काठमाडौं । सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेपाली कांगे्रसको भातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति विघटन भएको छ । अब २०७५ फागुन ९ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्ने जिम्मेवारी दिएर नेविसंघमा तदर्थ समिति गठन गर्दैछ । नैनसिंह महर नेतृत्वको कार्यसमितिले दुईपटक नेपाली कांग्रेसले समय थप गरिदिंदा पनि महाधिवेशन गर्न नसकेपछि उनी राजीनामा दिएर बाहिरिने स्थितिमा पुगेका हुन् ।
अब नेपाली कांग्रेसले आफ्नो प्रमुख भातृसंगठन नेपाल विद्यार्थी संघको १३ औं महाधिवेशन गर्ने एकमात्र कार्यदिशा दिएर तदर्थ समिति गठन गर्न लागेको छ । अब गठन हुने तदर्थ समितिलाई महाधिवेशन सम्पन्न गर्न ६ महिनाको समय दिने कि १ बर्षको समय दिने भन्ने टुंगो भने लागिसकेको छैन ।
तदर्थ समितिको नेतृत्व हत्याउनका लागि सभापति शेरबहादुर देउवालगायत कांग्रेसका विभिन्न शीर्ष नेताहरू निकट रहेका नेविसंघका विद्यार्थी नेताहरू दौडधुप र भनसुनमा लागेका छन् । आगामी महाधिवेशनबाट ३२ बर्षमाथिका विद्यार्थी नेताहरू नेतृत्वमा जाने प्रावधान हट्ने भएपछि अहिलेको तदर्थ समितिका लागि भने ३२ बर्ष नाघेकै विद्यार्थीहरूका बीचमा नेतृत्व हत्याउने प्रतिस्पर्धा चलिराखेको छ र नेपाली कांग्रेसले पनि ३२ बर्ष उमेर नाघेकै विद्यार्थी नेतालाई नेविसंघको बागडोर सम्हाल्ने अवसर दिने स्थिति देखिएको छ ।
अब गठन हुने तदर्थ समितिको नेतृत्व लिनका लागि राजीव ढुंगाना, सरोज थापा, ऋषिकेश जंग शाह, मनोज मणि आचार्य, कुन्दन काफ्ले, शुभराम बस्नेत तछाडमछाड गर्दैछन् । राजीव ढुंगानालाई सभापति देउवासँगै महामन्त्री पूर्णबहादुर खड्काको पनि समर्थन रहेको स्रोत बताउछ । स्रँेत भन्छ, त्यसैगरी, सरोज थापालाई उपसभापति विमलेन्द्र निधिको समर्थन छ ।
मनोजमणि आचार्य रामचन्द्र पौडेल पक्षको तर्फबाट तदर्थ समितिको संयोजक बन्ने प्रयासमा छन् । यसैगरी, कुन्दन काफ्लेले कृष्ण सिटौलाको समर्थनबाट नेविसंघको नेतृत्वमा पुग्ने कसरत गरिराखेका छन् । शुभराम बस्नेतलाई स्व.खुमबहादुर खड्का समूहसँगै पूर्णबहादुर खड्काको समेत समर्थन रहेको बताइन्छ । सभापति देउवा राजीव ढुंगाना नभए ऋषिकेश जंग शाहलाई नेविसंघको संयोजक बनाउने योजनामा रहेको चर्चा पनि छ ।
उमेरहद ३२ बर्ष मुनिबाट नेतृत्वमा पुग्ने प्रतिस्पर्धामा प्रेम जोशी, मनिषजंग थापा, प्रकाश घिमिरे छन् । जोशी र थापा सहमहामन्त्री प्रकाशशरण महत निकट विद्यार्थी नेताहरू भनी चर्चा गरिदैछ । तदर्थ समितिको संयोजक भएर नेविसंघको नेतृत्व प्राप्त गर्ने होडमा एकमात्र छात्रा नेतृ अम्बिका चलाउने रहेको पनि बताइन्छ ।
प्रतिस्पर्धामा दर्जन विद्यार्थी भएपनि तदर्थ समितिको नेतृत्व भने राजीव ढुंगानाले प्राप्त गर्ने बलियो सम्भावना रहेको स्रोत बताउछ । यसैगरी अब गठन हुने नेविसंघको तदर्थ समितिमा नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति देउवासँगै पौडेल र महामन्त्री शशांक कोइराला तथा पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका विद्यार्थी नेताहरूको उपस्थिति हुने देखिएको छ ।
नेविसंघको तदर्थ समितिलाई नेपाली कांग्रेसको पूर्ण सहमति भएको देखाउनका लागि नेपाली कांग्रेसका सबै प्रभावशाली नेताहरूको चित्त बुझाइने टिप्पणी कांग्रेस सूत्रले गरेको छ । (साँघु साप्ताहिक, फागुन ६)




