🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पासा पल्टियो, ओलीलाई संकटमाथि संकट : प्रधानमन्त्री रोज्ने कि पार्टी अध्यक्ष ? 

काठमाडौं । एमालेको पार्टी अध्यक्ष बने यता, नेकपा एकीकरणपछि संयुक्त अध्यक्ष बने यता आजभोलि प्रधानमन्त्री केपी ओलीले सर्वाधिक ठूलो संकट सामना गरिरहेका छन् । संकटको आयाम विस्तारित हुँदै जाने क्रममा ओलीमाथि पछिल्लो संकट वामदेव गौतमको अगुवाईमा आइलागेको हो । वामदेवले २०७५ मंसिर २९ गते पार्टी स्थायी समिति बैठकमा फरक मत राखेर पार्टी अध्यक्ष ओलीलाई औपचारिकरुपमा चुनौती दिएका हुन् । वामदेवको फरक मतले भन्छ–‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुस् ।’

सरकारविरुद्ध जनअसन्तुष्टि र पार्टीभित्र असन्तुष्टि चुलिँदै जाने क्रममा वामदेवको पछिल्लो विद्रोह भएको हो । यस अघि पनि माधवकुमार नेपाल र झलनाथ खनालले ओलीलाई चुनौती दिइसकेका थिए तर उनीहरूको चुनौती औपचारिकरुपमा फरक मत बनेर आएको थिएन । अहिले वामदेवको अगुवाईमा फरक मत नै दर्ता भएको हो । यो फरक मतसँगै वामदेव र केपी ओलीको लामो समयदेखिको गुटगत सहकार्य औपचारिकरुपमा तोडिएको छ । जानकारहरूका अनुसार रामवीर मानन्धरलाई सांसद पदबाट राजीनामा दिन रोकेपछि नै ओली गौतम सहकार्य तोडिएको हो । तर, सहकार्य तोडिएको औपचारिकरुपमा देखिएको थिएन, फरक मतले ओली र गौतमलाई नदीको दुई किनारा जस्तो बनाइदिएको छ । 

केपी ओलीलाई एमालेको अध्यक्ष बनाउन सर्वाधिक महत्वपूर्ण भूमिका वामदेवको थियो भन्ने जगजाहेर छ । नाकावन्दीकालमा पनि ओलीको रक्षाकवच वामदेव नै थिए । संसीदलको नेता बनाउन, पार्टी एकीकरण गराउन र ओलीलाई प्रधानमन्त्री बनाउन वामदेवकै निर्णायक भूमिका थियो । अहिले उनै वामदेवविरुद्धमा उभिएका छन् केपी ओलीको । वामदेवको विद्रोहसँगै ओली संकटमा परेका छन् ।

वामदेवको पृष्ठभूमिका माधव नेपाल र झलनाथ खनाल पनि गाँसिएको मानिन्छ । त्यसकारण ओलीको संकटको आयाम ठूलो भएको हो । संकट बढ्नुको अर्काे कारण हो– ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका त छन् तर ढाल बनेर भने उभिएका छैनन् । यो कारण नेकपाभित्रको विवाद रोचक बन्न पुगेको छ । जानकारहरू भन्छन्– माधव र झलनाथको साथ वामदेवलाई जसरी छ, त्यसरी नै प्रचण्डको पनि साथ हुने हो भने राजनीति नयाँ मोडमा पुग्नसक्छ । अध्यक्ष केपीको मन्त्रिपरिषद्  कुनै पनि बेला ढल्न सक्छ ।  

स्थायी समितिमा वामदेवको फरक मत दर्ज भइसकेको छ । उनको फरक मतप्रति प्रचण्डको धारणा प्रष्ट हुन सकेको छैन । तर, स्रोतहरूका अनुसार, वामदेवको फरक मतका विभिन्न विषयलाई मूल प्रतिवेदन समावेस गराउन प्रचण्डले प्रयास गरेका थिए । उनले ओली पनि नरिसाउने र वामदेव पनि नटाढिने फर्मूला अपनाएको बुझिन्छ । तर, ओलीले वामदेवका प्रस्ताव इन्कार गरे ।

वामदेवले ओलीलाई अध्यक्षबाट हटाएर प्रचण्डलाई एकल अध्यक्ष बनाउनुपर्ने ढंगबाट फरक मतमा माग राखेका छन् । प्रचण्ड पनि एकल अध्यक्ष बन्न चाहन्छन् भन्ने जगजाहेर छ । तर, ओलीलाई विच्क्याएर प्रचण्ड कुन हदसम्म अघि बढ्छन्, एकल अध्यक्ष बन्ने आँट गर्छन् कि गर्दैनन् भन्ने प्रष्ट भइसकेको छैन । नेकपाका कतिपय नेताहरूका अनुसार स्थायी समितिमा पेस भएको वामदेवको फरक मतमा सामान्य छलफल भएपनि त्यसलाई पेण्डिङमा राखिन सक्छ । पेण्डिङमा राख्नुको अर्थ विवाद जहाँकोतहिँ हुनु हो, विवादको निरुपण नहुनु हो । 

वामदेवको फरक मतले नेकपाभित्र तीव्र ध्रुवीकरणको अवस्था सिर्जना गरिदिएको छ । प्रचण्ड तटस्थ बसे झैं गरे पनि वामदेव, माधव र झलनाथ स्वत एक ठाउँमा आएको अर्थमा अहिलेको प्रकरणलाई लिइएको छ । तीनैजना मुख्य नेता एक ठाउँ आउनुको अर्थ ओलीमाथिको संकट र प्रचण्डमाथिको निर्भरता झन बढ्नु हो । किनभने पार्टीको स्थायी समितिमा अध्यक्ष ओलीको साथमा बहुमत पुग्दैन भने संसदीय दलको बहुमत पनि डगमगाउन सक्छ । बहुमत पु¥याएर टिकिरहन ओलीले प्रचण्डमाथिको निर्भरता झनझन बढाउनुपर्ने हुन्छ । यो अवस्थाको फाइदा प्रचण्डले कसरी उठाउँछन् भन्ने स्पष्ट भइसकेको छैन । 

नेकपाको चालु स्थायी समितिको वैठकले अन्तिममा निर्णय के लिन्छ अनिश्चित छ तर अहिले नै अध्यक्ष ओलीको सत्ता संकट निर्णायक बन्छ या वारपार हुन्छ भन्ने मान्न नेकपाका नेताहरू तयार छैनन् । उनीहरूका अनुसार विवादको खेल सुरु भएको छ, अब धेरै नाटकीय परिघटना हुँदै जानेछन् । पार्टीभित्र देखिएको यो विवादले ओली सरकारको निर्णय क्षमतामा असर पर्ने देखिएको छ ।

यसबीच प्रधानमन्त्री  तथा नेकपाका अध्यक्ष ओलीले आफ्नो स्वभाव अनुसार नै प्रतिक्रियात्मक टिप्पणी गरेका छन् । उनले उत्कृष्ट तरिकाले पार्टी र सरकार चलेको दावी गर्दै प्रचण्डको प्रशंसा समेत गरेका छन् । प्रचण्डको साथ लिनैपर्ने बाध्यतामा ओली छन् । रामवीर प्रकरणपछि रक्षात्मक बनेका प्रचण्डले ओलीको साथ खोज्दै प्रशंसा खोजेका थिए । अहिले परिस्थिति उल्टिएको छ । नेकपा स्थायी समितिको बैठक केही दिन लम्बिने अपेक्षा गरिएको छ ।(साँघु साप्ताहिक पुस २)