बधाई छ चिफ सा’ब हजुरलाई सफल कार्यकालका लागि । अब त हजुर पनि हामी जस्तै भूपू हुन लाग्नु भयो । हुन त हजुरहरूलाई त बहाल रहँदा भन्दा भूपू चिफ हुनमा नै फाइदाजनक छ । तपाईहरूले त जीवन रहेसम्म स्याहार सुसारे थुप्रै गरिबका छोराछोरी घरमै राखेर सेवा लिन पाउनुहुन्छ । खेती गर्न, पशुपालन गर्न, घरका सबै काम लुगाफाटो धुन खाना पकाउनदेखि रानी सा’ब, मैया सा’ब, काजी सा’बका लुगा धुन साथमा नातागोताहरू समेतको बागबगैंचा र घरको कामकाज गर्ने मान्छे विभिन्न दर्जाको अन्य दर्जा अर्थात् मतलब काम गर्ने दर्जाका सुविधा पाइन्छन् ।
पूर्व चिफहरूले सात पुस्तालाई पुग्ने सम्पत्ति कमाएका थिए । तपाईले के कति कमाउनु भयो त्यस बारे चाहिं खासै जानकारी पाइएको छैन । आर्मीका रथीवृन्द वा जर्नेल कर्णेलहरू प्रथम श्रेणी र विशिष्ट श्रेणीका भएतापनि सबै पूर्वहरूको घरमा साहुमहाजन जस्तो महँगा र बिलसिताका सामानहरू देख्न पाइन्छन् । यस्ता अमूल्य सामानहरू ४०÷५० हजारको जागिर र तलबकै भरमा कति जोड्न सकिन्छन् ?
एउटा भूतपूर्व सिपाहीले ६० ग्राम सुन जोड्न सकेको हुन्न, तर तपाईं जर्नेलहरूको घरमा ६० तोला सुन, हीरा त सामान्य मानिन्छ । अरु त के के हो हो । अकुत सम्पत्ति जोडे पनि र भ्रष्टाचारबाट आर्जे पनि तपाईंहरू नेपाली सेना जर्नेल कर्णेलहरूको घरमा कसले छानबिन गर्न सक्छ र ? सायद सेनाका अधिकृतहरू संविधान, ऐन कानुन भन्दा माथि पो हुन् कि ? त्यसै कारणले होला अकुत सम्पत्ति कमाउन सफल रथीवृन्दहरूलाई नियम कानुन पनि त लाग्दैन । हामी तल्लो दर्जाले त २० बर्षको उमेरमा जागिर खाने अनि १८ र २० वर्षसम्म झरी बादल, चिसो तातो, हिउँदा वर्षा नभनी जागिरको सोझो भन्दा पनि हाकिमको सोझो गर्ने, कसरी हाकिमहरूलाई खुशी बनाउने भन्ने सोच्न बाध्य हुन्थ्यौ । शान्ति सेनामा जाने पालो आउँदा माथिल्लो तहको गिद्दे नजरका कारण पालो नआउने, आएपनि ६ महिना भन्दा बढी बस्न नपाइने हुन्थ्यो ।
नेपाली सेनामाको खराब पक्ष भनेको नातावाद, चाप्लुसीवाद र कृपावाद गर्नेहरूले मात्र शान्ति सेनामा धेरै समय बिताउने र नभएकाहरू हिस्स पर्ने अवस्था रहेको थियो । सेनामा नातवाद र कृपावादले गर्दा एकदमै भेदभाव अहिले पनि कायम छ । तल्लो दर्जामा सेनामा जागिर खाएर दुर्गम गाउँमा जग्गा किन्न सक्ने अवस्था पनि हुँदैन । जग्गा किने पनि घर कहिले बनाउने । बालबच्चा कसरी पढाउने यस्तै चिन्ताले सताउने गर्दछ । पहिला त २ जना बच्चा सैनिक आवासीय महाविद्यालय भक्तपुरमा पढ्न पाउँथे ।
त्यो एउटा सुविधा पनि हजुरले पुरै परिवार नियोजन गरेर एउटा मात्र त्यही पनि ५ कक्षासम्म मात्रै पढ्न पाउने, अर्काे स्कूलमा पढेकालाई ६ कक्षामा पढाउँदा विभिन्न लिखित, अन्तर्वार्ता के के हो हो भनेर तल्लो दर्जाका सेनाका छोराछोरीहरूले पढ्नै नपाउने व्यवस्था कसरी, के स्वार्थका लागि गरियो ? हामी अचम्मै परेका छौं । नाम निकालेपछि मात्र सहुलियत त्यो पनि कक्षा १० सम्म मात्र । त्यसपछि अधुरो स्कूल पढाइबाट कहाँ लगेर पढाउने । हाम्रै रगत पसिनाको कमाईले जम्मा भएको लगभग पचास अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा वेकामे भएर बसेको छ ।
त्यो रकम कुन बैंकमा कति छ र मासिक वा वार्षिक ब्याज कति आउछ सबै गोप्य रहेको छ । अनि हाम्रा बालबच्चाले चाहिं सहुलियतमा पढ्न पनि नपाउने ? यो कस्तो सहुलियत हो हजुर । हामीले चाहिं त्यही संस्थामा जीवन बितायौं । न कमाई भयो न हुन्छ, उसैमाथि आम्दानी महिनाको पुरै १५ हजार त्यसले बिहानबेलुका हातमुख जोड्न पनि पुग्दैन । तिर्नुपर्ने १२ हजार कोठा भाडा, अनि बच्चाको फी हुन्छ १० हजार ।
महिनामा साधारण परिवार चलाउन कति लाग्छ चिफ सा’ब ? हाम्रो वास्तविक अवस्थातिर हेरेर एक पटक सत्य मनले सोचिदिनुहोस् त चिफ सा’ब ? अब यो सैनिक स्कूल हामी निरीह तल्लो दर्जाका लागि हो कि कसको लागि ? हाम्रा बालबच्चाले कति देखि कति सम्म पढ्न पाउने हो ? अझै छाउनीस्थित अस्पतालको त झन् के कुरा ? सोधपुछ गर्न मन लाग्छ यो सैनिक अस्पताल कसको लागि भनेर ? भविष्य भएका कर्णेल र जर्साबहरूको लागि मात्रै हो भने बरु हामी सिपाही र विल्लादारका कुनै सेवा छैन भनिदिए बरु चित्त बुझाएर मर्नु हुन्थ्यो । सिपाही र विल्लादार किन यति धेरै विभेद ?
–तल्ला दर्जाका नेपाली सेनाका पीडितहरू




