकाले गल्ती ग¥यो भने व्यवस्थापिकाले चेक गर्छ ।
व्यवस्थापिकाले कानुनहरू बनाउँछ । यस्तो प्रणाली हामीले अपनाइसकेपछि अहिले कार्यपालिकाले गल्ती ग¥यो भने संसद विघटनमा चेक गर्न संविधानतः सर्वोच्च अदालतलाई दिएका छौं । त्यसकारण गल्ती गरेका कुरालाई चेक गर्न, संविधानमा भएका कुरालाई व्याख्या गर्न दिइसकेपछि सँधै हाम्रा नेताहरूले आफूले बनाएको संविधानमा के व्यवस्था गरेका छौं भन्ने भएन । दोस्रो कुरा हाम्रा नेताहरू जनता र देशका निम्तिभन्दा म नै व्यवस्थापिका, म नै कार्यपालिका र म नै न्यायपालिका हुँ, म नै सर्वेसर्वा हुँ जे भने पनि हुन्छ भन्ने चरित्रका कारणले गर्दा अहिले प्रश्न उठेको हो । तर हामीले बुझ्न पर्ने कुरा के हो भने न्यायपालिकाले संसद विघटन गरेको कुरा गल्ती हो वा सही हो भन्ने निर्णय गर्छ । हामीले हरेक कुरामा प्रश्नमात्र उठाउछौं । आफैमाथि प्रश्न उठाउँदैनौं । तेस्रो कुरा जनतासँग जाने कुरालाई हामीले नकारात्मक रुपले हेर्नु हुन्छ वा हुन्न भन्ने कुरा ख्याल गरेनौं ।
० यस्तो सार्वभौम संसद किन भंग भयो होला ?
– संसद विघटन गर्न हुन्छ वा हुँदैन भनेर प्रश्न उठाउन सक्छौं । नेपालको इतिहासमा अहिलेको संसदले नेपालको नयाँ नक्सा पास गरेको हो । सर्वसम्मत नयाँ नक्सा पास गरेको हो । सर्वसम्मत नयाँ नक्सा पास गरेको संसद किन भङ्ग गरियो भनेर हामीले प्रश्न उठाउन सक्छौं । जसले सर्वसम्मत नक्सा पास ग¥यो, सरकारले ल्याएको प्रस्तावमा सहयोग ग¥यो । त्यो संसद भङ्ग गर्न हुँदैनथ्यो । यो प्रश्न हामीले उठाउन सक्थ्यौं । र, यसलाई न्यायालयले निरुपण गर्छ भन्ने तरिकाले हामीले सोच्नुपर्छ । कांग्रेस यता लाग्यो यस्तो ग¥यो भन्ने हैन । भएको विधि नै यही हो ।
० अहिलेको सन्दर्भमा आन्दोलन आवश्यक छैन हो ?
–पहिलेजस्तो जेमा पनि आन्दोलन, देश विकासको आन्दोलन गरौं भन्ने छैन । भ्रष्टाचार विरोधी अभियान चलाऔं भन्ने छैन । सीमान्तकृत समूहलाई कति समयमा खान बस्नको व्यवस्था गर्ने भन्ने छैन । कसरी शिक्षा स्वास्थ्य निःशुल्क बनाउने भन्ने छैन । यत्रो जलस्रोत छ । जलस्रोतलाई जनताको सहभागिता गराएर कसरी अगाडि बढाउने भन्ने छैन । शिक्षालाई कसरी विश्वसँग प्रतिस्पर्धी बनाउने र अहिलेको प्रविधिलाई कसरी जनतासँग जोड्ने नभएर जहिले पनि नचाहिने काम गर्ने र जहिले पनि ‘आन्दोलन’ भनेर सडक बन्द गर्ने काम नभएका मान्छेहरूको जस्तो भएर यो प्रश्न उठेको हो । नत्र भने अहिले कांग्रेसले लिएको नीति गलत हैन भन्ने मलाई लाग्छ ।
० सडकमा प्रतिगमन भयो भनिएको छ । निर्वाचनमा जाँदा प्रतिगमन हुने भए अग्रगमन के त ?
–जनतासँग जाने कुरा प्रतिगमन हुँदैन । जनता नै निर्णायक हुन् । जनताले चाहे भने संविधान फ्याँक्न सक्छन् । आफूले काम नगर्ने, आफूले पाएको अवसर नछोड्ने, आफूले सरकार पाउँदा चलाउन नसक्ने अनि फेरि जनतालाई दुःख दिन हुँदैन ।
० सडकमा अराजक शैलीमा आरोप प्रत्यारोप चलिरहेको छ, नेताहरू गैरजिम्मेवार भएका हुन् ?
–कम्युनिष्ट नेताहरू जहिले पनि नेपालमा समस्या खडा गर्छन् । यिनीहरूले कहिले पनि समाधान दिंदैनन् । योकुरा हामीले सबैभन्दा बढी ख्याल गर्नुपर्छ । पहिलो संविधानसभाबाट चार चार जना प्रधानमन्त्री बनायौं नि । प्रचण्डजीलाई, झलनाथजीलाई, माधवजीलाई, बाबुरामजीलाई प्रधानमन्त्री बनायौं । उहाँहरूले संविधान लेख्न सक्नु भएन । पञ्चायतविरुद्ध हामीले त्यत्रो आन्दोलन ग¥यौंं । कहिले पनि जनतालाई दुःख दिन गएनौं । जनताको हत्या गरेनौं । जनतालाई सुराकी भनेनौं । जनतासित जवरजस्ती चन्दा मागेनौं । उहाँहरू आफूलाई मन परेन भने मांसाहारी मुभमेन्ट भन्नुहुन्छ । यस्तो नचाहिँदो कुरा गर्न पाइँदैन ।
उहाँहरूका क्रियाकलापले गर्दा १७ हजार भन्दा बढी मान्छे मारिए । हजारौं विस्थापित भए । अङ्गभङ्ग भए । यस्ता कामहरू गर्नुहुन्छ । २०३६ सालमा बहुदलकी निर्दल भन्नेमा उहाँहरूले निर्दलमा भोट हाल्नुभयो । हामीले अरुण नदीबाट बिजुली निकाल्न खोज्दा बिजुली निकाल्न पाइँदैन भन्नुभयो । जहिले पनि उहाँहरू उल्टो गतिमा जानुहुन्छ । अरुलाई हेरेर प्रतिक्रिया दिएर जिम्मेवार नहुने कारणले गर्दा यो समस्या भयो ।
० सडकबाट राष्ट्रपतिको पनि चरित्रहत्या गरिएको छ । यो संस्थामाथिको आक्रमण हो कि व्यक्तिमाथिको?
–राष्ट्रपति भनेको व्यक्ति हैन संस्था हो । प्रधानमन्त्री भनेको पनि संस्था हो । अपोजिशनको नेतृत्व भनेको संस्था हो । सडकमा नारा लगाउन निर्देशित गर्ने प्रचण्डजीहरू, झलनाथजी होस् वा माधव नेपाल होउन् उहाँहरू त प्रधानमन्त्री भएका व्यक्ति स्वतः संस्था हो । उहाँहरूले मैले गरेका क्रियाकलापले के प्रभाव पर्छ भोलि भेटै गर्न पर्दैन जस्तो गरी यस्ता शब्दहरू प्रयोग गर्नु गलत कुरा हो । उहाँहरू प्रधानमन्त्री भएको र पढेलेखेको भएको भने पनि पढेलेखेको र संस्कारयुक्त मान्छे हैनरछ भन्ने कुरा यी शब्दहरूले बुझिन्छ । भारतको संसदमा (बुधबार, २०७७माघ २८ गते) गुलाम नवि आजाद बिदा हुँदै हुनुहुन्थ्यो । प्रधानमन्त्री मोदीले उहाँलाई विदाई गर्दै हुनुहुन्थ्यो ।
लगभग पाँच चोटी प्रधानमन्त्री रुनुभयो । उहाँले गरेका क्रियाकलापको प्रशंसा गर्नुभयो । कांग्रेस र भाजपा बिच कति ठूलो दुस्मनी छ । तर त्यो एउटा संस्कार कस्तो । गुलाम नवि अजादलाई मोदीले सलाम गर्नुभयो । आजादजीले पनि त्यस्तै तरिकाले बोल्नुभयो । हाम्रा देशका यी नेताहरूमा न संस्कार छ न संस्कृति छ । अझ त्यो पशुपतिनाथको नाम लिएर रघुजी पन्तहरूले कस्ता नराम्रा टिप्पणी गर्नुभयो । अरु देश र धर्महरूमा त्यस्तो हुन्थ्यो भने के हुन्थ्यो होला । त्यसकारण उहाँहरूसित आफ्नो समाज, देश, छिमेक, भाषा, शिक्षाप्रति उहाँहरूसँग न्याय रैन’छ भन्ने मलाई लाग्छ ।
० केपी ओलीले सरकारको नेतृत्व सम्हालेको तीन वर्ष पूरा भयो । कस्तो मूल्याङ्कन गर्नुहुन्छ ?
–मसँग कुनै कुरा मिल्दैन भन्दैमा उपलब्धि भएन भन्ने हैन । अहिलेको परम्परा, अहिलेको अवस्था के हो भने अत्यन्तै अमेल भए पनि कुनै कुराको शुरुआत गर्दा गुणबाट शुरु गरेर आलोचना गर्नुपर्छ । यत्रो जनताले दिएको ६५ प्रतिशत मतबाट केपी ओलीजीमा केही गुणै छैन, केही नै गर्नुभएको छैन भनेर मैले भन्न सक्दिन । तथापि उहाँले यदि लेखासमितिले गरेको वाइडबडी भ्रष्टाचार कारबाहीलाई अगाडि बढाइदिएको भए, अख्तियारलाई कारबाही गर्न दिएको भए, ललिता काण्डमा कारबाही गर्न दिएको भए, भ्रष्टाचारमा कडाइ गरेको भए, कानूनले व्यक्ति नहेरेको भए आज यो पार्टीभित्र समस्या आउने थिएन ।
० सरकारका केही उपलब्धि भएको ठान्नु हुन्छ ?
– यो हामी सबै मिलेर देशको नयाँ नक्सा पास ग¥यौं । यो अन्त्यन्त ठूलो उपलब्धि थियो । पारवहन सन्धि ग¥यौं त्यो पनि उपलब्धि थियो । तर हामीले शिक्षा नीति कस्तो बनाउनु पर्छ, सीमान्तकृत वर्गलाई कसरी सम्वोधन गर्नुपर्छ, हामीले देशभित्रका अस्पतालहरू राम्रा बनाएर विदेशमा औषधि गर्न जान नजाने अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्नेकुरामा ठोस काम गर्न नसक्दा सरकारका कमीकमजोरी रहे ।
० प्रधानमन्त्री भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ भन्नुहुन्छ तर भ्रष्टाचार किन बढेको होला ?
–कम्युनिष्टहरू आफैमा बाहिर जतिसुकै आदर्शका कुरा गरे पनि धेरैजसो नेतृत्व भ्रष्ट नै हो । उहाँहरूले जतिसुकै ठूला कुरा गरे पनि मोरल थिएन । र, केपी ओलीजीले सही टिम छान्न सक्नु भएन । उहाँले काम गर्न चाहँदाचाहँदै पनि सही टिम छान्न सक्नु भएन । यत्रो कोरोनाको बेलामा उहाँहरूले जनतालाई कसरी औषधि पु¥याउने वा देशलाई कसरी विकास गर्ने, विदेशबाट आएका युवालाई कसरी व्यवस्थापन गर्ने, किसानलाई कसरी सहजै मल उपलब्ध गराउने वा जनतालाई जलस्रोतसँग जोड्ने भन्दा त्यो पार्टीमा सरकार बनेको अर्को दिनदेखि कसलाई नियुक्त गर्ने, को बन्ने, मन्त्रीका निम्ति झगडा, कुनै पदको निम्ति झगडा, कुन ठेकेदारलाई कसले बोक्ने, हरेक नेतासँग विभिन्न ठेकेदार जोडिए । योभन्दा गलत कुरा के हुन्छ । जनताले औषधि पाउनु छैन झलनाथ जस्तो मान्छेलाई ७२ करोड रुपैयाँ सर्प पाल्नलाई दिए रे । सर्पको त कुरै छैन जग्गा किन्ने रे, गाडी किन्ने रे । यस्तो गैरजिम्मेवार भएकाले यस्तो समस्या भएको हो ।
० बलात्कार र हत्या बढ्यो, अपराधी कहिल्यै पक्राउ परेनन्, किन ?
–कानूनले व्यक्ति चिन्दैन । संविधानले व्यक्ति चिन्दैन । नेपालमा कानून र संविधानले व्यक्ति चिनेका कारणले व्यक्तिलाई आधार मानेर कारबाही गर्ने चलनले गर्दाखेरी र धेरै बढी राजनीतिकरण गरेर राजनीतिका आधारमा अपराधलाई हेर्ने कारणले गर्दा यो अपराध बढ्दै गएको हो ।



