सा“घु संवाददाता
काठमाडौं । नेपाल प्रहरीमा लेखापाल सरुवाको चलखेल सुरु भएको छ । हरेक आर्थिक बर्षको अन्तिममा नेपाल प्रहरीले २ बर्ष अवधि पुगेका लेखापालहरूको सरुवा गर्दैआएको छ । स्थानीय तहको निर्वाचनले गर्दा सरुवा बढुवा हुन सकेको थिएन । अब चुनाव सकिएकाले प्रहरीमा सरुवादेखि बढुवासम्म एकैपटक हुने भएको छ । लेखापाल दर्जाले सानो पद हो । तर, नेपाल प्रहरीभित्र मालदार मानिने वद भएकाले लेखापाल सरुवामा ब्यापक चलखेल हुने गर्दछ । प्रधानमन्त्री, गृहमन्त्री, गृहमन्त्रालयका उच्च अधिकारीदेखि नेता र उच्चपदस्थ प्रहरी अधिकारीहरूले समेत लेखापाल सरुवामा दबाब दिने गरेको प्रहरी स्रोत बताउ“छ ।
लेखापाल हुने प्रहरीका कनिष्ट अधिकृतले छोटो समयमा प्राप्त गरेको अकुत सम्पत्ति र उच्च आर्थिक हैसियतबाट पनि जिल्लादेखि गणसम्म लेखामा सरुवा हुन प्रतिस्पर्धा हुने गरेको छ ।
लेखामा प्रवेश गरेपछि २८ बर्षको उमेरसम्म पनि अन्यत्र सरुवा नहुने प्रवृत्तिले भ्रष्टाचार बढेको गुनासोपछि पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीभित्र ८ बर्षभन्दा बढी समय लेखामा काम गर्न नपाउने प्रावधान ल्याएर सुधार गरेका थिए । आर्थिक बर्ष २०७१÷०७२ मा उनले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी) बाटै निर्णय गराएर ८ बर्षे प्रावधान लागू गरेका थिए । जसका कारण १५ बर्षभन्दा बढी समय आकर्षक जिल्लामा लेखापाल र लेखा अधिकृत भएर अकूत सम्पत्ति आर्जन गर्नेहरू लेखबाट बाहिरिएका थिए । आ.व. २०७२÷०७३ मा उनले ६ बर्षे नीति लागू गरे । ६ बर्षसम्म मात्र लेखामा काम गर्न पाउनेगरी उनले सुधार गरे । तर ८ बर्षे नीति उनले पीसीसीबाटै गराएका थिए भने ६ बर्षभन्दा बढी समय लेखामा नराख्ने कुरा मौखिक आदेशमात्र दिएका थिए । पूर्वआइजीपी अर्यालले लागू गरेको ६ बर्षे नीति लागू नगर्ने खेलमा अहिले आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी कमल जीटी र आन्तरिक लेखा परीक्षण शाखाका डीएसपी टेकबहादुर कार्की लागेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार, ६ बर्ष पुगिसकेका लेखापालहरूले यो प्रावधान हटाउनका लागि बढी नै चलखेल गरिरहेको खबर छ । उनीहरूले आर्थिक प्रशासन महाशाखाका एसएसपी जीटीलाई प्रलोभन पारेर पनि यो प्रावधान लागू नगराउने प्रयत्न गरिरहेका छन् । एसएसपी जीटी र डीएसपी कार्कीहरू ८ बर्षे अवधि लागू गराउने पक्षमा छन् ।
आइजीपी प्रकाश अर्याल चुनावमा लागेको मौका पारी एसएसपी जीटीले आलेपका प्रहरी नायब निरीक्षक (सई) रविन्द्र थापालाई मोलमोलाई गर्न परिचालन गरेको खबर छ । स्रोतका अनुसार ६ बर्षे लागू भए १५ देखि २० जना लेखासमूहबाट बाहिरिनेछन् । २८ बर्षे उमेरका कारण ६ जना जति लेखापाल रिक्त हुने भएका छन् । ६ बर्षे अवधि र २८ बर्ष उमेरका कारण रिक्त हुने विभिन्न निकायका २१ लेखापालका लागि सई थापाले एसएसपीको आदेशमा मोलमोलाई गर्न लागेको गुनासो प्राप्त भएको छ । काभे्रे, पर्सा जस्ता जिल्लाहरूमा काम गरिसकेका र शान्ति मिसनबाट फर्किएपछि पनि लेखामै सरुवा मिलाएका करोडौंपति लेखापालका रुपमा प्रहरीमा चिनिएका सई थापाले लेखापालले कुन जिल्लामा कति कमाउन सक्छन् भन्ने थाहा भएकाले त्यही अनुसार सरुवाका लागि माग गर्न थालेका छन् । सई थापा र आन्तरिक लेखापरीक्षण शाखाका डीएसपी कार्की असईमा एकै समूहका भएकाले पनि लेखापाल सरुवामा उनीहरूको कुरा मिल्ने गरेको प्रहरी स्रोतले बताएको छ । डीएसपी कार्की पनि क्षेत्रीय प्रहरी कार्यालय पोखराको लेखाअधिकृतबाट डीएसपी बढुवा भएपछि पूर्वआइजीपी अर्यालको निगाहामा आलेपमा सरुवा हुने मौका पाएका हुन् ।
काठमाडौंको लेखापालमा टक्कर
लेखापालको सरुवा २ बर्षमा हुने गर्दछ । महानगरीय प्रहरी परिसर काठमाडौंका लेखापाल बिजय महतको २ बर्ष पुगेकाले उनको ठाउ“मा जान तीन जना सईले शक्ति भिडाउन थालेको खबर छ । महानगरीय अपराध अनुसन्धान महाशाखाकी लेखापाल पुनम चन्द काठमाडौं परिसरमा सरुवा हुनका लागि झण्डै भएका आईजीपी जयबहादुर चन्दमार्फत् दबाब दिइरहेको खबर छ । उनी कल्याण शाखाको लेखापालबाट अपराध अनुुसन्धानमा पुगेकी हुन् । अपराधबाट काठमाडौं परिसरमा जानका लागि उनले निरन्तर प्रयास गरिरहेको चर्चा हेडक्वार्टरमा हुने गरेको छ ।
काठमाडौं परिसरमा जानका लागि महानगरीय प्रहरी बृत्त सोह«खुटेका लेखापाल गौरवसिंह ठकुरी र नया“बानेश्वर बृत्तका लेखापाल नारायण थापा पनि उत्तिकै लागेको चर्चा छ । सोह«खुट्टेका सिंहलाई काठमाडौंमा परिसरमा सरुवा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओ डीएसपी कोमल शाह लागेको बताइन्छ । काठमाडौं परिसरको लेखापाल अरु जिल्लाको भन्दा आकर्षक मानिन्छ । प्रहरी स्रोतका अनुसार, काठमाडौं परिसरमा दैनिक सार्वजनिक अपराधदेखि वित्तीय कसुरमा हिरासतमा सयौं बन्दीहरू हुने र उनीहरूलाई प्राप्त हुने सिदा(खाना) बापतको रकम लेखापाल र हाकिम मिलेर खाने भएकाले पनि आकर्षक मानिन्छ । कैदीबन्दीहरूमध्ये अधिकांशलाई घरबाटै खाना आउने भएकाले पनि सिदाबापतको लाखौलाख रकम सोझै हाकिम र लेखापालको गोजीमा जाने गरेको प्रचलन पुरानै हो । अदालतले थुनुवाको अनुमति दिएपछि थुनुवाले दैनिक, ७५० ग्राम चामल र रु. ४५। सिदा पाउने गर्दछन् ।
लेखापालका लागि किन
हुन्छ यस्तो प्रतिस्पर्धा
नेपाल प्रहरीमा हरेक आर्थिक बर्षको अन्तिममा लेखापाल सरुवामा तीव्र दबाब पर्ने गरेको छ । प्रधानमन्त्री, मुख्यसचिव, गृहमन्त्री, गृहसचिव, गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख, राजनीतिक दलका नेता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, महालेखा परीक्षकको कार्यालयका उच्च अधिकारीसम्मबाट सिफारिस गराउने गरेका छन् । जसले बढी शक्तिशाली निकायबाट दबाब दिन्छ, उसले काठमाडौं वा जिल्लामा लेखापालमा रोजेको कार्यालयमा जान पाउने भएकाले पनि लेखापालका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको गुनासो छ ।
एकैचोटी असईबाट भर्ना भएका सईहरूले काठमाडौंमा डेराभाडा र छोराछोरी पढाउन समेत मुस्किल पर्ने तर लेखापाल भएकाहरूको सानसौकत देखेर पनि लेखापालमा आकर्षण बढेको प्रहरीका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार लेखापाल भएकाहरूको काठमाडांै, पोखरा, बिराटनगर, चितवन जस्ता सहरमा सुविधासम्पन्न बंगला, जग्गा, गाडी, सेयरमा लगानी र महंगा बोर्डिङ र कलेजमा छोराछोरी अध्ययन गराउ“छन् । तर स“गै भर्ना भएकाहरूलाई डेराभाडा तिर्न र सन्तान पढाउनसमेत धौःधौ पर्ने गरेको छ । एकैपटक भर्ना भएकाहरूमा देखिएको आर्थिक हैसियतको असमानताले पनि लेखापालमा सरुवा हुने र छिट्टै कमाउने लोभले लेखापाल सरुवामा चलखेल हुने गरेको छ ।
दर्जाले सानो भए पनि लेखापालमा बर्षौं काम गरेर करोडौंको सम्पत्ति र घरजग्गा अनि गाडी जोड्ने नेपाल प्रहरीमा थुप्रै जुनियर अधिकृत र अधिकृतहरू रहेका छन् । रमेश भेटवाल, राजेश पन्थी, धु्रव दाहाल, मदन कु“वर, विजय कु“वर, गिरीधारी शर्मा, गोविन्द कार्की उदाहरण हुन् । उनीहरूले यति धेरै सम्पत्ति आर्जन गरे कि कतिपयले सम्पत्तिको उन्मादमा दोस्रो विवाह गरेर कान्छी राखेको पनि बताइन्छ ।
८ बर्षे लागेर २ बर्षअघि लेखाबाट बाहिरिएकामात्र होइन, अहिलेका कतिपय लेखापाल पनि करोडौंपति भनेर चिनिन्छन् । सोलुखुम्बुका सरोज बिष्ट, कोशी अन्चल प्रहरी कार्यालयका शंकर खड्का, सप्तरीका अनुप निरौला प्रतिनिधि उदाहरणको रुपमा प्रहरीका जुनियर अधिकृतहरूले चर्चा गर्ने गरेका छन् ।




