(मानिसलाई कर्मले ठूलो गराउने हो । कर्म गर्ने मानिस अविचलित आफ्नो श्रम र साधनामा विश्वास गर्छ । त्यही साधनाले मानिसलाई यो धर्तीमा टिकाइरहने हो । त्यसरी नै टिकिरहेका छन् सडक पाइलट श्याम माझी पनि । झापाको बिर्तामोडका ५३ वर्षे पाका माझीका लागि ‘कालो अक्षर भैंसी बराबर’ भएपनि कसरी जीवनलाई हात्ती बनाएर राख्न सके त भन्ने उदाहरण अरुका लागि प्रेरणादायी बन्न सक्छ । ना ६ ख १९२८ नम्बरको रात्रिकालीन बसका चालक माझीले साँघु प्रतिनिधिसंग सडक पाइलटसंगको अन्तरंगमा आफ्नो जीवनको डायरी खोलेका छन्–सम्पादक)
० गाडी लाइनमा आएको कति भयो ?
–म त निकै सानो उमेरदेखि नै हो । गाडी चलाउन थालेकै २९ वर्ष भयो । २०४७ सालदेखि चलाउन थालेको हुँ । त्यसभन्दा अगाडि मैले ६–७ वर्षजति खलासी नै गरें ।
० कसरी आउनु भयो त यो लाइनमा ?
–हामी साहुको घरमा खेतीपाती गर्दथ्यौं । साहुका गाडीहरू थिए । एकदिन म पनि गाडीमा काम गर्छु भनें । साहुले मान्नुभयो । अनि त्यही बेलादेखि गाडीमा हिँड्न थालें । ६–७ वर्ष ढोकामै बसें । काँकडभिट्टा विराटनगरमा चल्दथ्यो । उक्त क्रममा लाइसेन्स निकालें । त्यसपछि साहुले नै त्यही गाडी चलाउन भन्नुभयो । ४–५ वर्ष साहुकै गाडी चलाएँ । साहुले गाडी पुराना भएपछि सबै गाडीहरू बेच्नुभयो । म पनि त्यहाँ छोडेर अर्कै गाडी चलाउन थालें ।
० के चलाउनु भयो त्यसपछि ?
–सुरुमा त मैले लोकल गाडी नै चलाएँ झापामा । त्यसपछि नाइट बस चलाउन थालें । १७ वर्षदेखि मैले लगातार नाइट बस चलाइरहेको छु । काठमाडौं काँकडभिट्टा चल्छ अहिले । सबै पूर्वमात्र चलाएँ ।
० गाडी चलाउन लोकल ठीक कि लामो रुटमा ?
–गाडी चलाउन त लामो रुट नै ठीक लाग्छ । जता पनि रोकेर किचकिच गर्न पर्दैन । चलाउन सुरु भएपछि सररर अगाडि बढ्छ । त्यही आनन्द हो । बाटो त्यति ठीक छैन । तर, चलाउन त लङ लुट ठीक ।
० अहिले गाडीलाइनमा समस्या के छ ?
–खासै समस्या त छैन । तर, गाडी धेरै भए । बाटो ठीक छैन । बाटो साँघुरो पनि भयो । सबैभन्दा ठूलो समस्या भनेको आफू काम नगरी खान नपाउनु हो । हाम्रो तलव अहिलेसम्म छैन । यो रुटमा चलाउने हामी कसैको पनि छैन । भत्तामात्र हो । काम गरे पाइन्छ नगरे ठप्प । हामीले तलब नपाउनु दुःखद कुरा हो ।
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ?
–ट्राफिक प्रहरी ठीकै छ । उनीहरू आफ्नो काम गर्छन् । हामी आफ्नो काम गर्छौं । तर, मान्छे झार्ने क्रममा अलि तनाव हुन्छ । अनि कागजपत्र माग्छन् । खुरुक्क दिने हो । अन्त जस्तै उनीहरूले नाइट बसमा पैसा भने खाँदैनन् । तर धेरै जाम भयो भनेर चिट् काट्छन् अनि रिस उठ्छ । हामीले रोकेर अवरोध गर्ने त हैन नि ।
० यात्रुको व्यवहार कस्ता हुन्छ नि ?
–यात्रु सबै खाले हुन्छन् । कोही राम्रा कोही नराम्रा । कसैले ढिलो पु¥यायो भनेर रिसाउँछन् । कसैले किन छिटो कुँदाएको भनेर रिसाउँछन् । कसैले गाडी राम्रो भएन भन्छन् । सबैको मन बुझाउन गा¥हो छ ।
० दुर्घटना भएको छ कि छैन ?
–छैन अहिलेसम्म परेको छैन ।
० किन र कसरी हुन्छ दुर्घटना ?
–आफ्नो कुदाईमा भर पर्ने कुरा हो । जवर्जस्ती गरेर पनि दुर्घटना हुन्छ । बिग्रिएर पनि हुन सक्छ । टायर फुस्केर पनि हुन सक्छ । गाँजा(घाँस) खानेहरूले पनि गराउँछन् भन्ने सुनेको छु ।
० कस्तो छ नि गाडीलाइन ?
–ठीकै छ । ठीकै भएरै टिकिएको छ अहिलेसम्म । ठीकै लागेर होला छोरो पनि यही लाइनमै छ ।
० किन छोरालाई पनि ?
–मेरा दुई छोरी र एक छोरा छन् । छोराले बढी पढ्न मानेन । मैले पनि पढेको थिइन । मलाई त क, ख नै आउँदैन । २०४६ सालमा लाइसेन्स बनाएको हुँ । त्यतिबेला लाइसेन्स बनाउँदा पढ्नु पर्दैैनथ्यो । छोराले पनि लाइन समात्यो । त्यसलाई विदेश पठाउन सोचेको थिएँ । कतार पठाउँ भनेको मिलेन ।
० तपाईको सोच के छ नि अब ?
–यत्ति नै हो । अब सरकारले कहिलेसम्म गाडी चलाउन दिन्छ । ६० वर्ष पुगेपछि गाडी चलाउन पाइँदैन । त्यसपछि घरमै बस्ने खेतीपाती गर्ने ।
० के रहेछ त ड्राइभरको जिन्दगी ?
–यस्तै हो । अरु गरौं भने भेटिँदैन । जानेको यही हो । ड्राइभरको सिटमा बसेपछि गन्तब्यमा पुग्छु कि पुग्दिन भन्ने डर हुन्छ जहिले पनि । अर्को गाडीले पो ठोकिदेला कि भन्ने पनि डर हुन्छ । तर म आँत्तिन्न । आफ्नो लाइन कहिले छोडिन्न । कर्म त गर्नुप¥यो ।
० चाडबाड आयो कसरी मनाउनु हुन्छ ?
–जस्तो आफूले कमाइयो त्यस्तैगरी खर्च गरिन्छ । बस्ने, खाने, रमाइलो गरिदिने केटाकेटीका लागि । आफू त बुढो भइहालियो । उनीहरूका लागि रमाइलो गरिदिनुपर्छ । चाडबाड मन पर्छ । महंगी बढ्यो । दुःखको कुरा सरकारले रोक्न सकेन ।




