काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले गत चैत ७ गते दशैंअघि नै मेलम्चीको पानी काठमाडौं उपत्यकाका घर–घरमा वितरण हुने बताएकी थिइन् । उनले काठमाडौंवासीलाई विश्वस्त बनाउँदै उतिबेला घोषणा गरेकी थिइन्– ''अबको २५ दिनमा मेलम्चीको पानी सुन्दरीजलमा खस्छ, दशैंअघि उपत्यकाका उपभोक्ताको धारामा ।''
दशैं आइपुग्यो, तर काठमाडौंबासीको तिर्खा दशैंअघि मेलम्चीको पानीले मेटाउने मन्त्रीको वाचा पूरा भएन, अधुरै रह्यो । बरु पानी आउने भाका थप दुई महिना सारिएको छ । आखिर मन्त्रीले गरेको मेलम्चीको पानी दशैंअघि नै आउने वाचा किन पूरा भएन ? आश्वासन अनुसार किन उपत्यकाबासीको धारामा पानी खसेन ?
स्रोतका अनुसार, मेलम्चीको पानीबारे मन्त्रीले दिएको आश्वासन पूरा नहुनुमा यतिबेला अरुभन्दा पनि मन्त्री विनामगर स्वयं बढी बढी जिम्मेवार छिन् । मेलम्ची खानेपानी कहिलेसम्म आइपुग्छ भन्ने पाटो प्राविधिक भएकाले यो उनीहरुसँग सम्बन्धित विषय हो । प्राविधिक विषय भएकाले विषयविज्ञसँगको सल्लाहमा मात्रै मन्त्रीले यसबारे अभिव्यक्ति दिन सक्थिन् । तर, नेकपाका अध्यक्ष प्रचण्डको बुहारीसमेत रहेकी मन्त्री मगरले मेलम्चीलाई नजिकबाट नियालेका विज्ञहरुसँग खासै सल्लाह गर्ने गरेकी छैनन् ।
आफ्ना सचिवालयमा रहेका प्रविविधबारे ज्ञान नभएकाहरुसँग उनी बढी भर पर्ने गरेको मन्त्रालय स्रोत बताउँछ । त्यही सचिवालयका सदस्यको भर परेर मन्त्रीले पछिल्लो समय दशैंअघि नै मेलम्ची काठमाडौं आइपुग्ने घोषणा गरेको मन्त्रालयका एक उपसचिवले बताए । ती उपसचिवका अनुसार, सचिवालयमा रहेका सदस्यले प्राविधिकविनै गरेको अनुगमनपछि दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्न सम्भव रहेको हावादारी ब्रिफिङ मन्त्रीलाई गरेका थिए । त्यही ब्रिफिङमा भर परेर मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्ने वाचा गर्दा उनी बेस्सरी चुकेको चर्चा मन्त्रालयतिर चल्न थालेको छ ।
मेलम्ची दशैंअघि ल्याउने वाचा पूरा गर्न नसकेकी मन्त्री विनाको कार्यसम्पादन समेत कमजोर हुने गरेको गुनासो बढ्न थालेको छ । मन्त्रालय स्रोतका अनुसार, खानेपानी मन्त्रालय प्राविधिक मन्त्रालय भए पनि उनले अहिलेसम्म यसलाई ठम्याउन सकेकी छैनन् ।
प्राविधिकहरुसँगको सल्लाहमा अघि बढ्नु हितकर हुने भए पनि उनी आफ्नै सचिवालयका सदस्यसँग भर परेर मन्त्रालयलाई गति दिन चुकेको आरोप उनीमाथि सघन रुपमा पर्न थालेको छ । सतही र हावादारी कुरा गर्ने भएकाले उनलाई मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकमा समेत केटाकेटी मन्त्रीको संज्ञा दिन थालिएको छ ।



