काठमाडौं, साउन ३१ गते । साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीलाई अभिनन्दन गरेको छ । साउन ३१ गते शनिबार राजधानीमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
अभिनन्दितहरूलाई दोसल्ला, टोपी, माला र अभिनन्दनपत्र अर्पण गरिएको थियो । सोही अवसरमा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् चर्चित गीतकार एस.पी. कोइरालाले सापसले गर्दै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले सिर्जनशील व्यक्तित्वलाई अझ अघि बढ्न प्रेरणा दिने बताए ।
वरिष्ठ साहित्यकार लोहनीले आफूले २० को दशकदेखि कलम चलाउन थालेको स्मरण गर्दै प्राप्त सम्मानलाई साहित्यिक योगदानको मूल्याङ्कनका रूपमा लिएको उल्लेख गरे । कवि भीम उदासले गैरआवासीय नेपालीहरूको संस्थागत प्रयासलाई राजनीतिक हस्तक्षेपले कमजोर पारेकोप्रति दुःख प्रकट गरे ।
नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्दले कुनै पनि क्षेत्रको इतिहास लेख्दा सम्बन्धित योगदानकर्ताको कथनलाई महत्त्व दिनुपर्नेमा जोड दिइन् । चित्रकार मुकेश मल्लले साहित्य र कलाबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै साहित्यिक क्षेत्रबाट प्राप्त सम्मानले आफूलाई भावुक बनाएको बताए ।
सो कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्वहरूको योगदानबारे चर्चा गर्दै इतिहास निर्माण गरिसकेकाको सम्मान गर्नु संस्थाकै प्रतिष्ठा हुने धारणा राखे । आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले सापसले विगतमा गरेका सिर्जनात्मक कामहरूको चर्चा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवम् समाजसेवी शोभित उप्रेती, आख्यानकार हिरण्यकुमारी पाठकलगायत साहित्य, कला र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गरेका थिए । सापसले विगत ५३ वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ ।




