सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्ला, सल्लेरी गाउँ विकास समिति–२, फाप्लुमा सन् १९२४ मा जन्मनुभएका स्वर्गीय छिरिङ तेन्जिङ लामा नेपाली राजनीतिक, सामाजिक र प्रशासनिक इतिहासका महत्वपूर्ण व्यक्तित्वमध्ये एक हुनुहुन्छ । उहाँ स्व. दावातेन्जिङ लामा र धर्मपत्नी स्व. छम्जी शेर्पा लामाका सुपुत्र हुनुहुन्थ्यो । उहाँका बाजे स्व. सांगे (पेम्बा) लामा त्यतिबेलाका गन्य–मान्य व्यक्तित्व मानिनुहुन्थ्यो, जसको प्रभाव र व्यक्तित्वलाई सम्मान गर्दै तत्कालीन श्री ३ चन्द्र शम्शेर राणाले मित लगाउनुभएको थियो ।
त्यस समय सोलुमा विद्यालय नहुँदा उहाँका पिताले ओखलढुङ्गाबाट शिक्षक झिकाई घरमै शिक्षा दिनुभयो । गुम्बा–शिक्षा भने बाजेले सन् १९२३ मा स्थापना गर्नुभएको चिवाड गुम्बामार्फत प्राप्त गर्नुभयो । यसरी धार्मिक तथा लौकिक दुवै शिक्षा पाएर उहा“ बहुआयामिक प्रतिभाका धनी बने ।
क्रान्तिको बाटोमा
सन् १९४० को दशकमा काठमाडौं बसाइँका क्रममा उहाँ नेपाल प्रजापरिषदको गतिविधिबाट प्रभावित हुनुभयो। त्यसपछि २००७ सालको सशस्त्र जनक्रान्तिमा सक्रिय रूपमा सहभागी भई भोजपुरका नारदमुनि थुलुङ, क्याप्टेन रामप्रसाद राई र ओखलढुङ्गाका मुगाधन राईसँगै आन्दोलनमा होमिनुभयो ।२००७ साल पुस ३० गते ओखलढुङ्गा सदरमुकाम कब्जा भएपछि गठित सामायिक सरकारमा गृह तथा न्याय विभागका सल्लाहकार सदस्यको रूपमा उहाँले सेवा गर्नुभयो। यसले उहाँलाई क्रान्तिकारी भूमिकाबाट औपचारिक नेतृत्वतर्फ प्रवेश गरायो ।
राष्ट्रिय राजनीति र प्रशासनिक यात्रा
राजा त्रिभुवनले १९५४–१९५७ सम्म केन्द्रीय सल्लाहकार समितिको सदस्यमा नियुक्त गर्नुभयो । त्यसपछि राजा महेन्द्रबाट १९५७ मा कार्य सिघ्रकारक समितिमा नियुक्त हुनुभयो । १९५८ मा उहाँलाई महासभाको सदस्यमा राजाबाट मनोनित गरियो ।
उहाँको प्रशासनिक यात्रामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो ः
पश्चिम नं. २ गोर्खाको बडाहाकीम (१९५८)
रामेछाप बडाहाकीम तथा जनकपुर अञ्चलाधीश (१९६३)
विशेष प्रहरी विभागको कायम मुकायम प्रमुख (१९६७)
लुम्बिनी विकास कोषको योजना प्रमुख (१९७०)
जनकपुर अञ्चलाधीश (१९७२)
सन् १९७९ मा उहाँ राष्ट्रिय जनमत संग्रह आयोगका सदस्य हुनुहुन्थ्यो । १९८१ मा सोलुखुम्बु जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भई प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषदमा गृहसहायक मन्त्री बन्नुभयो ।
योगदान र सम्मान
उहाँले जीवनभर देशका लागि पु¥याउनुभएको योगदानलाई राज्यले उच्च सम्मानका साथ कदर ग¥यो । उहाँलाई गोर्खा दक्षिणबाहु, उज्ज्वल कीर्तिमय नेपाल श्रीपद, सुविख्यात त्रिशक्तिपट्ट, जनमत संग्रह पदक, शुभराज्याभिषेक पदक र श्री ५ गद्दी आरोहण रजत महोत्सव पदकजस्ता विभूषणले विभूषित गरिएको थियो ।
सामाजिक र सांस्कृतिक योगदान
राजनीति मात्र होइन, समाज, शिक्षा र संस्कृति क्षेत्रका लागि पनि उहाँ अग्रणी रहनुभयो ।
सन् १९५७ मा पर्वतीय पर्यटनको विकासका लागि Himalayan society स्थापना गर्नुभयो ।
सोलुखुम्बुमा शिक्षा प्रसारका लागि सल्लेरीमा जनजागृति मिडिल स्कुल स्थापना गरी विद्यालयका लागि जग्गा दान गर्नुभयो ।
२०५९ सालमा पारिवारिक चिवाङ गुम्बालाई सार्वजनिक धरोहरमा परिणत गर्दै चिवाङ गुम्बा साङ्गे गुठी स्थापना गर्नुभयो ।
विभिन्न संघ–संस्था, धर्मोदय सभा, आदिवासी जनजाति अभियान आदिमा सक्रिय योगदान दिनुभयो ।
३१औं अवतार धर्मगुरु क्याब्जे ठुल्शिक रिन्पोछेप्रति उहाँको विशेष आस्था थियो । बहुदलीय प्रजातन्त्र पुनःस्थापना (१९९०) पछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहनुभयो र जीवनको अन्तिम क्षणसम्म सक्रिय रहनुभयो । सन् २००५ मा उहाँको निधन भयो ।
पारिवारिक पृष्ठभूमि
पहिली धर्मपत्नी स्व. आडल्हेमी शेर्पा लामाबाट पुत्री कामीडोमा लामा शेर्पा हुनुहुन्छ । दोस्री धर्मपत्नी स्व. दावाडोमा शेर्पा लामाबाट तीन छोरा– ल्हाक्पा ग्याल्जेन लामा, नुरी लामा, जाम्लिङ लामा–र दुई छोरी–पसाङ ल्हमु लामा शेर्पा र शान्ती लामा हुनुहुन्छ ।
कामीडोमाको विवाह नाम्चे निवासी पेमा चेवाङ शेर्पासँग भएको हो । तिनका सन्तानमा आँङ माया शेर्पा, पसाङ फुती शेर्पा, आँङ टासी शेर्पा, आँङ छुटिन शेर्पा, टासी छम्जी शेर्पा र छोरा लामा काजी शेर्पा रहेका छन् । छोरा लामा काजी शेर्पा होटेल व्यवसायसँगै सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष हुनुहुन्छ ।
सेनाका चिफ इन्स्ट्रक्टर– स्वर्गीय छोतारे शेर्पा
खुम्बु पासाङल्हामु गाउँपालिका, नाम्चेबजार निवासी कुसाङ दोर्जे शेर्पाका छोरा स्व. छोतारे शेर्पा नेपाली सेनामा २२ वर्ष सेवा गरेर Mountain warfare traning school केसाङ (मुस्ताङ) का चिफ इन्स्ट्रक्टर पदमा पुग्नुभएको थियो ।
उहाँको योगदानले हजारौँ नेपाली सैनिकले पर्वतारोहण तालिम लिन पाए । उहाँकै पहलले नेपाली सेनाले २०४५ सालमा त्रिदेशीय (चीन, जापान, नेपाल) सगरमाथा आरोहणमा भाग लिन पायो। त्यस अभियानमा जमदार पदमबहादुर तामाङले सेनाको झण्डा पहिलो पटक सगरमाथाको शिखरमा गाड्नुभयो ।
२०४७ सालमा सेनाले आयोजना गरेको एकल आरोहण अभियानमा समेत उहाँको प्रत्यक्ष योगदान थियो, जसको नेतृत्व कर्नेल चित्रबहादुर गुरुङले गर्नुभयो। सो अभियानमा जमदार टोपबहादुर खत्री, सह–चिफ इन्स्ट्रक्टर आङकामी शेर्पा र पासाङ नोर्बुले सफल आरोहण गरे ।
उहाँलाई गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्टलगायतका विभूषणले सम्मानित गरिएको थियो ।
पारिवारिक विवरण
उहाँकी धर्मपत्नी आङ लाकु शेर्पा हाल करिब ९० वर्षकी हुनुहुन्छ । सन्तानमा छोरीहरू फुरा ल्हामु शेर्पा, निमा कान्छी शेर्पा तथा छोराहरू सार्की लामा शेर्पा, पेम्बा छिरिङ शेर्पा र आङ दावा शेर्पा रहेका छन् ।
(साँघु साप्ताहिक, २०८२ असाेज ६ गते)




