(नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि सुरु भएको भनिए पनि पछिल्लो समय यसमा प्रगति हुन सकेको छैन । पार्टी एकता गर्न बनाइएको संयोजन समिति नै बेकामे जस्तै भएर लर्खरिएको छ । एमाले–माओवादी एकता प्रक्रियामा बिलम्ब आउँदा राजनीतिक बजारमा अनेक अड्कलबाजी भइरहेको छ । आखिर एमाले–माओवादी एकता किन अघि बढ्न सकिरहेको छैन ? दुई पार्टी एकता प्रक्रियाको गाँठो के गर्दा फुक्ला ? एमालेभित्रै भएर पनि भूमिकाविहीन अवस्थामा रहेका एक जना नेता राधाकृष्ण (आरके) मैनालीसँग एमाले–माओवादी एकता र उनको निजी मामलामा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)
० एमाले–माओवादी एकताको चर्चा चुलिरहंदा अनेक कुराहरू बाहिर आएका छन् । दुई पार्टीबीच जारी एकता प्रक्रियालाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
–एमाले र माओवादी केन्द्रले चुनावअघि अपर्झट तालमेल र एकताको कुरा गर्दा धेरैलाई आश्चर्य लागेको थियो । यो मिलनमा जतिसुकै आकस्मिकता भएपनि वामपन्थी शक्ति मिलेको हेर्न चाहने जमातलाई यसले उत्साहित पारेको थियो । तर, यो एकतामा अहिले गम्भीर प्रकृतिको गतिरोध उत्पन्न भएको छ ।
० केही नेताले एकता बिगार्ने खालका अभिव्यक्ति दिंदै आइरहे पनि दुवै पार्टीको शीर्ष नेतृत्व एकतामा प्रतिबद्ध देखिएका छन् । एकताको ठोकुवा गर्दै नेताहरू भन्दै छन् कि ९ रेक्टर स्केलको भूकम्पले पनि हामीलाई छुटाउन सक्ने छैन । तैपनि तपाईं किन यतिधेरै शंकालु ?
–एमाले–माओवादी निकटता असल नियतका साथ हुन्थ्यो भने निकै राम्रो हुन्थ्यो । हुन त दुवै पार्टीलाई एकताबाट पछि फर्किने ठाउँ पनि छैन । जनताले वाम गठबन्धनलाई रुचाएर मत दिएकाले पछाडि फर्कनु घातक छ । तैपनि यो निकटतामा दुई पार्टीका आ–आफ्नै स्वार्थले काम गरेका छन् भन्ने मेरो बुझाइ छ ।
पहिलो, एमालेले चुनाव अघि सोचेको थियो कि गठबन्धन बनाएर जाँदा परिणाम आफ्नै पक्षमा पर्नेछ र गणितले माओवादीलाई एमालेको दास बनाउनेछ । तर, निर्वाचन परिणाम एमालेले सोचेभन्दा ठीक उल्टो आयो । माओवादी केन्द्रले प्रत्यक्षतर्फ त आफूलाई कांग्रेसभन्दा पनि अब्बल पार्टी बनायो । माओवादीले चुनावमा हासिल गरेको यही नतिजाले हिजो सोचिएभन्दा फरक परिस्थिति निर्माण गरिदिएको छ ।
० वामगठबन्धन सिद्धान्त र विचारका लागि भन्दा पनि सत्ता र स्वार्थका लागि थियो भन्ने तपाईंको निष्कर्ष हो ?
–हो, सिद्धान्त र विचारका आधारमा पार्टी एक बनाउन खोजिएको हुन्थ्यो भने अहिले यस्तो माहोल नै बन्ने थिएन । तालमेल र एकताको प्रसंग नै विचारका लागि नभएर सत्ता र स्वार्थ पूरा गर्न आएको थियो । विचारलाई प्रधान ठानेको भए त जोजहाँ बस्दा पनि समस्या हुने थिएन नि । तर, विचारभन्दा पनि महत्त्वकांक्षालाई शीरमा राख्दा समस्या भएको छ ।
० महत्त्वकांक्षाको कुरा तपाईंले गर्नुभयो । कसको महत्त्वकांक्षाले यतिबेला बढी समस्या निम्त्याइरहेको छ ?
–एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दुवै उत्तिकै महत्वकांक्षी छन् । ओली र प्रचण्डजी कार्यकारी भूमिकामा बस्न रुचाइरहनु भएको छ । यही कारण एकता प्रभावित भएजस्तो देखिंदैछ । एकताबाट भाग्दा दुवैको अस्तित्व संकटमा पर्ने भएकाले पछि हट्ने सुविधा छैन ।
० दुवै पार्टीका लागि स्वीकार्य हुने मिलनविन्दु जसले दुई पार्टीलाई एक गर्न सकोस्, त्यो के हुनसक्छ ?
–अब पार्टी नै एकता गर्ने हो भने यसमा मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन । एउटा पार्टीको अध्यक्षलाई राज्य प्रमुख र अर्कोलाई पार्टी प्रमुख बनाएर व्यवस्थापन गर्न सकिने भएकाले ठूलो छाती बनाएर यो विकल्पमा जाँदा उपयुक्त हुन्छ ।
० तर, एमाले पंक्तिबाट ११ प्रतिशत मत ल्याएको माओवादीका अध्यक्षलाई ३५ प्रतिशत मत ल्याएको पार्टी सुम्पन्न सकिंदैन भन्ने तर्क आइरहेको छ नि ?
–विगतमा को कहाँ थियो भनेर सोच्नतिर लाग्ने हो भने पार्टी एकता हुँदैन । विचार, आदर्श र सिद्धान्त नमिल्ने भएको भए छुट्टै कुरा हो । तर, सबै कुरा मिलेर एक हुने भनिसकेपछि खुद्रा, मसिना कुरामा अल्झिन हुँदैन । फराकिलो छाती बनाएर दुवै पक्ष अघि बढ्न तयार हुनुपर्छ ।
० पार्टी एकता कसरी गर्दा उपयुक्त हुने ठान्नु हुन्छ ?
–पार्टी एकता गर्दा एक व्यक्तिलाई मात्रै खुसी बनाउने हो भने त्यो दिगो हुँदैन । त्यसैले सबैलाई चित्त बुझ्ने विकल्प रोज्नुपर्छ । यतिबेला प्रधानमन्त्री आलोपालोमा हुने, एउटा पार्टी अध्यक्ष, अर्को प्रधानमन्त्री हुने विकल्प पनि आएको छ । अध्यक्ष मण्डल बनाएर जाने विकल्प पनि नराम्रो छैन । अब के गर्दा दुवै पार्टी खुसी हुन्छन् त्यही गर्नु उपयुक्त हुन्छ ।
० मानौं यही पृष्ठभूमिमा एमाले–माओवादी एकता सम्भव भयो । यो दिगो रहन सक्ला ?
–माले–एमाले एकीकरण हुँदा आफ्नालाई कहाँ राख्ने र अर्कालाई कता हुत्याउने भनेर सोच्दा एकता भएर पनि विभाजनको रेखा यथावत नै रह्यो । धमिलो पानी र सङ्लो पानी छुट्टिएजस्तै भयो । एमाले र माओवादीले विभाजनकै रेखा कोरेर गए भने त्यसले आमअपेक्षा पूरा गर्न सक्ने छैन । उनीहरूले विगतबाट पाठ सिकेर यस्ता समस्या आउन नदिन अहिलेदेखि नै प्रयत्न गर्नुपर्छ । तर, अहिलेसम्मको गतिविधिले त्यही कुरा देखाइरहेको छ ।
० अब नयाँ परिस्थिति बनेको छ । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्दैछ । यसको दिशा र प्राथमिकता कस्तो हुनुपर्छ ?
–हिजो ओली र माओवादीका सरकार जनअपेक्षा अनुरुप अघि बढ्न सकेका थिएनन् । आफ्नालाई काखी च्याप्ने र अरुलाई निषेध गर्ने परम्पराकै बीचबाट उनीहरू अघि बढेका थिए । अब यो प्रवृत्ति सबैभन्दा पहिले अन्त्य गरेर मेलमिलापको परम्परा विकास गर्नुपर्छ ।
० के के गर्दा देशलाई राम्रो गर्न सकिन्छ त ?
–प्रशासन र शिक्षालगायतका देशका सबैजसो क्षेत्रहरूमा राजनीतिकरण हाबी भएको छ । भ्रष्टाचार मौलाएको छ । यसलाई रोक्दै ठीक ठाउँमा ठीक मान्छेलाई उचित स्थान दिने हो भने धेरै राम्रो गर्न सकिन्छ ।
० लामो राजनीतिक संक्रमण झेलेको मुलुक त्यसबाट बाहिर आउँदैछ । अब विगतका बेथिती र कुशासन अन्त्य हुनेछ भन्ने अपेक्षा जनतामा देखिन्छ, तपाईंलाई के लाग्छ अब बन्ने वाम गठबन्धनले ती अपेक्षा पूरा गरेर अघि बढ्ला ?
–हो, जनता भ्रष्टाचार, बेथिती र कुशासनले आजित बनेका छन् । उनीहरू चाहन्छन् कि अब बन्ने सरकारले ती निरन्तरताहरू भंग गरेर नयाँ संस्कार र संस्कृति विकास गरोस् । तर, राजनीतिक दलहरूमा अझै पनि सकारात्मक सोचहरूको विकास हुन सकेको छैन । दलहरूको सोच बदलिएको छैन, पुरानै मान्यतामा अडिग हुँदा राम्राभन्दा पनि हाम्रा मान्छेले अवसर पाइरहेका छन् ।
प्रदेश प्रमुख नियुक्ति, जसमा कचिंगल परेको छ, यसलाई विश्लेषण गर्ने हो भने पनि दल बदलिएका छैनन् भन्ने पुष्टि हुन्छ । यदि दलहरूमा देश र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने भावना विकास भएको हुन्थ्यो भने उनीहरूले हाम्रालाई भन्दा पनि राम्रालाई रोज्ने साहस गर्न सक्थे । तर, यहाँ त आफूलाई मात्रै केन्द्रमा राख्ने प्रवृत्ति बलियो बनेर गएको छ । देशलाई नोक्सान गर्ने प्रवृत्ति यथावत राखिराख्ने हो भने देश विकासको अभियान अघि बढ्न सक्दैन । तर, दुर्भाग्य फेरि पनि उही शैली र प्रवृत्ति हामी देखाइरहेका छौं । साँच्चै देशलाई केही गर्ने हो भने हामीले नयाँ ढंगले सोचेर नवीन कामको थालनी गर्न अब ढिलो गर्न हुँदैन ।
० प्रसंग बदलौं, हिजो–आज के गर्दैहुनुहुन्छ ?
–बसिबसाइ हो, त्यस्तो केही छैन ।
० एमालेमा थप भूमिका पाउनु भएन हगि ?
–छैन । म पनि मलाई भूमिका देऊ भन्दै हात थाप्न कसैकोमा गएको छैन ।
० अब एमाले–माओवादी एक भएर बन्ने पार्टीमा सहभागी हुने कि नहुने त ?
–जिम्मेवारी पाएर मैले नबोकेको होइन, जिम्मेवारी नदिएका कारण थन्किएर बसेको हुँ । जिम्मेवारी नदिए पनि यो ठाउँ देऊ भनेर कसैसंग मागेको छैन । नयाँ बन्ने पार्टीले उचित जिम्मेवारी दियो भने लिन तयार छु । म आफ्नो बुताले भ्याएको काम गर्छु ।
० चुनावमा उम्मेदवार बन्नु भएन, चाहना नभएर कि पार्टीले प्रस्ताव नगरेर ?
–एक त मलाई प्रतिनिधि सभाको प्रत्यक्ष चुनावमा जाने इच्छा लागेन । यसमा दुईवटा कारण छन् । पहिलो, चुनाव निकै नै खर्चिलो भयो । चुनावमा खर्च गर्न मसंग हैसियत थिएन । अर्को कुरा टिकट बाँडफाँटमा तछाड–मछाड नै भयो । मलाई त्यसरी टिकट लिएर उम्मेदवार हुन मन लागेन । पार्टीले पनि यसबारेमा केही कुरा गरेन । सायद पुराना मान्छेलाई ल्याउनु भन्दा नयाँलाई अवसर दिंदा उचित हुने भएर होला ।
० तपाईंले ‘नलेखिएको इतिहास’ शीर्षक दिएर पुस्तक त लेख्नु भयो तर त्यसमा नभएका कुरा लेखेर पार्टीका नेतालाई आरके मैनालीले खुइल्याउने काम गरे भनेर आरोप लगाइरहेका छन् । तपाईंले पुस्तकमा कुण्ठा पोख्नु भएको हो ?
–त्यो आरोप कहाँ लाग्यो, मलाई थाहा छैन । कुन चाहिं नभएको कुरा लेखियो त्यो पनि कसैले बताएका छैनन् । पार्टीले पनि यसबारेमा केही सोधेको छैन । पुस्तकमा जे जति कुरा छन्, ती भएकै कुरा हुन् । यसमा मेरो कुनै गलत नियत छैन । कसैको प्रशंसा र आलोचना नगरेर मैले तथ्यमा टेकेर पुस्तक लेखेको छु ।



