काठमाडौं । प्रधानमन्त्री खड्ग ओली र बिमिस्टेकको शिखर सम्मेलनमा भाग लिन भनेर काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौ १५ गते र पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन पनि गरेका थिए । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहने यो धर्मशालाले पशुपति दर्शनमा आउने स्वदेशी तथा भारतीयलगायतका विदेशी दर्शनार्थीहरूलाई काठमाडौंको बसाई सहज होस् भनेर भारत सरकारले यो सुविधा सम्पन्न धर्मशाला निर्माण गरिदिएको हो ।
तर, धर्मशाला तयार भएर उद्घाटन भएको चार महिना बितिसक्दा पनि पशुपति क्षेत्र विकास कोषले अहिलेसम्म यो धर्मशाला संचालनमा नल्याएकोमा आश्चर्य प्रकट गरिएको छ । ६ वटा स्वीटसहित चार सय बेड रहेको यो धर्मशाला सञ्चालमा आए गौशाला क्षेत्रका होटल तथा लज सुक्ने निश्चित छ ।
यो धर्मशालामा सुविधासम्पन्न कोठाहरू सस्तो दरमा पाउने भएपछि पशुपति दर्शन गर्न आउने दर्शनार्थीको पहिलो रोजाई यो धर्मशाला हुने निश्चित छ । यो धर्मशाला सञ्चालन गर्न दुईवटा मध्ये एउटा प्रक्रिया अपनाउनुपर्ने हुन्छ । धर्मशालालाई पशुपति विकास कोष आफैंले सञ्चालन गर्ने कि बढाबढको टेण्डर गरेर निजी क्षेत्रलाई संचालन गर्न दिने सम्बन्धमा निर्णय नगरेकै कारणले गर्दा यो धर्मशाला सञ्चालनमा नआएको बताइन्छ ।
पशुपति विकास कोषका पदाधिकारीहरूले गौशाला क्षेत्रका होटल तथा लजबाट अनुचित आम्दानी लिने गरेका कारणले गर्दा नै होटल र लजका मालिकसँगको विकास कोषका पदाधिकारीहरूको स्वार्थ समेत जोडिन पुगेकाले यो आधुनिक सुविधासम्पन्न धर्मशाला सञ्चालन गर्न सकेसम्म ढिलो गर्ने परिपञ्च भईराखेको आरोप छ । यही परिपञ्च अनुसार नै सम्पूर्णरुपले तयार भएर पनि यो धर्मशाला सञ्चालनमा नआएको स्रँेत बताउछ ।



