काठमाडौं, फागुन ७ \\ पार्टी एकतामा अल्झेका गाँठा फुकाएर माओवादी सरकारमा सहभागी हुने निर्णायक बार्ता गर्न हिजो साढेचार घण्टा छलफल गरेका अध्यक्ष द्वयले धेरै गाँठा फुकाएपनि केही रहलपहल अझै बाँकि रहेको थियो। त्यो आज सोमबार दुई अध्यक्ष पुन बसेर निर्णायक टुङ्गोमा पुर्याउने भएका छन्।
सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा प्रचण्डले आजै केपी ओलीसँग ‘वान टु वान’ वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने ‘ब्रिफिङ’ गरेको माओवादी नेताले बताए।
“केपी ओलीसँग पुन फोनबार्ता भएको र आजै बसेर टुङ्ग्याउन सहमत भएको बुझिएको छ”, ती नेताले भने।
“अस्तिसम्म त खोई कुरा मिल्लाजस्तो छैन, फ्लोरबाट समर्थन मात्र गर्ने भनिरहनुभएको थियो अध्यक्षले, तर अहिले बिहान त सकारात्मक कुरा भएको छ, आजै टुङ्गेला भन्नुभएको छ ।” ती नेताले भने।
“जनताको बहुदलीय जनवाद, २१औं शताब्दीको जनवाद, माओवाद लगायतका बैचारिक-राजनीतिक विषयमा आगामी महाधिवेशनसम्म छलफलमा लैजान दिन केपी ओली सहमत हुने सङ्केत देखिएको अध्यक्षले जानकारी दिएका छन्”, नेताले भने।



