काठमाडौं, २८ असोज । काठमाडौंको कालोपुलमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित भएका बालबालिकाका लागि ब्लुम पार्क क्लिनिक सञ्चालनमा आएको छ । मिति २०८० असोज २८ गते आइतबार एक कार्यक्रमबिच क्लिनिक उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा तीनजना बालबालिकाले विशेष प्रस्तुति दिएका थिए । सो अवसरमा आफ्ना बालबालिकाले भोग्नुपरेको अवस्थाबारे अभिभावकसँग अन्तरक्रिया पनि सम्पन्न भएको थियो। क्लिनिकमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पनि सहयोग प्रदान गर्दै आएको दाहालको भनाइ छ । उनले आगामी दिनमा क्लिनिकले सामुदायिक क्षेत्रमा पनि प्रभाव पार्ने कार्यक्रमको योजना रहेको बताइन् ।
यो एक प्रकारको पेडियाट्रिक मल्टी स्पेसियाल्टी क्लिनिक भएको स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट निलम लामा दाहालले जानकारी दिइन् । यहाँ आक्युपेसनल थेरापी, स्पिच ल्याङ्ग्वेज थेरापी, बिहेभिएर थेरापी, फिडिङ थेरापी, ओरल प्लेसमेन्ट थेरापी र फिजियोथेरापीसम्बन्धी सेवा दिइने उनको भनाइ छ । नेपालमै पहिलोपटक ब्लुम पार्क क्लिनिकमा आयरस सेन्सरी इन्टिग्रेसन र ओरल प्लेस्नेट थेरापी सेवा उपलब्ध रहेको छ ।
एक वर्षअघि चारजना महिला थेरापी चिकित्सकद्वारा सञ्चालनमा आएको क्लिनिकमा करिब २६० जना बालबालिकालाई थेरापी चिकित्सा सेवा प्रदान गरिएको दाहालले बताइन् । बालबालिकामा हुने शारीरिक विकासमा ढिलाइ, मानसिक सामाजिक अवस्था, अपांगतासँगसँगै न्युरोलोजिकल अवस्थाहरू जस्तै, अटिजम डाउन सिन्ड्रोम, लर्निङ डिसयबिलिटी, सेरीब्रल पाल्सीलगायतका विरामीले यो क्लिनिकबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।



