काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको खल्तीको मान्छेझै भएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उपप्रधानमन्त्री तथा गृह मन्त्री भएर सरकारमा गएका थिए । प्रधानमन्त्री बनाउने भूमिकामा रहेका एमाले अध्यक्ष ओली नै शक्तिशाली ठानेर लामिछाने त्यतातिर लागेका थिए ।
एमाले अध्यक्ष ओलीकै जोडबलकै कारण गृह मन्त्रालय पनि पाएका थिए । उनी ओलीको पिछा लागेर आफ्नै हुन खोज्नुको कारण संरक्षणको खोजीसँग जोडिएको थियो । आफ्नै कमजाेरी र घमण्डका कारण नागरिकता र राहदानी विवादमा मुछिएका लामिछाने आफ्नो बचाउका लागि केपी ओलीको शरणमा पुगेका थिए ।
ओलीले सार्वजनिक अभिव्यक्तिमार्फत पनि लामिछानेको बचाऊ गरिरहेका थिए । तर, जब ओली र प्रचण्डको सम्बन्ध बिग्रिन थाल्यो अनि ओली कमजोरजस्तो देखिन थाले त्यसपछि दिनदिनै प्रधानमन्त्री निवास बालुवाटार धाएर लामिछानेले प्रचण्ड समक्ष गुहार माग्न थाले ।
केपी ओलीले आफूसँग नजिक हुने अनुमानविपरीत लामिछाने प्रचण्डसँग् नजिकिए । त्यहीकारण, एमाले सरकारबाट बाहिरिने निर्णय गर्दा पनि रास्वपाले भने २०७९ फागुन १५ गते समर्थन कायम रहेकाे निर्णय गर्न पुग्याे । एमाले नेताहरुले एमालेसँगै रास्वपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले एमाले मन्त्रीहरूकाे बेइज्जत गर्न थालेपछि २०७९ फागुन १५ गते एमाले नेताहरु पार्टी कार्यालय च्यासलबाट भेट भएर समर्थन फिर्ता लिने निर्णय गर्दै गर्दा लामिछानेसहितका नेताहरु पनि पार्टी कार्यालयमा बैठक बसिरहेका थिए । तर, एमालेको निर्णयभन्दा भिन्न सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय लियो । अब रास्वपा सरकारमा जाने तयारी पनि लागेको स्रोतहरुको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूहरुलाई जुन सुकै मन्त्रालय दिए पनि सरकारमा आउन तयार रहेको सन्देश लामिछानेले दिइसकेकाे स्राेत बताउछ । सत्ता गठबन्धनको नवौं दलको रुपमा रहेर काम गर्न तयार रहेको भन्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई खबर गरिसकेका कारण २०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुनगइरहेकाे उपनिर्वाचन अघि नै सरकारमा जाने संभावना पनि रहेको बताइन्छ ।
चैत पहिलो साताभन्दा अघि सरकारले पूर्णता पाउने संभावना कम रहेका कारण रास्वपालाई बार्गेनिङ गर्ने समय पनि रहेको छ । सोही कारण अहिले सरकारमा जान सक्ने संकेत देखाएर लामिछाने आफ्नो राहदानीको मुद्दाबाट छुटकारा लिनका लागि प्रधानमन्त्री प्रचण्डलाई चाकडी गरेर सरकारमा जान खोजेका हुन् । त्यसका लागि लामिछानेले ससुरा उद्धव पौडेललाई पनि परिचालन गरेकाे प्रधानमन्त्री निवास स्राेत बताउछ ।



