काठमाडाैं । सत्तामा फर्किन नेपाली कांग्रेसले माओवादी केन्द्र र एमालेसँग दोहोरो संवाद सुरु गरेको खबर छ । एमाले र कांग्रेस मिलेर सरकार बनाउने लाइनको एउटा समूह र एमालेलाई बाहिर राख्नुपर्ने मत राख्ने अर्को समूहले दुवै समूहले त्यसै अनुसार छलफल गरिरहेको स्रोतहरुले उल्लेख गरेका छन् ।
स्रोतहरुका अनुसार ती दुवै समूहको लाइन भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी भइरहेको छ । तर, देउवालाई प्रधानमन्त्री बनाउन एमाले र माओवादी दुवै पार्टी सहमत भएका छैनन् ।
प्रचण्डलाई सरकार छोड्ने मन नभएको अवस्थामा देउवालाई सहमति दिन तयार नहुने आंकलन भइरहेको छ । अझ कतिपयले चाहिँ कांग्रेसको सट्टा माधव नेपालका लागि प्रचण्डले छोड्न सक्ने पनि बताइन्छ । तर, एमालेले भने प्रधानमन्त्री प्रचण्डलाई ५ बर्ष नै सत्ता चलाउन दिने गरी छलफल गरेको छ ।
प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन राजी रहेको सन्देश दिइरहेको छ । सोहीकारण एमाले अहिलेको गठबन्धन टिकाउन खोजिरहेको छ । तर, बजेट पास पछि अहिलेकाे गठबन्धन भत्काउने गरि कांग्रेसले विभिन्न काेणबाट प्रयास गरेपछि भने आशंका पैदा भएको स्रोतहरुले उल्लेख गरेका छन् ।
यद्यपि, तत्काल नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीवीच अविश्वास बढ्ने र गठबन्धन टुट्ने संभावना भने कम रहेको बताइन्छ । निर्वाचन आयोगको आयुक्त नियुक्तिको सिफारिश, राजदूत नियुक्तिका सिफारिशका लागि सहमति भएको घटनाले ओली र प्रचण्ड तत्काल गठबन्धन भत्काउने अवस्थामा नभएको एमाले र माओवादी नेताहरु बताउँछन् । तर, अध्यक्ष ओलीले ससाना कुरामा पनि प्रचण्डमाथि शासन गर्न खोजेको र साना नियुक्तिमा पनि भाग खोज्ने गरेका कारणले समस्या आएको प्रचण्डनिकटका नेताहरुले बताउने गरेका छन् ।
त्यही समस्याका कारणले पनि अहिले कतिपय निर्णयमा अप्ठ्यारो पारेको माओवादी नेताहरु बताउँछन् । तर, यही कारणले एमालेकाे तर्फबाट गठबन्धन भत्किने अवस्था भने नभएको एमाले नेताहरुले बताउने गरेका छन् ।
एमाले स्रोतले बजेट र केही राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीको असहमति हो तर गठबन्धन भत्काउने गरी नै सक्रिय नभएको दावी छ ।
माओवादी-एमाले गठबन्धन नभत्किने अवस्थामा माधव नेपालकाे एस वा रास्वपालाई साथमा लिएर गैर वाम सरकार निर्माण गर्ने गरी राजनीतिक चलखेल पनि भइरहेकाे स्राेत बताउछ ।
एमाले अध्यक्ष केपी ओली र प्रचण्डलाई बाहिर पारेर लगभग १५० सांसदकाे समर्थनमा गैर वाम सरकार निर्माण गर्ने काेसिस पनि भइरहेकाे स्राेत बताउछ ।



