काठमाडौं । नेपाल क्रिकेट संघ क्यान दुई वर्षभन्दा बढी समयदेखि आइसीसीको निलम्बनमा परेको छ । क्यान आइसीसीको निलम्बन पार्नमा कुनै पनि सर्वसाधारणको हात छैन । न त खेलाडीकै छ । खेलाडीले त क्यान निलम्बनमा पर्दासमेत निरन्तर खेलेर नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीयको मान्यता दिलाउन सफल भए । अब भने क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले नेपालको निलम्बन फुकुवा गर्न लागिरहेको छ । सो अनुसार आइसीसीले राजनीतिक हस्तक्षेपरहित क्यानको परिकल्पना गरेको छ ।
आइसीसीले बुझेको छ कि क्यान ध्वस्त पार्ने नेताहरू नै हुन् । त्यसैले त आइसीसीले गठन गरेको सल्लाहकार समितिबाट तयार भई आइसीसीले स्वीकृति दिएको विधान पारित गर्न दवाव बढेको थाहा भएको छ । सो अनुसार अहिले नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले त्यो विधान हुबहु पारित गरेको छ ।
सल्लाहकार समितिका एक सदस्यका अनुसार यसपटक पनि ‘भेष्टेड इन्ट्रेष्टधारीहरू खुवै सल्वलाएका थिए । तर आइसीसीले संशोधित विधान स्वीकृत नगर्ने स्पष्ट पारेपछि क्यानको साधारणसभाले हुबहु पारित गरेको हो । २०७४ माघमा आइसीसीका प्रतिनिधि इमरान ख्वाजासहितको टालीसंग काठमाडौंमा भएको छलफलपछि बनेको विधानलाई अक्षरसः पारित गरिएको हो ।
अहिलेको निर्वाचित क्यानलाई स्पष्टसंग थाहा छ कि आइसीसीले जे पनि गर्न सक्छ । अहिले परिस्थिति यस्तो बनेको छ कि क्यान कुनै पनि हालतमा आइसीसीको निलम्बनबाट फुकुवा हुनुपर्छ । क्यान भएमात्र नेपालमा धेरै भन्दा धेरै क्रिकेट प्रतियोगिता हुन सक्छन् ।
आन्तरिक प्रतियोगिता नभएसम्म खेलाडीहरू उत्पादन हुन सक्दैनन् । यदि प्रतियोगिता नै नभर राष्ट्रिय टिमलाईसमेत खेलाडी छान्न सकस हुनेछ । यो निर्वाचित समिति पनि क्रिकेट बिगार्ने मामलामा दोषी रहेको खेलप्रमीहरूको आरोप छ । यो समितिले पनि राजनीति खेलेको खेलेको आरोप खेप्दै आएको छ ।
सबैभन्दा ठूलो राजनीति राष्ट्रिय खेलकुद परिषद राखेपले गरेको खेलाडीहरूको आरोप छ । स्रोतका अनुसार, चुनाव गर्न खोज्ने समूहलाई आफ्नो प्रतिनिधि नपठाइदिने र चुनाव गर्न नचाहने पक्षलाई साथ दिने । अनि जवर्जस्ती तदर्थ समिति निर्माण गरिदिने । अहिले यस्तै गल्ती गर्नेहरूको स्वर ठूलो भएको छ । स्वर चर्को भएको छ ।
सदस्यसचिव केशवकुमार विष्टले राजधानीमा भएको साधारणसभामा बोल्दै जसरी पनि क्रिकेट बचाउनका लागि आफूले सक्दो प्रयास गरेको बताएर पन्छिने काम गरेको आरोप लागेको छ । उनीमात्र होइन क्रिकेटसंग सम्बन्धित अधिकांशको नियत खराव भएकै कारणले यो गति सिर्जित भएको हो ।
विधानमा किचलो होला भन्ने भएरै आइसीसीले दुई दिनको समयमा सहजता गरेको थियो । तर विधान हुबहु पारित भएपछि एकै दिनमा आइसीसीका प्रतिनिधि अमर शेखको उपस्थितिमा साधारणसभा सकियो । यो विधानलाई राखेपले आँखा चिम्लेर स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।
आइसीसीले यसलाई राम्रो कदमकारुपमा परिभाषित गरेको स्रोत बताउछ । स्रोतका अनुसार, आइसीसीले अब जुलाईमा हुने आइसीसीको वार्षिक साधारणसभामा नेपालको सदस्यता फुकुवा गर्ने लगभग पक्का छ । किनकि अहिलेसम्म आइसीसीले भनेका सबै कुराहरू क्यानले पूरा गरेको छ ।
तर निलम्बनमा पर्नुको कारण स्पष्ट छ –लगातारको विवाद, अपारदर्शिता, सुशासनको अभाव । यो त फेरि पनि हुन सक्छ । त्यसो भए आजीवन प्रतिवन्धित हुन पनि बेर लाउँदैन । यसतर्फ जाला त सम्बन्धित पक्षको ध्यान ?



