काठमाडौं । भ्रष्टारचार बिरुद्ध खरो रुपमा उत्रिएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन हप्तादेखि रिक्त रहेको अध्यागमन विभागमा महानिर्देशक खटाउन सकिरहेका छैनन । ६० किलो सुन तस्करी काण्डमा विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीको नाम जोडिएपछि उनलाई मन्त्रालयमा तानिएको थियो । तर चार महिना भन्दा बढी समयदेखि सहसचिव जयनारायण आचार्यलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट तानेर मन्त्रालयको बरण्डामा थन्क्याइएको छ ।
ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका गणेश प्रसाद अर्यालको मन्त्रालयमा सरुवा भएको महिना बितिसकेको छ । उनलाई पनि मन्त्रालयले कुनै जिम्मेवारी दिइएको छैन । अर्याललाई भने मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमा खटाउने तयारी गरिरहेको स्रोतले बताएको छ । अघिल्लो हप्ता गृहमा सरुवा गरिएका दुईजना सहचिवहरु भने हाजिर भइसकेका छैनन् ।
समाचार स्रोत भन्छ ‘मन्त्रालयको बरण्डामा रहेका आचार्य र राष्ट्रिय विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख रुद्र सिं तामाङमध्ये एकजनालाई यही हप्ता खटाउने तयारी मन्त्रालयले गरिरहेको छ । उनीहरु बाहेक हाल रुपन्देही जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका भरतमणि पाण्डे पनि विभागको महानिर्देशकको संभावित उम्मेदवार रहेको दावी स्रोतले गरेको छ । मन्त्रालयको प्रशासन महाशाखाले नै हाल विभागको कामकाज हेर्दै आएको छ । माहाशाखा प्रमुख केदारनाथ शर्मा अबको चार पाँच महिना पछि सचिव बढुवाको लाइनमा रहेका कारण उनले विभागमा जान रुची देखाएका छैनन ।
बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयबाट हालै मन्त्रालयमा सरूवा भएर आएका शिवराम गेलाल हाजिर भएका छैनन । धनकुटा जिल्लाको प्रजिअबाट गृहमा तानिएका र २०८० भदौ २२ गते उत्कृष्ट निजामती कर्मचारी पुरस्कार थापेका थानेश्वर गौतमलाई पनि मन्त्रालयले जिम्मेवारी तोकेको छैन् । मन्त्री श्रेष्ठले ७७ जिल्ला मध्ये धनकुटाका सिडिओलाई पुरस्कारका लागि सिफारिस गर्नुले पनि उनलाई अध्यागमनको जिम्मेवारी दिनसक्ने मन्त्रालय भित्र गाइँगुई चर्चा चल्ने गरेको बताइन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआई)ले बयान लिइरहेका सहसचिव अधिकारीलाई भरखरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ ।
१० सहसचिव र उपसचिवको सरुवा
मन्त्रालयले २०८० भदौ २२ गते शुक्रबार मातहतका तीन प्रमुख, तीन सहायक प्रमुख जिल्ला अधिकारी र चार जना इलाका प्रशासक उपसचिवहरूलाई सरुवा गरेको छ । जसमा ओखलढुंगाकी प्रजिअ प्रदर्शनी कुमारीलाई भोजपुरको सहायक प्रजिअमा दरबन्दी कायम गरी मन्त्रालयमा काजमा सरुवा गरेको छ ।
डडेल्धुराका प्रजिअ विश्वराज न्यौपानेलाई पाँचथरक दरबन्दी कायम गरी मन्त्रालयमा काजमा र मुस्ताङका प्रजिअ अनुप केसीलाई रौतहट जिल्लाको सहायक प्रजिअमा सरूवा गरेको छ । धनकुटाका सहायक प्रजिअ अन्जन न्यौपानेलाई डडेल्धुराको प्रजिअमा सरुवा गरेको छ । पर्साका सहायक प्रजिअ भिमकान्त पौडेललाई बाजुराको प्रजिअ र मकवानपुरको सहायक प्रजिअ रहेका नेत्रप्रसाद शर्मालाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहटको इलाका प्रशासकमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।
कटारी उदयपुर इलाका प्रशासक चेतराज बराललाई ओखलढुंगाको प्रजिअमा सरुवा गरिएको छ । त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालयमा कार्यरत उपसचिव ज्ञाननाथ ढकाललाई इलाका प्रशासन कार्यालय ललितपुरको फर्पिङमा सरुवा गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रानिगाहपुर, रौतहटका प्रशासक झरेन्द्र प्रसाद चापागाईलाई मकवानपुर जिल्लाको सहायक प्रजिअमा सरूवा गरिएको छ । एक वर्ष अवधि नपुगि मन्त्रालयले सिडिओ, सहायक सिडिओ र इलाका प्रशासकहरूको सरूवा गरेर गृह प्रशासनमा अस्थिरता निम्त्याएको गुनासो बढेको छ । (साँघु साप्ताहिक, २०८० भदौ २५)



