काठमाडौं । आजको ५ दिनपछि हुने स्थानीय निर्वाचनमा सरकारमा रहेका पाँचदल गठबन्धन नै बनाएर मैदानमा उत्रिदैछन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई प्रतिस्पर्धाको केन्द्रमा राखेर सरकारमा रहेका पाँच दलले चुनावी गठबन्धन बनाएका भएपनि चुनावको संघारमा पुग्दा नपुग्दै पाँच दलको गठबन्धनले भने असफलताको स्वाद चाख्न थालेको छ ।
७ सय ५३ वटै स्थानीय तहमा गठबन्धन बनाएर निर्वाचन लड्ने सहमति सरकारमा रहेका दलका शीर्ष नेताहरुले गरेका भएपनि यसमध्ये लगभग एकतिहाईमा मात्र पाँच दलको गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।
७ सय ५३ वटा स्थानीय तहको एक तिहाई तहमा गठबन्धन चुनावी मैदानमा भएपनि पूर्णरुपमा गठबन्धन भने सयवटा स्थानीय तहमा मात्र सीमिति रहेको अवस्था छ । गठबन्धनका दलहरुमा नै भागवण्डा मिल्न नसक्दा सरकारमा रहेका दलहरु नै गठबन्धन शीर्ष नेताहरुले गरेको सहमतिलाई तोड्दै प्रतिस्पर्धामा उत्रिएका छन् ।
रेणु दाहालको पक्षमा आयोजना गरिएको संयुक्त सभामा कांग्रेसका संस्थापना इतरपक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी नभएर आफूहरुको समर्थन गठबन्धनको निर्णयलाई चुनौती दिंदै भरतपुर महानगरमा मेयरका लागि उम्मेद्वार रहेका कांग्रेसी नेता जगन्नाथ पौडेलप्रति रहेको स्पष्ट सन्देश दिएका थिए ।
७ सय ५३ वटा स्थानीय तहमा नै सहमतिमा उम्मेद्वारी दिने निर्णय शीर्ष नेताहरुले गरेका भएपनि स्थानीय तहमा दिने उम्मेद्वारीका सम्बन्धमा गठबन्धनका दलहरुका तल्लो निकायले नै आपसमा सहमति गरेर निर्णय गर्न पाउनुपर्छ भन्ने अडान गठबन्धनका दलहरुको प्रारम्भिक समितिहरुबाट आएपछि र गठबन्धनका शीर्ष नेताले ७ सय ५३ वटै स्थानीय तहमा उम्मेद्वार तय गर्ने सम्बन्धमा निर्णय गर्नसक्ने अवस्था नभएपछि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा मात्र गठबन्धनका शीर्ष नेताहरुले उम्मेद्वारका सम्बन्धमा सहमति गर्ने निर्णय गरेका थिए ।
यो निर्णयअनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यसैगरी गठबन्धनका अर्का तीन दल माओवादी केन्द्रको भागमा भरतपुर महानगरपालिका, एकीकृत समाजवादीको भागमा पोखरा महानगरपालिका र जनता समाजवादीका भागमा वीरगंज महानगरपालिका परेको छ । तर, गठबन्धनका शीर्ष नेताले गरेको यो सहमतिप्रति खासगरेर नेपाली कांग्रेसको तर्फबाट लगभग विद्रोहको स्थिति बन्न पुगेको छ । भरतपुर महानगरपालिकामा पार्टीको निर्णयलाई अवज्ञा गर्दै जगन्नाथ पौडेलले मेयरमा उम्मेद्वारी दिएका छन् ।
पौडेलको यो विद्रोही उम्मेद्वारीप्रति चितवनका अधिकांश पाका नेताहरुको मात्र होइन, संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला, शशांक काेइराला र महामन्त्री गगन थापाको समेत समर्थन रहेको छ । यही कारणले गर्दा गत वैशाख २२ गते गठबन्धनको तर्फबाट महानगरपालिकाको मेयरको उम्मेद्वार रहेकी रेणु् दाहालको पक्षमा आयोजना गरिएको संयुक्त सभामा कांग्रेसका संस्थापना इतरपक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी नभएर आफूहरुको समर्थन कांग्रेसका विद्राेही उम्मेदवार जगनाथ पाैडेललाई भएकाे संकेत गरे । डा. शेखर कोइराला र महामन्त्री गगन थापाले गठबन्धनको निर्णयलाई चुनौती दिंदै भरतपुर महानगरमा मेयरका लागि उम्मेद्वार रहेका कांग्रेसी नेता जगन्नाथ पौडेलप्रति रहेको स्पष्ट सन्देश दिएका थिए ।
राष्ट्रियस्तरमा नै अहिले भरतपुर महानगरपालिकाको निर्वाचन गतिविधि चर्चाको विषय भएको भएपनि गठबन्धनका शीर्ष नेताले गरेको निर्णयप्रति चुनौती दिने काम भने अन्य महानगरपालिकामा पनि भएको छ । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिका प्रतिको निर्णय पनि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता तथा नेताले चर्काे आपत्ति प्रकट गरेका छन् ।
६० हजार मत भएको कांग्रेसले ५ हजार मत भएको एकीकृत समाजवादीलाई बोक्न सक्दैन भन्दै पोखरामा दुईजना कांग्रेसी नेता विद्रोहमा उत्रिएर उम्मेद्वारी दिएका छन् । यसैगरी गठबन्धनको तर्फबाट जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादीलाई दिन गरेको निर्णयप्रति पनि स्थानीय कांग्रेसी कार्यकर्ताले मात्र होइन, पूर्व उपसभापति विमलेन्द्र निधिले समेत आपत्ति जनाएका छन् ।
यही कारणले गर्दा जनकपुरमा जनता समाजवादीका उम्मेद्वारको पक्षमा वातावरण बनाउन गत शनिबार आयोजना गरिएको गठबन्धनका शीर्ष नेताहरुको सभालाई कांग्रेसका वरिष्ठ नेता तथा पूर्व कांग्रेस उपसभापति विमलेन्द्र निधिले बहिष्कार गरेर चुनाव प्रचारप्रसार गर्न भन्दै धरान पुगेका थिए ।
गठबन्धनमा रहेका जनता समाजवादी र एकीकृत समाजवादीले आफूहरुप्रति भइराखेको व्यवहारप्रति असन्तुष्टीसमेत पोख्न थालेका छन् । यही कारणले गर्दा गठबन्धनको तर्फबाट महानगरपालिकाहरुमा भएका सभाहरुमा जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको उपस्थिति अत्यन्त कम हुने गरेको छ ।
जनकपुरमा आफ्नै पार्टीका कार्यकर्ताले मेयरमा उम्मेद्वारी दिएको कारणले मात्र जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई उपस्थित भएर उक्त सभालाई सम्बोधन गरेका थिए ।
यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको गृहनगर रहेको गोरखाको पालुङटार नगरपालिकामा सहमति तोड्दै नेपाली कांग्रेसले मेयरमा उम्मेद्वारी दिएको छ ।
जनता समाजवादीका अध्यक्ष भट्टराईको विशेष अनुरोधमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पालुङटारमा कांग्रेसको तर्फबाट मेयरका लागि परेको उम्मेद्वारी फिर्ता लिन लिखित निर्देशन दिएको भएपनि समयभन्दा १५ मिनेट ढिलो उक्त पत्र पुगेको भन्दै कांग्रेसी पक्ष्ँले पालुङटारबाट मेयरको उम्मेद्वारी फिर्ता लिएनन् ।
गोरखामा पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी र गोरखा नगरपालिकामा कांग्रेसले उम्मेद्वारी दिने सहमति भएको थियो । पालुङटारमा कांग्रेसले सहमति तोडेपछि अब चुनावसम्म पुग्दा जनता समाजवादीले पनि गोरखामा त्यसैगरी सहमति तोड्ने स्थिति बनेको छ ।
गठबन्धनमा रहेका पाँच दलले खास गरेर प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्ष्यमा राखेर गठबन्धनमार्फत उम्मेद्वार तय गर्ने निर्णय गरेका भएपनि यो निर्णय चुनावसम्म पुग्दा पूर्णरुपमा भताभुंग हुने संकेत उम्मेद्वारीसँगै देखिएको छ ।



