चितवन, १० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताएका छन ।
भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताए ।
चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उनले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको बताए । गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।
दाहालले भने, “देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उनले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताए ।
उनले चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिने बताए । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताए।
चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उनले भने, “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।” रासस



