भैरहवा, फागुन १९ : रुपन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतिष्ठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले आफूले राज्यले लगाएको हरेक किसिमका कर तिरिरहेको, राज्यको कानून अनुसार चलिरहँदा पनि राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो गरेका छन् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम. वि. विश्वकर्माले बहुमूल्य धातूको कारोबार गर्ने सुनचाँदी व्यवसायी सधैं असुरक्षित हुनुपर्ने वातावरण अन्त्य गर्न माग गरे । उनले सुनचाँदी पसलहरुमा बारम्बार चोरी हुने तर प्रहरी प्रशासनले सधैं चोरको नजिक पुग्यौं भन्ने तर कहिल्यै पक्राउ नगर्ने भन्दै आक्रोस समेत व्यक्त गरे ।
‘विगतमा बुटवलमा चोरी बढ्दा सुनचाँदी व्यवसायीले प्रहरीलाई गस्तीको लागि ९ वटा साईकल समेत दियो तर ती साईकल हुँदा सम्म गस्ती भयो पछि हुन सकेन । प्रहरी सुरक्षा सर्तकतामा अझै क्रियाशील हुनुपर्छ,’ उनले भने ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्योगी व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले भैरहवा क्षेत्रमा सिसिटीभि क्यामेरा जडान गरेको भएता पनि त्यसको संरक्षण नहुँदा त्यो रकम बालुवामा पानी खन्याए जस्तै भएको दुःखेसो समेत व्यक्त गरे ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रहरी प्रशासनले हरेक समय सुरक्षा सर्तकता बढाउन जरुरी रहेको धारणा राखे । बैंकर्स क्लबका रामराज उपाध्याय, सिद्धार्थ सुनचाँदी व्यवसायी संघका प्रकाशमणि विक लगायतले हरेक क्षेत्रमा प्रहरी सतर्कताका अतिरिक्त सुरक्षाका अन्य उपाय अपनाएर सुरक्षा व्यवस्था मजबुत बनाउनु राज्यको काम भएको बताए ।
यद्दपि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । उनले जिल्लाको हरेक क्षेत्रका उद्योगी, व्यवसायी र आम नागरिक सुरक्षित भएको बताउदैं ढुक्क भएर काम गर्न आग्रह समेत गरे ।
छलफलमा रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले चोरीका घटनाले व्यवसायीमा सृजना भएको त्रासलाई छिट्टै निर्मुल गर्नेगरी प्रहरीले विशेष अनुसन्धान र कारवाही शुरु गरिसकेको बताए ।



