भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष राम थापा मगरले मेयर मदनकृष्ण श्रेष्ठको असहयोगका कारण बिकास निर्माणको काममा बाधा पुगेको गुनासो गरेका छन । आफु वडा अध्यक्ष मात्र नभएर नगरपालिकाको प्रवक्ता हुँदा पनि नगर प्रमुखको असहयोगले वडाको मुख्य विकासको काममा बाधा पुगेको आरोप अध्यक्ष थापाले लगाएका छन । यो वडा काठमाडौं महानगरपालिका ३२ सँग जोडिएको भएता पनि हाम्रो र उताको बिकास निर्माणमा भने धेरै फरकपन र भिन्नता रहेको उनको भनाई छ । हाम्रो यता गाउँ जस्तो छ भने उता सहर जस्तो देखिन्छ । यसमा नगर प्रमुखको खासै ध्यान नगएकोमा उनले आपत्ति प्रकट गरेका छन ।
वडा भित्रको नाट्यश्वरी पार्क निर्माणमा पनि मेयरले असहयोग गरेको र वडाले काम शुरु गरेको पार्कमा दोस्रो वर्ष मेयरले हस्तक्षेप गरेर काम रोकेको गुनासो उनले गरेका छन । त्यति ठूलो कामको जस वडाले पाउने भयो भन्ने डरका कारण मेयर श्रेष्ठले काम रोकेको गुनासो वडा अध्यक्ष थापाले साँघु प्रतिनिधिसँगको भेटमा सुनाए । यसको अलवा यस नगरपालिकामा पहिलो वर्ष काम नगरेको उपभोक्ता समितिले अर्को वर्ष काम गर्न नपाउने नीति अख्तियार गरिएको थियो । तर दोस्रो वर्ष विवाद गराएर काम गर्न दिइएन । म नै काम यो काम सम्पन्न गर्छु भनेर लागेको उपभोक्ता समितिलाई उहाँले काम गर्न दिनुभएन अध्यक्ष थापाले गुनासो पोखे ।
पार्क निर्माणको लागि वडाले नै वजेट बिनियोजन गरेको हो । पार्क निर्माणको लागि नगरले छुट्टै बजेट सहयोग गरेको पनि छैन । दोस्रो वर्ष ७० लाखको वजेट राखेर काम गर्ने बेला उहाँले पुरानो समितिलाई हटाएर नयाँ समिति बनाउनु भयो । दुईटा उपभोक्ता समिति देखिएका कारण अहिले त्यो काम ओझेलमा परेको छ । नगर प्रमुख पूर्वाग्राही भएर प्रस्त्त हुँदा यस्ता समस्या आउने गरेको गुनासो उनको रहेको छ ।
त्यस्तै जनक शिक्षा सामाग्री केन्द्र अगाडिको ऐतिहासिक फाल्चा र बाटो बिस्तारको क्रममा अगाडि पाटी र पछाडि ढुंगेधारा परेको थियो । त्यसलाई नेवारीमा ‘फल्चे दुने’ भन्ने गरिन्छ । त्यो पाटी बाटोमा पर्ने भयो । फल्चा मास्न पाइदैन । र पहिलेकै अवस्थामा पुन निर्माण गर्ने कुरा चल्यो ।
बाटो पनि बन्ने र फल्चा पनि बन्ने भएपछि हामी खुसी भयौँ । तर त्यस निर्माण कार्यलाई पनि मेयर श्रेष्ठले शुरुमा रोेक्ने काम गरेको आरोप उनले लगाए । पाटीमा पहिले जे थियो, त्यसको ठीक उल्टो गरी बनाएर इतिहास मेटने काम मेयरको अग्रसरतमा नै भएको उनको आरोप छ । जसको न संझौता छ, न त निर्णय नै । नत बजेट नै बिनियोजन भएको छ । लहडबाजी र हचुवाको भरमा काम अगाडि बढाउँदा हाल काम त्यसै रोकिएको भन्दै अध्यक्ष थापाले गुनासो गरे । तर अहिले यहाँ वडामा काम गरेको भुक्तानी माग्न ठेकेदार आएर हैरान बनाइएको उनले दुखेसो पाखेका छन ।
वडा कार्यालय बनाउन पनि मेयरको भाँजो
दिव्यश्वरी जग्गा एकीकरण आयोजनाले वडा कार्यालयका निर्माणको लागि भनेर छुट्याइदिएको २० आना जग्गामा पनि नगर प्रमुख श्रेष्ठको असयोगका कारण काम रोकिएको वडा अध्यक्ष थापाले गुनासो पोखेका छन । उनी भन्छन ‘उपभोक्ता र संचालक समितिले निर्णय गरेकोमा पनि मेयरले रोक्नु भनेको अन्याय पूर्ण छ ।’ उनको गुनासो छ ‘हामीले जग्गा पाउने भएपछि त्यसैको आधारमा डिपीआर तयार गर्यौ, नगरपालिकाले आफनो भवन बनाउन नसकिरहेको अवस्थामा वडाले भवन बनाउने भयो भनेर प्रमुख ज्युले रोक्ने काम गर्नु भयो ।’ जहाँ भवन बनाउने भनेर तयारी गरियो, त्यहाँ समस्या खडा गरेकै कारण भवन बन्न सकेको छैन । उनी थप्छन ‘हामी उपयुक्त स्थान र जग्गाको खोजिमा लागेका छौं ।’



