काठमाडौं । लालीगुराँस सहकारी बहुउद्देश्यीय सहकारी संस्थाबाट बचतकर्ताले धमाधम रकम निकाल्न थालेका छन् । केही सेयर धनीले त सेयर नै निकालेर सम्बन्ध विच्छेद गरेका छन् ।
लालीगुराँसले सहकारी संस्थाको आचरणविपरीतका गतिविधि सञ्चालन गरेपछि सेयर र बचतकर्ताले रकम निकाल्ने अभियान सञ्चालन गरेका हुन् । यो सहकारीले धितो नै कब्जा गर्ने नियतले ऋण प्रवाह गर्नेदेखि मनपरी ऋण प्रवाह गर्नेसम्मका गतिविधि गरेको विषय यसअघि प्रकाशमा आएको थियो । ललितपुर महानगरपालिका अगाडि रहेको यो सहकारीमाथि उपत्यकाको सभ्यतासँग जोडिएको समय फाल्चा र फाल्चाको भग्नावशेष हडपेर भवन निर्माण गरेको आरोप पनि लागेको छ । यही कारण त्यहाँका स्थानीयले सहकारीको भवन अगाडिको संरचना भत्काइदिएका थिए ।
स्रोतका अनुसार, लालीगुराँसको यस्तै हेपाह प्रवृत्तिबाट आजित भएका स्थानीयले यहाँबाट आफ्नो सेयर र वचत गरेको रकम निकाल्ने अभियान थालेका छन् । २०७८ असोज ७ गते बिहीबारबाट त्यहाँको स्थानीयले यो अभियान थालेका हुन् । जसअन्तर्गत दुई दिनमा नै दर्जनौंले उक्त सहकारीसँगको आर्थिक कारोबारबाट आफूलाई अलग गरेको बताइएको छ ।
लालीगुराँसविरुद्ध अभियान सञ्चालन गरेका स्थानीयले सबैलाई लालीगुराँसबाट आफ्नो सेयर र बचत झिक्न आग्रह पनि गरेका छन् । स्थानीय पूर्णबहादुर महर्जन लालीगुराँसले संस्कृति, सभ्यतासँगै न्यूनतम आचरणविपरीत गतिविधि निरन्तर जारी राखेकाले सबैले यसलाई बहिस्कार गर्नुपर्ने बताए । लालीगुराँसको ज्यादतिबारे धेरै मानिस अझ पनि अनभिज्ञ रहेकाले त्यसबारे सबैले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।
समय फाल्चा रोक्न अदालतमा
समय फाल्चा दुई सय वर्ष पुरानो संरचना हो । यसलाई काठमाडौंको सभ्यतासँग जोडेर हेरिन्छ । जुन संरचना मिचेर लालीगुराँसले आफ्नो भवन निर्माण गरेको स्थानीयको आरोप छ ।
समय फाल्चाको पुनर्निर्माण अघि बढेपछि स्थानीयले अतिक्रमण गरेर लालीगुराँसले बनाएको संरचना भत्काइदिएका थिए । संरचना भत्काइदिएपछि लालीगुराँस अहिले अदालत गएको छ । यो प्रकरण अदालत प्रवेश गरेपछि फाल्चाको निर्माण कार्य स्थगित भएको छ ।



