काठमाडाैं । जिल्ला उदयपुर कटारी घर भई हाल काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा डेरा गरी बस्ने वर्ष २१ को भक्तबहादुर थापाले घरायसी विवादको कारणले निजले आफ्नै श्रीमती वर्ष २४ की लक्ष्मी तामाङ (थापा) लाई धारिलो हतियार (मासु काट्न प्रयोग हुने दाउ) ले घाँटीको अगाडि भागमा प्रहार गरी सख्त घाइते बनाई फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरी घटनाकाे सूचना पाउना साथ तत्कालै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालन गराई उक्त प्रहरी टोलीद्वारा घटनास्थलबाट घाइते लक्ष्मी थापालाई उपचारको लागि काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलस्थित करुणा अस्पतालमा लगी उपचार गराइएको थियाे ।
उपचारको क्रममा साेही दिन राति २३:४० बजे घाइते लक्ष्मी तामाङ (थापा) को दु:खद निधन भएको थियाे । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार रहेको मृतकको श्रीमान भक्त बहादुर थापाको पहिचान तथा खोज तलास गर्ने क्रममा घटनास्थल नजिकैबाट निजलाई धारिलो हतियार दाउसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।
घटनाको सम्बन्धमा निज भक्त बहादुर थापा उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसुर अपराधमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले बताएकाे छ ।



