🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिग्रँदो अर्थतन्त्र अनिष्टको लक्षण !

बजेटको  अर्ध बार्षिक  समीक्षाले  भन्छ  यो  बर्षको पहिलो  ६ महिनामा  पुँजीगत  खर्च कुल बिनियोजित बजेटको  केवल  १७.७  प्रतिशत  मात्र भएको  छ  । यसरी  सरकार पुँजीगत खर्च गर्नमा बिल्कुल  असफल भयो  भन्नै पर्दछ  ।  पुँजीगत खर्च हुन नसक्दा  बजेटले  अपेक्षा गरेको आर्थिक बृद्धि  दर हासिल  हुन नसक्ने कुरा प्रष्ट भएको छ । त्यति  मात्र होईन यो बर्ष अर्थतन्त्र जति  प्रतिशतले बृद्धि होला त्यसमा सरकारको  दावी नलाग्ने भएको छ  ।

 किनभने  सरकारले दावी गर्न  मिल्ने बिकास दर पुँजीगत खर्चमा निर्भर हुने भएकाले  त्यो  बजेट  नै खर्च हुन  नसकेपछि अन्य  स्रोत र विशेषगरी निजी क्षेत्र, अनुकुल मौसम र अनुकुल राजनीतिक बातावरणको लाभांशबाट भएको  विकासमा सरकारले दावी गर्न  मिल्दैन ।

  
 सरकारको  आर्थिक  परफरमेन्सको  परिसूचकको रुपमा स्थापित भएको शेयर बजार सुरुदेखि  लगातार  घटिरहेको कारणबाट पनि आर्थिक  क्षेत्रमा सरकारको परफरमेन्स निरासाजनक रहेको कुरा जोसुकैले पनि निष्कर्ष निकाल्दछ  । देशको निजी क्षेत्र सरकारसङ्ग भड्किएको पाईन्छ । सरकारका नीतिगत निर्णयहरू र अभिव्यक्तिहरूबाट निजी  क्षेत्र सशंकित भएको पाईन्छ ।

यसले गर्दा निजी  क्षेत्र पनि आत्मबिश्वासका साथ लगानी गर्न हच्किरहेको पाईन्छ । बिकासमा केन्द्रित भएको भनिएको सरकारले निजी क्षेलाई बिश्वासमा लिनु अनिबार्य थियो । तर उस्लाई बिश्वासमा लिनेतर्फ प्रयास गर्नुको सट्टा बिच्क्याउने मात्र काम भयो ।  यसो नीतिगतरुपमा  भन्दा निजी क्षेत्रको  गुनासो र  माग  नसुन्ने प्रवृत्तिबाट भएको निजी क्षेत्रका प्रबुद्ध प्रतिनिधिहरू  बताउँछन् । 

त्यसैगरी बिगत बर्षहरूमा  झैं  यस बर्ष पनि बजारमा तरलताको अभावको स्थिति सिर्जना भयो । त्यसले गर्दा बैंकहरूले बजारको माग बमोजिम  कर्जा प्रबाह गर्न सकेनन् । प्रबाह हुने बैंक कर्जाको व्याजदर पनि आकासियो । यसो  हुन  नदिन समयमा प्रभावकारी कदम चाल्न सरकार  (नेपाल राष्ट्र बैंक) असमर्थ भयो । यसले  गर्दा  देशको निजी क्षेत्र कम क्षमता (क्यापासिटी)मा चल्न बाध्य  हुनु प¥¥यो ।  

त्यसो  भएकोले निजी क्षेत्रको तर्फबाट  हुन सक्ने आर्थिक बृद्धि  पनि कुण्ठित हुन गयो ।  समृद्धि प्राप्तिको नारा दिइरहेको सरकारको निमित्त यो उचित  स्थिति  होइन  ।  सरकार विकास (पुँजीगत) बजेट खर्च गर्न नसक्ने र  निजी  क्षेत्रले  पनि  मागे  बमोजिम  बैंक कर्जा पाउन  नसक्ने  भएपछि  त्यसको असर  आर्थिक  बृद्धिमा नकारात्मक रुपमा पर्नु  स्वभाविक हुन्छ  ।

त्यसैगरी  धराशायी अबस्थामा रहेका उद्योगहरूलाई बचाउने र नयाँ उद्योग स्थापना हुने बाताबरण बनाउन पनि सरकारबाट कुनै चासो देखाईएको  छैन । कृषि क्षेत्रलाई जागृत गर्न पनि कुनै ठोस कार्यक्रम आउन सकेको  छैन । भूमि सम्बन्धी समस्याहरू समाधान गर्ने कुनै ठोस नीति र कार्यक्रम पनि अहिलेसम्म आउन सकेन । निर्यात र  बेरोजगारीको अबस्था कहालीलाग्दो रहेको अबस्थामा रोजगारी र निर्यात बृद्धिको निमित्त  अपरिहार्य  मानिने  उद्योग र  कृषि  क्षेत्र सरकारबाट  यसरी  उपेक्षित हुनु दुखद कुरा हो । 

व्यापार घाटा, शोधनान्तर घाटा र बिदेशी मुद्राको संचितिमा निरन्तर  हँुदै गइरहेको ह्रास अर्थतन्त्रको अर्को निराशाजनक पाटो  हो  । निर्यातलाई प्रोत्साहित  गर्न सरकारले दुईदर्जन जति बस्तुको निर्यातमा दिईने नगद अनुदान केही मात्रामा बढाएको अबश्य  छ  । तर  त्यो बिल्कुल  अपर्याप्त छ र  त्यसले मात्र निर्यात बढ्न नसक्ने निश्चित छ ।

 यस्तो शक्तिशाली सरकारले निर्यात बढाउन  प्रभावकारी  निर्णय लिन सक्नु पर्ने  थियो । कुनै उच्च मूल्यको निर्यातयोग्य बस्तु छनौट गरी  त्यसको उत्पादन बृद्धिमा सरकारले उदारतापूर्वक सहयोग गर्नुपर्ने  थियो  ।  व्यापार घाटा, शोधनान्तर घाटा र  संचितिमा  भई रहेको ह्रासलाई समयमा रोक्न सकिएन  भने देश केही  समयभित्रै गम्भीर आर्थिक  संकटमा धकेलिनेमा कुनै शंका गर्नु पर्दैन । तर, सरकार  यस्तो  गम्भीर बिषयप्रति उदासीन देखिएको छ, जुन अनिष्टको  लक्षण हो ।        

देशमा बेरोजगारी समस्या यति विकराल  भएको छ कि बैदेशिक रोजगारीमा जान  नसक्ने  र  सकेर पनि  जान  नपाएका युवाहरू  देशमा निष्काम  बसिरहेका छन् । तर यस्तो भयाबह समस्या समाधान गर्न सरकारले खासै  चासो देखाईरहेको छैन ।  यो अत्यन्त बिष्मयकारी कुरा हो । राष्ट्रिय गौरबका  भनिएका  आयोजनाहरूको कार्यान्वयन स्थिति  पनि निराशाजनक रहेको कुरा स्वयम सरकारले सार्वजनिक गरेको बजेटको अर्ध बार्षिक समीक्षाले भन्दछ ।  यसमा सुधार गर्ने कुनै प्रभावकारी रणनीति सरकारले अहिलेसम्म ल्याउन सकेन । 

 बजेट रकमान्तर गर्ने र  गैह्र बजेटरी  खर्च  गर्ने  प्रवृत्ति  पनि  नियन्त्रण हुन  सकेन  । एक बर्ष बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारहरूमा कर्मचारी खटाउने काम  सम्पन्न हुन  सकेको छैन । तर देशमा आर्थिक अनियमितता,  भ्रष्टाचार,  घुस  र बेरुजु भने झन् झन्  व्यापक र घनिभूत  हँुदै  गएका समाचार दिनहँु  जस्तै संचार  माध्यममा  आइरहेका  छन् ।  यी  सबै  कुराको पृष्ठभूमिमा समृद्ध नेपालको परिकल्पना  यथार्थमा रुपान्तरित  हुने कुनै लक्षण देखिदैन ।