महात्मा बुद्धका एकजना शिष्यले एक दिन उनको सम्मुख गएर भने–आज मैले एकजना भिखारीलाई बोलाएर लामो समयसम्म धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ, तर त्यो मूर्खले मेरो कुरामा ध्यान नै दिएन । शिष्यका कुरा सुनेपछि बुद्धले उसलाई त्यो भिखारीलाई तुरुन्त खोजेर ल्याऊ भने । जव भिखारी दीनहीन अवस्थामा आयो तव बुद्धले उसलाई भरपेट टन्न खाना खुवाएर प्रेमपूर्वक बिदा गरे । बुद्धले त्यो भिखारीलाई अरु केही कुरा भनेनन् ।
उनको यस्तो व्यवहार देखेर त्यो शिष्यले आश्चर्यचकित हुँदै भन्यो– तपाईंले उसलाई विना कुनै उपदेश खाना खुवाएर बिदा गर्नुभयो ? बुद्धले शिष्यको प्रश्नको जवाफमा विस्तारै भन्नुभयो– आज उसका निम्ति भोजन नै उपदेश थियो । त्यो भोको मानिसलाई उपदेशभन्दा अन्नको आवश्यकता थियो । त्यसैकारण यस्तो अवस्थामा कसैका निम्ति भोजन नै साँचो उपदेश हुन्छ । यस्तो कुरा सुनेर शिष्य नाजवाफ भएर त्यतिखेर उसलाई भिखारीको भन्दा पनि आफ्नो मूर्खताको बढी महसुस भइरहेको थियो ।




