काठमाडाैं, जेठ ९ गते । अध्यक्ष ढकालले नेपाल र भारतका धार्मिक स्थलहरू जोड्ने ‘बौद्ध सर्किट’ निर्माणको आवश्यकता औंल्याउँदै यसले छिमेकी देशहरूको ठूलो बौद्ध जनसंख्यालाई आकर्षित गर्न सक्ने बताएका छन् ।
“यदि हामी विश्वभरका बौद्ध धर्मावलम्बीलाई जीवनमा कम्तीमा एकपटक लुम्बिनी आउन प्रेरित गर्न सक्यौं भने, नेपाली पर्यटनको स्वरूप नै परिवर्तन हुन सक्छ,” उनले भने।
लुम्बिनीलाई ध्यान–ध्यान केन्द्रको रूपमा प्रवर्द्धन गर्ने प्रस्ताव
ढकालले लुम्बिनीको शान्त वातावरणलाई ध्यान, साधना र मानसिक शान्तिका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। “आजको तनावपूर्ण जीवनशैलीबाट मुक्ति चाहने पर्यटकका लागि लुम्बिनी उत्तम स्थल हुन सक्छ,” उनले भने।
पूर्वाधार समस्यातर्फ ध्यानाकर्षण
बौद्ध पर्यटन प्रवर्द्धन गर्न चाहिने पूर्वाधार विकासमा ढकालले सरकारको ध्यानाकर्षण गराए। विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन नहुँदा त्यसमा गरिएको लगानी जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरे।
साथै, अन्तर्राष्ट्रिय उडानका लागि उच्च भाडादर, सरकारको टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (VAT) र कमजोर हवाई जडान( हवाई यातायात सञ्जाल प्रभावकारी, भरपर्दो, र पर्याप्त नभएको अवस्था)ले पर्यटनमा असर पारेको उनको भनाइ थियो।
संस्थान सुदृढीकरण र नीति सुधारको माग
ढकालले नेपाल पर्यटन बोर्डलाई अझ सक्षम बनाउनु पर्ने, नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउने र अन्तर्राष्ट्रिय सम्मेलन तथा मिटिङका सहभागीलाई सजिलो भिसा प्रक्रिया बनाउनु पर्नेमा जोड दिए।
भारत सीमासँग नजिक रहेका मध्यम वर्गीय भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको सन्दर्भ दिँदै उनले भारतीय पर्यटकका लागि भुक्तानी गर्न सकिने भारतीय रुपैयाँको सीमा बढाउन समेत सुझाव दिए।
निजी क्षेत्र तयार, लगानीको खुला निमन्त्रणा
अध्यक्ष ढकालले होटल, रिसोर्ट र केबलकार जस्ता पूर्वाधार परियोजनामा विदेशी लगानीकर्ताहरूलाई निजी क्षेत्रबाट सहकार्यको खुला निमन्त्रणा पनि गरे।
BITM लाई सशक्त ब्रान्ड बनाउने आवश्यकता
सन् २०१९ मा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (NATTA)को अगुवाइमा सुरु गरिएको BITM लाई अझै सशक्त ब्रान्डको रूपमा विकास गर्नुपर्नेमा ढकालले जोड दिए।
BITM मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, सरकारी अधिकारीहरू, तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
निष्कर्ष
बौद्ध सम्पदाका धनी देश नेपाललाई विश्वका बौद्ध धर्मावलम्बीका लागि धार्मिक–आध्यात्मिक यात्राको प्रमुख गन्तव्य बनाउन FNCCI अध्यक्ष चन्द्र ढकालको आह्वानले सरकार, निजी क्षेत्र र सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बन्न दवाव परेकाे छ ।



