काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा दशौं तहका चिकित्सक डा. भुपेन्द्र बस्नेतलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्ति गरिएपछि वरिष्ठ डाक्टरहरूमा चरम निराशा छाएको छ । नेपालको जेठो अस्पतालको रुपमा चिनिएको वीर अस्पतालमा पछिल्लो पटक डा. जोगेश्वर गौतमलाई हटाएर कनिष्ठ चिकित्सक डा. भुपेन्द्र बस्नेत २०७८ साउन पहिलो हप्ता अस्पताल प्रमुख बनेर आएपछि अस्पतालका वरिष्ठ चिकित्सकहरू निरास भएपनि कर्मचारीहरूमा भने सेवाग्राहीको सेवामा र आफूहरूको सुविधामा केही सुधार हुन्छ कि भनेर खुसी छाएपनि कर्मचारीहरूको सरुवा र काखा र पाखाको व्यवहारले आतंक मच्चिएको गुनासो कर्मचारीहरूले गर्न थालेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका वर्तमान कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका भानिज भएको कारण उनी दोश्रो पटक प्रमुख बनेर आएको चर्चा अस्पतालमा व्याप्त छ । गत वर्ष कोभिड महामारीमा खटिएका कर्मचारीले अस्पतालबाट थप भत्ता लिन कर्मचारीहरूले आन्दोलन नै गर्नुपरेको थियो । गएको २०७७ मंसिरमा कर्मचारीले लेखा शाखासहित कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेका थिए । बस्नेत अस्पताल प्रमुख भएर आए लगत्तै कर्मचारीले पाउने भनेको थप भत्ता उपलव्ध गराएकोमा कर्मचारीले उनलाई स्यावासी पनि दिएका थिए ।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा स्वास्थ्य मन्त्री भएको समयमा उनै बस्नेत प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । २०७३ असोजदेखि २०७५ असोजसम्म दुई वर्ष अस्पताल प्रमुख हुँदा बस्नेतले किनेको थुप्रै मेशिनहरू यतिवेला प्रयोगविहीन भएर थन्किएका छन । कमिशनको लागि हतारमा ती मेशिनहरू खरिद गरिएको आरोप बस्नेत माथि लाग्दै आएको छ । बस्नेत पछि डा. केदार सेन्चुरी प्रमुख प्रशासकीय अधिकृत बने । उनको पालामा पनि अस्पालमा कुनै सुधार हुन नसकेको कर्मचारीहरू बताउँछन ।
सेन्चुरी पछि शान्ता थापा अस्पताल प्रमुख बनेर आएको भएपनि उनलाई कर्मचारीले दुई महिना पनि टिक्न दिएनन् । डा. जागेश्वर गौतमले अस्पताल प्रमुख भएपछि खरिद इकाईदेखि मेडिकल र जनरल स्टोरमा बनाएको कर्मचारीको टिमलाई भने बस्नेतले हालै भताभुंग बनाइदिएको अस्पताल श्रोतले बताएको छ । २०७८ साउन १ गते गौतमको सरुवा भएपछि बस्नेत अस्पताल प्रमुख भए लगत्तै कर्मचारीहरूको व्यापक सरुवा गरिएको बताइएको छ । सरुवा हुनेहरूले पत्र बुझिसकेको र यही हप्तामा उनीहरूले आ–आफनो जिम्मेवारी सम्हाल्ने तयारी भइरहेको बताइन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको खरिद इकाई, दुईवटा स्टोर र लेखालाई कमिशन आर्जन र धन कमाउनका लागि भन्सारकै रुपमा हेरिने गरिएको छ ।



