काठमाडाैं । २०७८ असाेज २५ गतेबाट नेपाली सेनाकाे रथी पद रिक्त भएकाे छ । युएन फाेर्स कमाण्डरमा कार्यरत रथी ईश्वर हमालले ५८ वर्षे उमेर हदका कारण अवकास प्राप्त गरेकाले नेपाली सेनाकाे रथी पद रिक्त भएकाे हाे ।
सिरियाको गोलनहाइटस्थित राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा फोर्स कमान्डर रहेका रथी ईश्वर हमाल नेपाली सेनाकाे रथी पदबाट अवकास भएतापनि नियम अनुसार युएन फाेर्स कमाण्डरकाे पद भने झण्डै एक वर्ष कायम रहने छ।
सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालका अनुसार पनि रथी ईश्वर हमाल नेपालमा अवकाश भए पनि युएन फाेर्स कमाण्डरकाे उही पदलाई निरन्तरता दिने नेपाल सरकारकाे नियम भएकाले युएन शान्ति मिशनकाे फाेर्स कमाण्डरमा ताेकिएकाे अवधिभर कायम रहिरहने छन् ।
रथी ईश्वर हमालकाे अवकास पछि रिक्त रहेकाे नेपाली सेनाकाे रथी पदका लागि वरिष्ठ उपरथी सराेज प्रताप राणा लाइनमा रहेका छन् । तर, उपरथी राणाकाे पदाेन्नतिका लागि अहिलेसम्म सात दिने सूचना सार्वजनिक भएकाे छैन ।
रथीमा बढुवाका लागि रक्षा मन्त्रालयमार्फत नेपाल सरकार समक्ष सिफारिस गर्नका लागि नेपाली सेनाले सात दिने 'दावीविराेध' सूचना प्रकाशित गर्ने नियम रहेकाे छ । २५ बेसिकका सराेज प्रताप राणाकाे रथीमा पदाेन्नति भएमा उनले विक्रम सम्बत २०८० भदाै सम्म जागिर खाएर उमेर हदका कारण अनिवार्य अवकास हुनेछन् । २४ बेसिकका हालका रथी बालकृष्ण कार्की पनि उमेर हदका कारण २०७९ भदाैमा अनिवार्य अवकास हुने लाइनमा रहेकाे सैनिक श्राेत बताउछ ।
२०७८ सालमा रथीमा बढुवा भएका र हुने जर्नेलहरूका लागि प्रधानसेनापति बन्ने अवसर प्राप्त हुने अवस्था छैन । हालका रथी बालकृष्ण कार्की २०७९ भदाैमा रथीबाट अवकास भएपछि त्यस स्थानमा नियुक्त हुने रथीले भने २०८१ भदाैमा नेपाली सेनाकाे प्रधानसेनापति बन्ने अवसर प्राप्त गर्नेछन् ।



