झापा । सशस्त्र प्रहरी बलमा कुटपिट काण्ड भएकाे छ । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले सादा पोसाकमा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई सहितको टोलीले कुटपिट गर्दा आफ्नै फाेर्सका चार जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । मिलेमतो गरेर गोरु तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीको कुटाइबाट चार जना सशस्त्र प्रहरी जवान घाइते भएका हुन् ।
घाइते भएकाहरूमा झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई छन् ।
नकलवन्दाको माता चोकमा ड्युटीमा रहेका पासाङलाई २०८० जेठ ३० गते मंगलबार राति ८ बजे गोरु किन छाडेको भन्दै सादा पोसाकमा पुगेका प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए । ड्युटीमा रहेका पासाङलाई कुट्दै नकलवन्दाको बोर्डर आउट पोस्टमा पुर्याए । त्यसपछि पोस्टमा रहेका अन्य प्रहरीलाई पनि पोसाक लगाउन लगाएर मेची खोलामा चोबल्दै निर्घात कुटपिट गरेका थिए ।
सशस्त्र प्रहरीलाई कुटपिट गरेको थाहा पाएपछि कुटपिटमा संलग्न निरीक्षक राई, प्रहरी जवान राम सुन्दर तामाङ र जीवन बास्तोलालाई स्थानीयले सामान्य हातपात गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो ।
स्थानीयले सशस्त्रको गाडी तोडफोड पनि गरेका थिए । सशस्त्र प्रहरी नम्बर २ हेडक्वार्टरका एसपी देवराज अर्यालसहितको टोली घटनास्थलमा पुगेर आफ्नै फाेर्सका कर्मचारी कुट्ने सादा पोसाकका प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धतापछि घटना तत्कालका लागि साम्य भएको थियो ।
झण्डै ८० जना स्थानीयले पैसा उठाउन नक्कली इन्सपेक्टर आएको भन्दै सशस्त्रको गाडीमा राखिएका राईलाई सुरक्षित राखिएको गाडीसमेत तोडफोड गरेका छन् । उनलाई स्थानीयले नक्कलीले पैसा उठाउन खोजेको भन्दै आक्रमण गरेका हुन् । सिपाही राम तामाङलाई लिएर निरीक्षक राई राति त्यता किन पुगेका थिए खुल्न सकेकाे छैन । नकलबन्दाको इञ्चार्ज चाहिं सई माधव खत्री हुन् ।
राईलाई स्थानीयले मापसे गरेको आरोप लगाएका छन् भने सशस्त्र प्रहरी बलले उनले मापसे नगरेको जानकारी दिएको छ । सशस्त्र प्रहरी बल मुख्यालयका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले घटनाबारे छानबिन सुरु गरेको जनाए ।
बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिए ।
गणभित्रै उनीहरूमाथि सोधपुछ र बयान लिने कार्य भइरहेको उनले बताए । यता सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताए ।
झापाका विभिन्न नाकाबाट चोरी तस्करी भइरहेको सूचना आएपछि सो कुरा बुझ्नलाई इन्स्पेक्टर राईसहित उनीहरूलाई खटाइएको स्वीकार्दै डीआइजी पोखरेलले भने, ‘झापामा घटना बुझ्न पो उनीहरूलाई खटाइएको हो, आफ्नै संगठनका बर्दीधारी कर्मचारीलाई त्यसरी ड्युटीमा कुटपिट गर्नु एकदम गलत कार्य भयो ।’
घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको बताउँदै उनले भने, ‘छानबिन प्रतिवेदनको आधारमा दोषीलाई विभागीय कारबाही गरिन्छ ।’
नकलबन्दा नाकाबाट चोरी तस्करी भइरहेको भन्दै इन्स्पेक्टर राईको कमान्डमा सशस्त्र जवानहरू तामाङ र बास्तोला सादा पोसाकमा त्यहाँ पुगेका थिए । इन्स्पेक्टर राईले घटनास्थल पुगेर बिओपी नकलबन्दाबाट खटिएका १३ जना र सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका ३ जना गरी १६ जनालाई सामेल गराएका थिए । त्यसपछि इन्स्पेक्टर राईले ड्युटीमा लापरबाही गरेको भन्दै उनीहरूलाई पानीमा चोप्दै भाटैभाटाले हिर्काएका थिए ।
विओपी नकलबन्दाका इन्चार्ज तथा सई माधव खत्रीले 'इन्स्पेक्टर राईलाई सर यसो नगर्नुहोस्' भन्दै रोक्न खोजेका थिए । तर, इन्स्पेक्टर राईले सई खत्रीको कुरा मानेनन् । उनले ड्युटीमा खटिएका सशस्त्रहरूलाई एक घण्टासम्म पानीमा चोबल्दै कुटपिट गरिरहेको सशस्त्र स्रोतको दावी छ । ड्युटीमा खटिएका सशस्त्रहरूलाई आफ्नै फाेर्सका इन्स्पेक्टरका आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको बताइएको छ ।
यो घटनालाई पनि गुपचुप मात्रै होइन जोगाउन खोजेको आराेप छ। २०८० जेठ ३० गते मंगलबार रातिको घटना , जेठ ३१ गते बुधबार त ती निरीक्षक राईलाई सशस्त्र प्रहरी मुख्यालयले निलम्बनमा लागि गृह मन्त्रालयमा सिफारिस गर्नुपर्ने थियो र गृहमन्त्रीले तुरुन्त निलम्बन गर्नुपर्ने थियो । तर त्यस्तो नभई जोगाउन खोजेको देखिएको छ। बाहिनी नै छानबिनको लागि देखिएको अवस्थार्मे थियो । त्यो पनि देखिएन ।
त्यसो त यसअघि पनि स्याउ तस्करी काण्डमा डिएसपी र निरीक्षक तानेर झापाका एसपीलाई जोगाउने काम भयो । यस्ता काण्डले सशस्त्र प्रहरीमा गुटबन्दी मात्रै होइन नेतृत्व नजिककाले जे गरेपनि छुट हुन्छ भन्ने देखिएको छ।
झापामा सशस्त्र प्रहरीका इन्स्पेक्टरद्वारा आफ्नै जवान तथा हवल्दारहरु कुटपिटको घटना छानबिन गर्न सशस्त्र हेडक्वाटरले उच्चस्तरीय समिति बनाएको छ। हेडक्वार्टरले एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको संयोजकत्वमा केन्द्रीय छानबिन समिति गठन गरेको हो ।
झापाको मेचीनगर–४ स्थित नेपाल–भारत सीमा नक्कलबन्दमा जेठ ३० गते मंगलबार राति भएको घटना सम्बन्धमा जाँचबुझ गर्न कार्य विभाग प्रमुख एआईजी गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सो समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
(साँघु डेस्क/ नव जनप्रहा)



