🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीको निर्देशन \’उखु किसानको समस्या समाधान गर्न  चिनी आयात रोक\’  

काठमाडौँ, २३ भदौ (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन्  । 

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा भदौ २२ गते  साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका  हुन् । 

“उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारी (भारत) बाट उखु ल्याउन पाइँदैन, र उद्योगीले उखु किन्दिन भन्न पनि पाउँदैनन्, त्यसैले सीमा नाकामा पुरै कडाई गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु”–प्रधानमन्त्री ओलीले भने  । 

प्रधानमन्त्री ओलीले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने गरी चिनीको आवश्यकता, खपत र कृषक एवं उद्योगीको समान हित हुनेगरी उपयुक्त ढंगले उखु र चिनीको मूल्य निर्धारण गरिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, “चिनीमा हामी आत्मनिर्भर हुँदैछौ, यो खुसीको कुरा हो, आत्मनिर्भर हुने बाटोमै जानुपर्छ, अहिले तपाईँ (व्यवसायी) को आँकडाअनुसार अर्को वर्ष नै आत्मनिर्भर भइहाल्दैनौँ, अलिकति कम हुन्छ, चिनी आयात सरकारले हैन व्यापारीले नै गरिराखेको हो । यो सरकार गठन भएदेखि नै उखु किसानको समस्याप्रति म गम्भीर भएर छलफल गरेको पनि हुँ । यो समस्या छिट्टै समाधान हुन्छ ।” 

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कम्तीमा  छ महिनाका लागि चिनी मौज्दात भएकाले तत्कालका लागि आयात रोकेर उखु कृषक तथा उद्योगसँग सम्बन्धित समस्या सधाधान गर्न सकिने धारणा राखेका थिए  । खतिवडाले उखु किसानको बाँकी भुक्तानी आगामी १५ दिनभित्र उपलब्ध गराइने बताए  । 

छलफलमा सहभागी सांसद, उखु कृषक, चिनी उद्योगीले कृषकको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, चिनी उद्योगी राजेश केडियालगायतले कृषकले ऋण गरेर उत्पादन गरेको उखु बिक्री नहुँदा समस्या परेको भन्दै लागतअनुसारको मूल्य र पाउनुपर्ने भुक्तानी उपलब्ध गराउन माग गरे  । 

संघीय संसद् तथा प्रदेश सभाका सांसदले कृषकले दुःख गरेर उत्पादन गरेको उखुको मूल्य हचुवाको भरमा तोक्ने गरिएकाले किसान सधैँ मर्कामा परेको भन्दै आयोग बनाएर भए पनि समस्या समाधान गरिनुपर्ने धारणा राखेका थिए  । 

सांसद हृदयश त्रिपाठी, अनिल झा, उमाकान्त चौधरी, भरत साह, रामेश्वर राय, अनिलकुमार झालगाउतले मुलुक चिनीमा आत्मनिर्भरतर्फ अघि बढेको सन्दर्भमा चिनी आयात बन्द गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए  । 

छलफलमा प्रधानमन्त्री ओली, अर्थमन्त्री डा खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र सम्बन्धित मन्त्रालयका सचिव उपस्थिति थियो  । 

महासंघको तथ्याङ्कअनुसार नेपालमा १२ वटा चिनी उद्योग सञ्चालनमा छन् ती उद्योगमा करीब रु तीन हजार करोड पुँजी लगानी भएको छ भने एक लाख उखु कृषक परिवार आबद्ध रहेका छन् । यस क्षेत्रमा करीब दुई लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । 

आव २०७४/०७५ मा एक लाख ७७ हजार ९२४ मेट्रिकटन चिनी उत्पादन भएको थियो । चालु आवमा करीब ४० प्रतिशत उखु उत्पादन वृद्धि भई अनुमानित दुई लाख ४० हजार मेट्रिकटन चिनी उत्पादन हुने जनाइएको छ । हरेक वर्ष चिनी उद्योगले उखु कृषकलाई करीब एक हजार करोड भुक्तानी गर्ने गरेको बताइन्छ । 
–––