काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने र सुनको मूल्य घट्दा डलरको भाउ बढ्ने गरेको विगत रहेको छ । तर अहिले सुन र डलरको मूल्य संगसँगै बढ्दा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा परेको बताइन्छ । यता, २०७९ जेठ २६ गते बिहीबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको थियो ।
नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्रिदर १२४.६८ रुपैयाँ कायम गरेको थियो । जेठ २७ गते शुक्रवार पनि ५ पैसाले बढेर नयाँ उचाई कायम गरेको थियो । यसअघि २०७९ जेठ ६ गते अमेरिकी डलरको भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । आज २०७९ जेठ २९ गते अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च विनिमय दर हो । पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्रगतिमा भइरहेको डलरको मूल्य बृद्धिले पुष्टि गरेको छ ।
करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो । यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ । डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । तर ऋण सहयोग सावाँ व्याज भुक्तानी, आयातको भुक्तानी, विदेशी लगानीकर्ताहरूले मुनाफा लैजादा, विदेश अध्ययन गर्न जान लागेका विद्यार्थीहरु, भ्रमण र स्वास्थ्य उपचारका लागि विदेश जाँदा डलर साट्नु पर्दा भने नेपालीलाई ठूलो नोक्सानी वेहोर्नुपर्ने भएको छ ।
गत बिहीबार नै बढेर नयाँ उचाइमा पुगेको डलरको भाउ शुक्रबार केही घट्ने अपेक्षा गरिएको भएपनि उल्टै ५ पैसाले बढेर नयाँ उचाइ कायम गरेपछि नेपालको अर्थतन्त्रमा त्यसको सिधा असर पुगेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको थियो । २०७९ जेठ २९ गते आइतबार अमेरिकी डलरको बढ्दो प्रवृत्तिलाई पछ्याउँदै १ अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च दर भएको बताइन्छ ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको अर्थतन्त्रका जानकारहरु बताउँछन । रुस र युक्रेनको युद्धका कारण नेपालको छिमेकी मुलुक भारतको मुद्रा कमजोर भएको र भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । जसले गर्दा भारतीय मुद्रा कमजोर हुँदा त्यसको सिधा असर नेपाली मुद्रामा पर्दा कमजोर भएको बताइन्छ ।
पछिल्लो केही दिन यता डलरको भाउ लगातार बढ्दै गएको र डलरको भाउ बढेका कारण नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । अब नेपालीले अमेरिकी १ डलर साट्नको लागि लगभग १२५।- रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता आइ लागेको छ ।
डलरको मूल्य निरन्तर बढदा त्यसको त्यसको पाइदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा पुग्ने छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केही फाइदा पुगेपनि आयातमा भने यसले असर पु¥याउने निश्चित छ । नेपालबाट निर्यात भन्दा पनि आयात हुने वस्तु धेरै भएकोले त्यसको सिधा असर सामानको मूल्य बृद्धिमा पर्नेछ । इन्धनको मूल्य निरन्तर बृद्धि हुँदा त्यसको असर अर्थतन्त्रमा परिरहेको छ नै ।
ढुवानी भाडा बढेकै कारण दैनिक उपभोग्य सामानको मूल्य बढेर सर्वसाधारण नागरिकको चुल्हो नबल्ने स्थिति आएको छ । डलरको मूल्य निरन्तर उकालो लाग्दा नेपाली अर्थतन्त्रमा धेरै दबाव पर्ने भएको छ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि स्वत बढ्ने भएको छ ।



