काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले २०८२भाद्र २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा विभिन्न तहमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।नेपाल सरकारको निर्णयअनुसार पदोन्नति भएका अधिकृतहरूलाई चिन्ह अर्पण गर्दै आइजीपी अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने उल्लेख गर्नुभयो । उहाँले पदोन्नतिसँगै आउने जिम्मेवारी, सकारात्मक सोच, दृष्टिकोण र कार्यशैलीलाई आत्मसात् गर्दै संगठनप्रति निष्ठावान रहि कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
यस पटक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक उपरीक्षक पदमा १ जना, नायव उपरीक्षक (डीएसपी) पदमा ४८ जना, प्राविधिक निरीक्षक पदमा १ जना र अनिवार्य अवकाशपूर्व विशेष बढुवा भएका प्राविधिक नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
आइजीपी अर्यालले राष्ट्र र संगठनका लक्ष्य हासिल गर्न दक्षता, जिम्मेवारी बहन गर्ने क्षमता र व्यावसायिकतासहित नागरिकको सेवा, सुरक्षा र सहयोगमा इमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकार (गृहमन्त्रीस्तर)को मिति २०८२ साउन २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी उपरीक्षकबाट बरिष्ठ उपरीक्षकमा, नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर)को मिति २०८२ साउन २९ गतेको निर्णयअनुसार नायव उपरीक्षकबाट उपरीक्षकमा र गृहमन्त्रालयको मिति २०८२ भाद्र १ गतेको निर्णयअनुसार निरीक्षकबाट नायव उपरीक्षक पदमा पदोन्नति भएको हो ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरसहित सशस्त्र प्रहरीका वरिष्ठ/कनिष्ठ अधिकृत र विल्लादार जवानहरूको उपस्थिती रहेको थियो ।



