काठमाडौं । मेलम्ची सपना ३० वर्षपछि यथार्थमा परिणत हुँदैछ । चरण चरणमा पानी वितरण गर्ने खाका बनाएको सरकारले प्रारम्भमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा खसाल्दैछ । यसरी ल्याइएको पानी ३ महिनाभित्र वितरण गर्ने उसको योजना छ । तर पूर्वाधार निर्माणलगायतका काम लक्ष्य र उद्देश्य भेटाउने गरी भएका छैनन् । यही कारण सरोकारवालाहरूले पानी वितरणमा अन्यौलता र जटिलता सिर्जना हुनसक्ने खतरा औंल्याएका छन् ।
सरकारले पहिलो चरणमा चक्रपथभित्रका १४ हजार घरधुरीलाई पानी वितरण गर्ने योजना बनाएको छ । पुरानोबाट नभई नयाँ प्रणालीबाट मेलम्चीको पानी घरघरमा पु¥याइनेछ ।
दोस्रो चरणमा चक्रपथभित्रका विशालनगर, वसुन्धरा, महाराजगञ्ज सामाखुसी, छाउनीलगायत क्षेत्रमा वितरण गरिनेछ । तर पहिलो र दोस्रो चरणमा वितरण हुने भनिएका क्षेत्रमा अझैसम्म वितरण प्रणाली तयार भइसकेका छैनन् । अहिले अधिकांश स्थानमा पाइप बिछ्याउने काम भइरहेका छन् । जानकारहरूका अनुसार, यी क्षेत्रमा वितरण प्रणाली तयार हुन अझै १ वर्ष लाग्न सक्छ । काठमाडौंका सबै क्षेत्रमा पानी वितरण हुन त ५–६ वर्ष लाग्ने केयूकेएलका एक अधिकारी बताउँछन् ।
बिछ्याइएको पाइपमा क्षति
पानी वितरणका निम्ति कतिपय स्थानमा पाइप बिछ्याइएका त छन् तर तिनमा क्षति पुगेको छ । सरकारी निकायबीच निर्माण कार्य गर्दा समन्वय नभएको र त्यसले समस्या देखिएको बताइन्छ । त्यसैले मेलम्चीको पानी वितरण प्रणालीमा पठाइए पनि चुहावट हुने र सडक जलमग्न हुने खतरा छ ।
दक्ष प्राविधिकको समस्या
मेलम्चीको पानी नयाँ प्रणालीबाट वितरण हुँदैछ । यो प्रणाली केयूकेएलको अहिलेको प्रणाली भन्दा भिन्न हो । नयाँ प्रणालीमा पानी वितरण गर्न त्यसलाई बुझेको प्राविधिक आवश्यक हुन्छ । स्रोतका अनुसार, केयूकेएलसँग कम प्राविधिक छन् । त्यसमा पनि नयाँ प्रविधि बुझेका कम छन् । लगानी ठूलो भए पनि त्यहीअनुरूप प्रतिफल लिन व्यवस्थापकीय र प्राविधिक जनसहभागितामा काम नभएको सरोकारवालाहरू बताउँछन् ।
फोहोर पानी व्यवस्थापन चुनौतीपूर्ण
फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको हो ।
बर्सेनि वर्षाको समयमा आकाशेपानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौं उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । विभिन्न निकायले ढल निर्माण गरेर पनि समस्या आउँदा लिमिटेडले नै त्यसको समाधान गर्ने गरेको छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउनेछ । वर्षामा पानीको परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै लिमिटेडले आन्तरिक स्रोतबाट नौदेखि ११ करोड लिटरसम्म पानी वितरण गर्दै आएको छ । सबै गरी पानीको परिमाण बढ्दा फोहरपानीको परिमाण बढ्नु स्वभाविक भएको जानकारहरू बताउँछन् ।
मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल बनेको छैन । फोहरपानी खोलामा पुग्नु पहिले सडकमा पानी भरिएर जलमग्न हुनसक्ने अवस्था छ ।
फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढ्ने देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको छ ।
सरकारले विभिन्न स्थानमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण गरे पनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान दिएको छैन । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा निर्माणाधीन छन् । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भए पनि फोहरपानी त्यहाँसम्म पुग्न ढल पर्याप्त नभएको बताइन्छ ।
छैन समन्वय
ढल निर्माण एउटै निकायबाट नभएको र निर्माण गर्ने निकायबीच समन्वय नभएको केयूकेएलको भनाइ छ । अहिलेसम्म कुन ठाउँमा कुन आकारको ढल आवश्यक छ भन्ने विचार नगरी ढल निर्माण गरिएको छ । खानेपानी मन्त्रालय, केयूकेएल, शहरी विकास मन्त्रालय, स्थानीय तहलगायतले ढल निर्माण गरेको पाइन्छ ।
अरु निकायले पनि आफूले बनाएको ढल कहाँ कहाँ छ भनेर नक्सा र कुन आकारको ढल छ भनी विवरण राख्नुपर्ने हो । ढल निर्माणमा सम्बन्धित निकालले त्यसलाई सफा गरेर केयूकेएललाई विवरण उपलब्ध गराउनुपर्ने भए त्यसो नभएको केयूकेएलको गुनासो छ । फोहरपानीको समस्या आएपछि मात्रै केयूकेएललाई खोज्ने गरिएको छ ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा आएपछि फोहरपानीको परिमाण बढ्न सक्ने भएकाले केयूकेएलले आवश्यक तयारी भएको जनाएको छ ।
मेलम्ची आए पनि समस्या उस्तै
बहुप्रतिक्षित मेलम्चीको पानी राजधानीमा आएपछि खानेपानीको समस्या सधैंका लागि हल हुने सोचमा हुनुहुन्छ ? यदि यस्तो सोच राख्नु भएको छ भने तपाईंको सोच कहिल्यै पूरा हुन सक्ने छैन । किनभने मेलम्चीबाट काठमाडौंको मागअनुसार पानी आउने क्षमता नै छैन । मेलम्चीबाट पानी आउन सुरु गरे पनि यसबाट दैनिक १७ करोड लिटर पानी मात्र आउन सक्छ ।
जबकि काठमाडौं उपत्यकाको माग योभन्दा धेरै छ । काठमाडौंमा अहिले दैनिक ३५ करोड लिटरभन्दा बढी पानीको माग छ । दैनिक जनघनत्व बढ्दै गएको उपत्यकामा आगामी दिनमा माग झनै बढेर जाने देखिन्छ । ‘मेलम्चीले काठमाडौंको खानेपानीे समस्या समाधान नहुने देखिन्छ,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका एक अधिकारी भन्छन्, ‘माग अनुसार मेलम्चीबाट पानी नआउने भएकाले छेलोखेलो चाहिँ हुँदैन ।’



