🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्थानीय तह ठालुहरूको हैकम चल्ने निजी संस्था भो

(राजदरबारसंग निकट रहेर लामो समय प्रशासनमा काम गरेका पूर्व अतिरिक्त सचिव विहारीकृष्ण श्रेष्ठले नेपालमा उपभोक्ता समिति, आमा समूहजस्ता चर्चित अवधारणा कार्यान्वयनमा ल्याए । जो विश्वका लागि अनुकरणीय पनि बन्यो । खासमा मन्त्रीसंग उनको कहिल्यै तालमेल मिलेन सेवाकालमा । राजा वीरेन्द्रका भाषण लेख्ने श्रेष्ठलाई मन्त्रीले कारबाही पनि गर्न सक्दैन थिए । उनीसंग प्रधानमन्त्री पनि डराउँथे । यस्तै कारणले पनि होला श्रेष्ठले नेपालमा पहिलोपटक २०३९ सालमा विकेन्द्रीकरण ऐन ल्याएर कार्यान्वनमा लगे । यसमा प्रशासकको भूमिका जति हुनुपर्ने थियो त्यो भन्दा बढी भूमिका निर्वाह गरेर दरबारलाई मनाएर श्रेष्ठले ऐन ल्याउने वातावरण बनाएका थिए । तिनै श्रेष्ठसँग अहिलेको स्थानीय तहको भूमिकाबारे गरिएको कुराकानीको सम्पादित अंश–सम्पादक) 

० अहिले स्थानीय तहले काम नगरेको भनेर धेरैले गुनासो गर्ने गरेको देखिन्छ । स्थानीय तहले जनतालाई सेवाप्रवाह गर्ने कुरामा काम नगरेको उनीहरूका गुनासो हुने गरेको छ । तपाई पहिलोपटक नेपालमा विकेन्द्रीकरण लागू गराउने प्रशासक पनि हो । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–नेपालमा संघीयता किन र कसरी आयो भन्ने कुराको विश्लेषण गरेपछि स्थानीय तहले काम गरेको वा नगरेको भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ । स्थानीय तह पुनसंरचना हुँदादेखि नै मैले भन्ने आएको थिएँ कि स्थानीय तहले सेवा प्रवाह गतिलोसँग गर्न सक्दैन भनेर । यो एकप्रकारले तावाको माछा भुंग्रोमा परेको भनाईसंग मिल्दोजुल्दो छ । यो कुरा पहिला नै भनेको थिएँ अहिले पुष्टि हुन थालेको छ । अर्थात् स्थानीय तह अहिले जसरी पुनसंरचना गरिएको छ त्यो नै गलत थियो । त्यसको परिणाम अहिले देखिन थालेको हो । पुरानो कुरा गर्दा, नेपालमा वन उपभोक्ता समूह छ, यो पहिला अवधारणा ल्याएर कार्यान्वयनमा लैजाने मै हुँ । त्यो बेला पनि उपभोक्ता समूहमा को को आउँथे भन्ने कुरा नियाल्नुपर्छ । त्योभन्दा फरक कुरा गर्ने हो भने पनि पहिलेका गाविस, नगरपालिका वा जिविसमा को को जान्थ्यो ? भन्दा त्यहाँसम्म पुग्ने भनेका समाजको उच्च जाति र वर्ग नै पुग्ने हो । अर्थात् त्यो संस्थामा समाजका ठालुहरू नै पुग्ने हो । अनि त्यस्तै ठालुहरूले छानेका वा रोजेका मानिसहरू उपभोक्ता समूहमा पनि पुग्ने गरेका छन् । अनि ठालुहरूको काम भनेको जनताप्रति उत्तरदायी भएर काम गर्ने भन्दा आएको बजेटबाट आफ्नो निजी स्वार्थमा आर्थिक जोहो कसरी गर्ने भन्ने कुरा हो । त्यसैले नेपालमा विकास हुन नसकेको प्रमुख कारण स्थानीय तह भन्नुस् वा सरकारी निकायहरू ठालुहरूकै हैकम चल्ने निजी कम्पनीमा परिणत भएकाले हो । यो कुराको विश्लेषण गरेपछि मात्रै स्थानीय तहले काम गरेको वा नगरेको भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ । 

० तपाईको भनाईमा पहिला पनि स्थानीय निकायका प्रमुखहरूमा गाउँका ठालूहरू हुन्थे, अहिले पनि तिनै ठालुहरूले कब्जा गरेका छन् भन्ने हो ?

–हो, अहिले पनि गाउँका ठालूहरूकै हैकम छ, उनीहरूले नै कब्जा जमाएका छन । दलित, महिला, सीमान्तकृत समुदायबाट कति नै निर्वाचित भएर आएका छन् र ? जति निर्वाचित भएका छन् ती पनि सहायक भूमिकामा छन् । जति निर्वाचित छन् ती भनेका चतुर, धूर्त, चलाख बाहुन–क्षेत्री र नेवारहरू नै छन् । ती भनेका गाउँका ठालूहरू हुन् । उनीको स्वार्थ जनताप्रति उत्तरदायी हुने देखिन्न । अर्को कुरा पहिला ३९१५ वटा गाविस थिए । ती गाविसका अध्यक्षको भूमिका सानो संरचनाभित्र थियो । जनताप्रति उत्तरदायी बढी थियो । तर, अहिले ३÷४ वटा गाविस मिलाएर एउटा स्थानीय तह बनाइएको छ । गाउँपालिका वा नगरपालिको प्रमुख अहिले जनताबाट टाढा भएका छन् । पहिला जति नजिक थिए अहिले त्यति नै टाढा भएपछि उत्तरदायित्व र जिम्मेवारीपन पनि कम हुन्छ । त्यसको प्रभाव पनि देखिएको छ । जसले गर्दा जनताले सेवाप्रवाहमा ढिलासुस्ती र अनियमितता भोगिरहेका छन् । स्थानीय ठालुहरूमा एउटा कांग्रेस छ, अर्को नेकपाको ठालु छ । अर्को राप्रपाको होला । ठालुहरू पनि पार्टीमा ओत लागेका छन् । अनि हैकम चलाएर जनताको शोषण गरेर बजेटमा लुटतन्त्र मच्चाएका छन् । 

० दलीय संरचनाले ठालू प्रवृत्तिलाई कम गर्नुपर्ने होइन र ?

–मनमोहन अधिकारीले एउटा उपाय ल्याएका थिए प्रधानमन्त्री कालमा । अधिकारीले खासमा राम्रै उद्देश्यले ल्याएको हो जस्तो लाग्छ । अधिकारीले ल्याएको उपाय भनेको सर्वदलीय बैठक भन्ने थियो । गाउँको विकासमा सर्वदलीय बैठकले योजनाहरू पारित गरेर लागू भएमा विकास हुन्छ भन्ने अवधारणाले आएको जस्तो लाग्छ । तर, त्यो खासमा ठालुहरूको संगठित बैठकजस्तो भयो । अनि भ्रष्टाचार ब्यापक बढ्यो । मिलेर खाने प्रवृत्तिको विकास भयो । त्यसले गर्दा दलीय संरचनाले पनि गलत बाटो लिंदा के हुने रहेछ भन्ने देखिन्छ ।

० स्थानीय तहमा भद्रगोल प्रवृत्ति पहिलादेखि नै थियो अहिले त्यसैको निरन्तरता मात्रै हो  ? 

–त्यही हो । पहिला आमा समूह, वन उपभोक्ता समूह निकै बलिया थिए । उनीहरूले राम्रो काम गरेका पनि छन् । त्यसको कारण खोज्नुपर्छ किन राम्रो गरे भनेर ? त्यसरी हेर्ने हो भने वन उपभोक्त समूह र आमा समूहले आफ्नो आवश्यकता आफै पहिचान गर्थे, अनि आवश्यकता अनुसारको योजना बनाउथे र कार्यान्वयन र मूल्यांकन गर्थे । जसले गर्दा ती सफल थिए । अनि समानतामा आधारित पनि थिए । किनभने त्यो समूहभित्रको गरीबलाई सेवा प्रवाहमा पहिलो प्राथमिकतामा राख्थे । अर्थात् वन उपभोक्ता समूहले गरीबलाई बरु एकभारी दाउरा बढी दिन्थे । तर, ठालुहरूको संगठनले त्यो गर्दैैन । आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राख्ने अनि बाँडेर खाने प्रवृत्ति छ । त्यो प्रवृत्ति र प्रशिक्षणबा हुर्किएको मान्छेले अहिले स्थानीय तह हाँकिरहेको छ अनि कसरी विकास हुन्छ ।

० तपाईको तर्क स्थानीय तहमा जनताले आफै योजना निर्माणमा सहभागी हुने अवसर नपाउँदासम्म काम हुँदैन भन्ने हो ?

–वन उपभोक्ता समूह, आमा समूहमा स्थानीहरू आफैले नियम बनाउँछन् लागू गर्छन् । अर्थात् जनता आफै शासनमा सहभागी हुन्छन् । यो अवस्था स्थानीय तहमा लागू हुनुपर्छ । अहिले स्थानीय तहलाई दिएको २२ वटा अधिकार जनताको शासनमा सहभागिताका लागि हो भनेर तर्क आउन सक्छ । तर, जनताले निर्वाचित गर्ने हो शासनमा सहभागिता हुँदैन । शासन सञ्चालनमा त्यही ठालूहरूमात्र हुन्छन् । उनीहरूले बनाउने कानून र गर्ने शासनले जनतामा उत्तरदायित्व र जिम्मेवारी कम बोध गराउँछ । अहिले भएको त्यही हो । गाउँमा सिंहदरबार गयो भनियो तर, गाउँमा सिंहमात्रै गएको छ, दरबार त यतै छ । पहिलेका स्थानीय निकायको ५ खण्डका एक खण्ड बनायो । त्यसरी ५ खण्डबाट एक खण्ड बनाएपछि सेवा पनि एक खण्ड नै प्रवाह हुने भयो । उत्तरदायित्व पनि एक खण्ड नै हुने भयो । अनि गाउँमा सिंहदरबार कसरी पुग्यो भन्ने ?  त्यस कारण गाउँमा सिंह मात्रै पुगेको छ । सरकारी बजेट तिनीहरूकै आहारा बनेको छ ।  

० तपाईको स्थानीय तह पुनसंरचना नै गतिलो भएन भन्ने निष्कर्षमा हुनुहुन्छ कि क्या हो ?

–हो, विज्ञहरूको नामधारी व्यक्तिले समस्याको मुख्य कुरा पहिचान नगरी स्थानीय तह पुनसंरचना गरे । उनीहरूले पुनसरंचना गर्दा करलाई बढी ध्यान दिएको देखिन्छ । त्यो गलत थियो । धेरै गाविस र नगरपालिका गाभेपछि बढी कर संकलन हुन्छ र कर बढी उठेपछि स्थानीय तह सञ्चालन गर्न सजिलो हुन्छ भन्ने ठानेर उनीहरूले काम गरेको देखियो । स्थानीय तहको त्यो नै गलत अवधारणा थियो । विषयको जानकारी नभएका विज्ञहरू बनाएको भनेर पहिलादेखि नै भन्दै आएको छु । विनाशकाले विपरीत बुद्धि भन्ने उखान चरितार्थ गर्दैछन् स्थानीय तह अहिले । नामधारी विज्ञले बनाएको स्थानीय तह पुनसंरचना गर्दा विगतमा हामीले पनि ५० भन्दा बढी त विकेन्द्रीकरणको अनुभव गरेका थियौं  । पञ्चायतकालदेखि नै अपनाएको विकेन्द्रीकरणका समस्या के के थिए ? त्यसका सकारात्मक पक्ष के के थिए भन्नेसम्म पनि अध्ययन गरेनन् । पुरानालाई हेर्ने नै होइन भन्ने नाममा स्थानीय पुनसंरचना गरियो । जस्तो एउटा उदाहरण नै हेरौं । स्थानीय तहलाई दिएका २२ वटा अधिकार मध्ये एउटा अधिकार हो शिक्षासम्बन्धी । सिंहदरबारले शिक्षासम्बन्धी जे काम गरेको थियो त्यही काम स्थानीय तहमा हुने हो । त्यो स्थानीय तहमा शिक्षाको शाखा हेर्ने एउटा अधिकृतले हो । विचरा त्यो अधिकृतले नेपालको समग्रको नीतिको विषयमा के जान्दछ ? केन्द्रमा मन्त्री र सचिवले त शिक्षा प्रणाली र व्यवस्थाको ज्ञान राखेका छैनन् । कस्ता मन्त्रीहरू शिक्षामन्त्रालय सम्हाल्न आउँछन् र आएका छन् भन्ने हामीले अनुभूति गरेकै छांै । विषय विज्ञ नभई शिक्षाको शाखा सञ्चालन गर्न सकिदैन । अब मन्त्रालयमा नभएको विज्ञता हासिल गरेर त्यो शाखा अधिकृतले कसरी शिक्षा नीति बनाउँछ स्थानीय तहमा ? त्यो त गम्भीर समस्या भएन र ? यो संभव नै नहुने गरी संरचना बनाएर संरचनागत त्रुटि गरियो भन्ने मेरो बुझाई हो ।

०  केन्द्रीय सरकारको कुरा गरौं । अहिले सरकार र प्रशासनको तालमेल मिलेको देखिदैन । सरकारलाई प्रशासनले किन असहयोग गरिरहेको होला ? 

–राजनीतिक व्यक्ति र प्रशासनबीच अहिलेमात्र होइन पहिला पनि यस्तै समस्या हुन्थ्यो । प्रशासनले आपूmलाई स्थायी सरकार मानेर जनताप्रति उत्तरदायी रहेको र आफ्नो विज्ञताको जनताको सेवा र देशको विकासमा लगाउनुपर्छ भन्ने ठान्यो भने सहज हुन्छ । त्यो भावना त मन्त्रीमा हुनुपर्छ । यस्तो भयो भने द्वन्द्व कम हुन्छ । पहिला त हामी प्रशासकहरू मन्त्रीले ल्याएको काम कसरी असफल पार्ने भन्नेमै केन्द्रित हुन्थ्यौं । अहिले पनि त्यस्तै त होला नि । आखिरमा मन्त्रीहरू पनि अर्का ठालु न हुन् । उनीहरू पनि स्वार्थ बोकेर आएका हुन्छन् । निर्वाचनमा गरेको खर्च उठाउन हरप्रकारका प्रयास गरेका हुन्छन् । पहिला नारायणहिटीमा अर्को ठालु थियो र मन्त्रीहरू पनि डराउँथे अहिले त त्यो पनि छैन । अहिले सबै ठालु भएर नै भ्रष्टाचार बढेको त हो । 

० त्यसो भए केपी ओली नेतृत्वको सरकारसँग पनि धेरै आशावादी हुनुहुन्न तपाई ? 

–केपी ओलीसँग आवश्यकताभन्दा बढी अपेक्षा गरेको देखियो । त्यो गलत हो । ओली काकतालीले २०७२ पछि चर्चामा आए । जब भारतले नाकाबन्दी लगायो । त्यसको विपक्षमा उभिंदा ओली राष्ट्रवादी नेताका रुपमा दरिए अनि उनीप्रति बढी अपेक्षा भए मानिसका । उनी साधरण व्यक्ति हुन् । उनीसँग भिजन छैन । टीम छैन । भारतको नाकाबन्दीको विपक्षमा उभिएका कारणले दुईतिहाईको मत ल्याएका हुन् । यो त एउटा चिठ्ठा न हो । यसलाई उपयोग कसरी गर्ने भन्ने उनको हातमा छ । पीएम ओलीमा हिरो भएपछि जे गरेपनि हुन्छ भन्ने जस्तो भावना देखिन्छ ।  काम गराई पनि त्यस्तै छ । त्यसले त उनकै पार्टी र उनैलाई घाटा लाग्ने हो । 

० अब दुईतिहाई सांसदको सरकारको नेतृत्व गर्ने ओलीसँग पनि आशावादी  नहुने हो भने के हुन्छ त ? 

–‘समृद्धि समृद्धि’ भनेर बोलेर मात्र हुँदैन । अहिले समृद्धि चाहिएको पनि होइन । प्रदेश–२ का सांसदले जे गरे पनि हुने ? उनीले स्वाधीन प्रदेश भनेर घोषणा गर्न मात्रै बाँकी छ अरु सब गरिसके । सरकारले तिनलाई नियन्त्रण गर्नु पर्दैन ? सार्वभौम मुलुकभित्र यसरी जे पनि गर्न पाइन्छ ? अधिकारको सीमा हँुदैन ?  खै त प्रधानमन्त्री ओलीले काम गरेको ? देश नै रहेन भने के को समृद्धि ? त्यसकारणले सबैभन्दा पहिला ओलीले संविधान संशोधन गर्नुपर्छ । संविधान संशोधनका छलफल आव्हान गर्नुपर्छ । संशोधन गर्ने भनेका संविधानसभाका बेलामा जनमत जे आएको छ त्यसै अनुससार हुनुपर्छ । संविधानसभाले संविधानको मस्यौदामाथि जनमत लिंदा जनताले हिन्दू धर्मको पक्षमा र संघीयताको विपक्षमा मत दिएका थिए । त्यसको विपरीत हतारहतार संविधान पारित गरियो त्यतिबेला । अब ओलीले त्यसलाई सच्याउनुपर्छ । संविधान संशोधन गरेर संघीयताबा फिर्ता भई हिन्दू राज्य कायम गर्नुपर्छ । त्यसपछि अरु काम गरे हुन्छ । संविधान कार्यान्वयनको ३ बर्ष मै ठूलो समस्या आइसकेपछि यो शासन व्यवस्थाले काम गर्दैन भन्ने पुष्टि भयो । शासन प्रणाली नै गलत भएपछि त्यसको परिणाम पनि गलत हुन्छ । अहिले भएको त्यही हो । प्रधानमन्त्री केपी ओलीले अहिले गर्नुपर्ने सबैभन्दा ठूलो कुरा भनेको नै संगठनात्मक सुधार हो ।