काठमाडौं । ब्यवस्थापिका संसद सचिवालयलाई नातागोता भर्तिकेन्द्रमा रुपान्तरण गरिएको छ । विगतमा संसदका सभामुख सुवास नेम्बाङले कर्मचारी भर्नामा पारदर्शीता अपनाए पनि वर्तमान सभामुख ओनसरी घर्तीले मनपरी गर्न छुट दिएकी छिन् । ओनसरीको छत्रछाया“मा रहेको संसद सचिवालमाय शहीदको कोटामा नातागोता भर्ति गरेको खुलासा भएको छ । संसद सचिवालयमा शहीदका सन्तानलाई जागिर दिनुपर्छ भनेर सहसचिव सुरजकुमार दुराले सभामुख घर्तीलाई सहमत गराएर नातागोता भर्ति गर्दैआएका हुन् ।
प्रशासनका सहसचिव दुराले पदीय दुरुपयोग गर्दै दर्जनौं आफन्तलाई संसद सचिवालयमा करारमा जागिर लगाएका छन् । सहसचिव दुराले आफ्नै सालासालीलाई संसद सचिवालयमा भर्ति गरेको आरोप छ । सहसचिव दुराकी साली कुसुम थापालाई संसद सचिवालयको पुस्तकालयमा जागिर लगाएका छन् । सालो पहाड थापालाई खानेपानीको ब्यवस्थापन तथा ड्राइभिङको काम समेत गर्न लगाएका छन् । संसदको भावी महासचिव हुने आकांक्षा राखेका दुराको मनपरीमा संसद सचिवालयका कुनै कर्मचारीले खुलेर विरोध गर्न सकेका छैनन् ।
शहीदको कोटामा नातागोता भर्ति गर्नेमा संसद सचिवालयका महासचिव मनोहर भट्टराईका नजिकका कर्मचारी पनि छन् । महासचिव भट्टराईको सेवा गर्ने कार्यालय सहायक डल्ले गुरुङका भिनाजु पूर्ण गुरुङलाई सम्पर्क शाखामा भर्ति गरिएको छ । डल्ले गुरुङले भिनाजुमात्र होइन, भदाभदैलाई समेत शहीदकोटामा जागिर लगाएकाले माओवादी केन्द्रमा आक्रोस उत्पन्न भएको थाहा भएको छ । संसदका सचिव मुकुन्द शर्माका निकट सुशील खड्काले आफ्नै श्रीमती साधना खड्कालाई शहीदकोटामा अनमिमा जागिर लगाएको घटना अझै सेलाएको छैन । शहीदको कोटामा कर्मचारी भर्ना गर्नेमा संसद सचिवालयको कानूनका उपसचिव विष्णुकाजी थापा पनि रहेको बताइन्छ । उनले छोरीलाई चिठ्ठीपत्र दर्ताफा“टमा जागिर दिएको माओवादी केन्द्र स्रोतले बताएको छ ।




