काठमाडौं । समयमै बेरूजु फस्र्यौट र संपरिक्षण नहुँदा सरकारी खर्चमा अनियमितता र वित्तीय अनुशासन पालन हुन सकिरहेको छैन । बेरूजु हुन नदिन, बजेट र स्वीकृत कार्यक्रम भन्दा बाहिर खर्च नगर्न लेखा अधिकृत र कार्यालय प्रमुखलाई उत्तरदायी र जिम्मेवार बनाउन महालेखापरीक्षकको कार्यालयले खवरदारी गर्दैै आएको छ ।
बेरूजु राख्ने कार्यालय प्रमुख र लेखा प्रमुखको बेरूजु फस्यौट नहुन्जेलसम्म बढुवा रोक्का, जिम्मेवारी नदिने गरी संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन र नियमावली बनाउन सकिएमा आर्थिक ऐन, कानुन र बजेट तथा योजना कार्यक्रमबाहेकबाट गरिने सरकारी खर्च कम हुने अपेक्षा गरिएको छ । जसका कारण अनियमितता केही हदसम्म रोकिने र बेरूजु नियन्त्रण हुने समाचारस्रोतले बताएको छ ।
२०८० जेठ ७ गते टंकमणि शर्मा अवकास भए । त्यसपछि रिक्त रहेको छ । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारले महालेखापरीक्षक नियुक्त गर्न सकिरहेको छैन । महालेखापरीक्षक नियुक्त नहुँदा महालेखापरीक्षक कार्यालयले २०७९ असार १७ गते पछाडि रोकिएको बेरूजु फस्र्याैट तथा सम्परीक्षण गर्न सकिरहेको छैन । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अघिल्लो साता २०८० माघ १२ गते शुक्रवार अनिवार्य अवकासमा गएका छन् ।
उनले अवकाशमा जानु अघि माघ ११ गते रोकिएको बेरुजु फस्र्यौट तथा सम्परीक्षण कार्य सुचारु गर्न ६ बुँदे निर्देशनसमेत दिएका थिए । उनले जारी गरेको निर्देशनमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३९, ४० बमोजिम नियमित असुल उपर तथा पेश्की फस्र्याैट भएको रकमको केन्द्रीय अभिलेख मन्त्रालय÷आयोग÷सचिवालयले अनुरोध गरेमा गर्न भनेका छन् ।
केन्द्रीय निकायको चालु वर्षको लेखा परीक्षणको क्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ३८ बमोजिम विगत वर्षहरूको बेरुजु फस्र्यौट अभिलेख, स्रेस्ता, कागजात, प्रमाण परीक्षण गर्ने गराउने व्यवस्थाका लागि सबै लेखा उत्तरदायी अधिकृतहरूलाई अनुरोध गरेका छन् ।
उक्त निर्देशनबाट २०७९ असार महिनादेखि रोकिएको संघीय सरकारको बेरुजु फस्र्यौट तथा सम्परीक्षण कार्य गरी वित्तीय अनुशासन कायम गर्न सघाउ पुग्ने विश्वास गरिएको छ । २०८० साउनदेखि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पाएका काफ्लेले आर्थिक अनुशासन कायम गर्न गराउन सुरुवातदेखि नै सरोकारवालाहरूसँग पहलको शुरुवातसमेत गरेका थिए । यसको लागि तत्काल सुधार योजना कार्यान्वयन, लेखापरीक्षकको व्यवहार, आचरण र कार्यशैलीमा परिवर्तन गर्दै अनुभूत हुनेगरी सुधार कार्यलाई जोड दिँदै आएका थिए ।
उनले २०८० असोज १५ गतेदेखि नै लेखा उत्तरदायी अधिकृतलाई बेरुजुको लगत अद्यावधिक गर्न निर्देशन दिएको बताइन्छ । २०८० पुस १२ गते बेरुजु फस्र्यौट तथा फरफारक गर्न निर्देशन जारी गरेका थिए । यही योजनालाई निरन्तरता दिँदै २०८० माघ ११ गते बेरुजु फस्र्याैट तथा सम्परीक्षण कार्य खुलाई वित्तीय अनुशासन कायम गर्न लेखा उत्तरदायी अधिकृतहरूलाई ६ बुँदे निर्देशन जारी गरेको स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८० माघ १५)



